
किभ — १३ फागुन २०७८
किभ , रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि रुसका स्थल, हवाई र नौसेनाले युक्रेनका दर्जनभन्दा बढी प्रमुख सहरहरूमा आक्रमण गरिरहेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी सेनाले आफ्नो देशका सैनिक संरचनामा आक्रमण गरिहेको जनाएका छन् । उनका अनुसार रुसी सेनाले सीमा सुरक्षा बलमाथि आक्रमण गरेपछि युक्रेनी भूभागमा प्रवेश गरेको हो । त्यसलगत्तै रुसी सेना उत्तरमा खर्किभ, पूर्वमा लुहान्स्क र दक्षिणमा अतिक्रमित क्षेत्र क्रिमिया तथा बेलारुसबाट युक्रेनमा पसेका हुन् । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आफ्नो देशका सेना कारबाहीमा संलग्न नभएको तर आवश्यक परेको खण्डमा रुसलाई सहयोग गर्ने जनाएका छन् ।
युक्रेनको प्रमुख बन्दरगाह सहर ओडेसा र मरिउपोलमा पनि रुसी नौसेना पुगेका छन् । त्यस्तै, राजधानी किभस्थित बोरिस्पिल अन्तर्राष्ट्रिय विमानस्थलस्थित सैनिक अखाडा, सैनिक मुख्यालय तथा किभ, डिनिप्रो र खर्किभस्थित सैनिक गोदामहरूमा पनि रुसी सेनाले आक्रमण गरेको छ । इभानो–फ्रांकिभ्स्कस्थित विमानस्थलमा पनि क्षेप्यास्त्र प्रहार गरिएको छ । त्यसका साथै लुत्स्क, चेर्निहिभ, क्रमार्तोस्क, माइकोलेइभ, ओडेसा, जापोरिज्जिया र खेर्सनमा पनि बम तथा क्षेप्यास्त्र आक्रमण भएका छन् । राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सीमामा रुसले कम्तीमा दुई लाख सैनिक तैनाथ गरिरहेको जनाएका छन् । अमेरिकी अधिकारीले भने कम्तीमा एक सय स्थानमा क्षेप्यास्त्र तथा बम प्रहार गरिएको दाबी गरेका छन् ।
( कान्तिपुर दैनिक )
