
काठमाडौं ─ १० असार २०७९
काठमाडौं, केन्द्रीय बैंकको अध्ययनले प्रदेश नं १ मा कृषि क्षेत्र क्रमशः कमी आएको तथ्य पेश गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को पहिलो छ महिनाको तुलनामा चालु आवको छ महिनामा त्यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.२ प्रतिशतले घटेको जनाएको छ । समीक्षा अवधिमा धान बालीले ढाकेको क्षेत्रफल २.९ प्रतिशतले घटेको छ । “धान, मकै र आलु बालीले ढाकेको क्षेत्रफलमा कमी आएकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ”, अध्ययनमा भनिएको छ । समीक्षा अवधिमा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन ४.१ प्रतिशतले वृद्धि भएको छ । मकै, दलहन र तरकारी बालीको उत्पादन बढेकाले समग्र बालीको उत्पादन वृद्धि भएको पाइएको छ । समीक्षा अवधिमा धान उत्पादन दुई प्रतिशतले घटेको छ भने मकै उत्पादन २३.८ प्रतिशतले बढेको छ ।
गत वर्षको सोही अवधिमा धान उत्पादन १०.५ प्रतिशत र मकै उत्पादन ११.९ प्रतिशतले बढेको थियो । अधिक मकै उत्पादन हुने क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जोन तथा ब्लक थप भएकाले उत्पादन वृद्धि भएको अध्ययनमा उल्लेख छ । गत वर्षको पहिलो छ महिनाको तुलनामा समीक्षा अवधिमा तरकारीे बाली उत्पादन ५.९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन ४.० प्रतिशत बढेको थियो । समीक्षा अवधिमा यस प्रदेशको कूल खेतीयोग्य क्षेत्रफलको ३७.१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६.५ प्रतिशते थियो । गत वर्षको पहिलो छ महिनाको तुलनामा समीक्षा अवधिमा दूध उत्पादन १.९ प्रतिशत, अण्डा उत्पादन ३.५ प्रतिशत र माछा उत्पादन ७.४ प्रतिशतले बढेको छ ।
गत वर्षको पहिलो छ महिनाको तुलनामा समीक्षा अवधिमा काठ उत्पादन २७.२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा डिभिजन वन कार्यालयले निजी वनको काठ कटानका लागि स्वीकृति दिएको, ग्रामीण इलाकामा सडक सञ्जाल विस्तारका क्रममा सार्वजनिक वनको रुख कटान गरेकाले काठ उत्पादन बढेको छ । विसं २०७८ पुस मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ९.६ प्रतिशत रहेको छ । उद्योगको औसत क्षमता उपयोग ४८.९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त उद्योगको औसत क्षमता उपयोग ५३.५ प्रतिशत थियो । विशेष गरी वनस्पति घिउ र तेल, तयारी कपडा, साबुन, जिआइ तार, चिनी, घरेलु धातुका सामानजस्ता वस्तु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा केही कमी आएको छ ।
कोभिड–१९ अवधिभर आयात प्रभावित भई आन्तरिक उत्पादन बढे तापनि कोभिड–१९ को प्रभाव न्यून भएसँगै आयातमा भएको सहजताले आन्तरिक उत्पादन प्रभावित हुन गई उद्योगको औसत क्षमता उपयोगमा कमी आएको छ । उद्योगमध्ये इँटा उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९३.५ प्रतिशत रहेको छ भने वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ६.९ प्रतिशत छ । औद्योगिक उत्पादनमध्ये भटमासको तेल उत्पादन सबैभन्दा बढी २१८.१ प्रतिशतले बढेको छ भने चिनीको उत्पादन सबैभन्दा बढी ६४.४ प्रतिशतले घटेको छ । वनस्पति घिउ उत्पादन गर्ने उद्योग पामतेल तथा भटमासको तेल उत्पादनमा रुपान्तरण भएको तथा भारतीय बजारमा भटमासको तेलको माग अत्यधिक भएका कारण भटमासको तेल उत्पादन वृद्धि भएको देखिन्छ । उखु उत्पादन गर्ने समयमा वर्षा अत्यधिक भएकाले उखुको गुणस्तरमा कमी आई चिनी उत्पादन घटेको अध्ययनले खुलाएको छ ।
