Fast Nepal News

हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख नगदसहित तीन पक्राउ

banner single news

काठमाडौँ ─ ०३ साउन २०७९

काठमाडौँ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। काठमाडौंको तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४५ वर्षीय माधव श्रेष्ठ, बारा महागढीमाई नगरपालिका-७ बेनौली घर भई काठमाडौं-१३ कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार शाह र धनुषा जनकपुर उपमहानगरपालिका-३ घर भई टेकु बस्ने ३३ वर्षीय अंकित गोयनकालाई पक्राउ गरेको हो। काठमाडौंको घण्टाघर क्षेत्रमा विभिन्न व्यक्तिहरूले राजस्व चुहावट गरी गैरकानुनी रूपमा हुन्डीमार्फत् वित्तीय कारोबार गरिरहेको भन्ने सूचना कार्यालयले पाएको थियो। सो सूचनाको आधारमा बुधबार खटिएको टोलीले माधव श्रेष्ठ लगायतमाथि निगरानी गरेको थियो।

Inside Article Ads

श्रेष्ठले घण्टाघरमा जामे मार्केट भवनमा सटर भाडामा लिएर संजोग टुर्स एन्ड ट्राभल्स प्रालि सञ्चालन गर्दै आएका थिए। त्यहाँबाट प्रहरीले ६० लाख रुपैयाँ बरामद गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए। सोही बेला श्रेष्ठको कार्यालयमा सुनिलकुमार शाह हुन्डीको भुक्तानी गर्न आइपुगेका थिए। उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनी अंकित गोयनकाको लागि काम गर्ने खुल्यो। त्यसपछि काठमाडौंको कलंकीस्थित अंकित गोयनकाले सञ्चालन गरेको आनी इन्टरनेशनल नामक कार्यालयमा प्रहरीको टोली पुग्यो। कार्यालयमा तलासी लिँदा त्यहाँबाट थप ९ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै अंकितको कार्यालयबाट १५ लाख बराबरको फास्ट ट्र्याक इन्टरनेसनल प्रालिको नाममा काटिएको सानिमा बैंकको चेक समेत प्रहरीले बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको छ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.