Fast Nepal News

तीनकुने तरकारी बजारअघिको वाग्मतीबाट चार मेट्रिक टन फोहर व्यवस्थापन

banner single news

काठमाडौं ─ २९ साउन २०७९

काठमाडौं, राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ४८३ औँ हप्तामा तीनकुने तरकारी बजार क्षेत्रअघिको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, महानगरपालिका वातावरण विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता संस्था, लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारीलगायतको सक्रियता थियो ।

सो अवसरमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिनाले छ वटा संस्थालाई ५०० लिटर क्षमताका फोहरबाट मल बनाउने बिन वितरण गर्नुभएको थियो । सहयोगी नगर क्रियापुत्री भवन तीनकुने, महानगरपालिका–३१ क्रियापुत्री भवन, पचली भैरव मन्दिर परिसर, जेष्ठ नागरिक समाज शङ्खमूल, कीर्तिपुर ज्येष्ठ नागरिक भवन र ललितपुर महानगरपालिका–४ नक्खु मन्दिर परिसरका लागि बिन वितरण गरिएको थियो । अबदेखि यी स्थानबाट निस्केका फोहरबाट मल बनाई उपयोग गर्न मिल्ने कार्यक्रममा जानकारी गराइएको थियो । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदा स्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

Inside Article Ads

यसैगरी काठमाडौँ उपत्यकाबाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानीबाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ । यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ । नागरिकस्तरबाट स्वयंसेवीरूपमा सुरु भएको साप्ताहिक सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारले फोहर व्यवस्थापन नगर्दा समस्या भएको स्थानीयवासीको गुनासो छ । राजधानीका विभिन्न स्थानमा अहिले पनि फोहरको थुप्रो छ । फोहर व्यवस्थापनमा स्थानीय सरकार असफल हुँदा हैजाजस्ता रोग फैलिएको छ । तीन तहका सरकार भए पनि कुनै पनि सरकारले फोहर व्यवस्थापनमा ध्यान नदिएको गुनासो अभियानकर्मीको छ ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.