
नयाँदिल्ली — २८ माघ २०७८
नयाँदिल्ली , भारतका ५ राज्यका लागि घोषित विधानसभा चुनाव बिहीबार उत्तर प्रदेश (यूपी) बाट सुरु भएको छ । ११ जिल्लाका ५८ निर्वाचन क्षेत्रका लागि बिहीबार मतदान भएको हो । उत्तर प्रदेशसँगै पञ्जाब, उत्तराखण्ड, गोवा र मणिपुरमा ७ चरणमा मतदान हुँदै छ । निर्वाचन आयोगले शान्तिपूर्ण रूपमा मतदान भएको तर कतिपय केन्द्रमा विद्युतीय मेसिनमा खराबी देखिएको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहरणपुरस्थित चुनावी र्यालीलाई सम्बोधन गर्दै योगी आदित्यनाथ नेतृत्वको सरकारको विकल्प नभएको दाबी गरेका छन् । राज्य सरकारले मुस्लिमविरुद्धका अपराध नियन्त्रणमा उल्लेखनीय काम गरेको भन्दै उनले मतदाता रिझाउने प्रयास गरेका छन् । यद्यपि, उनीहरूको सुरक्षाका लागि आफूहरूको नेतृत्वमा सरकार गठन हुनुपर्ने विपक्षीहरूले दाबी गरेका छन् । सबैभन्दा धेरै जनसंख्या रहेको यूपीमा ७ चरणमा निर्वाचन हुँदै छ ।
यूपीमा सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) लाई समाजवादी पार्टी (सपा) बीच कडा प्रतिस्पर्धा देखिएको छ । भाजपाले मुख्यमन्त्रीमा योगी आदित्यनाथलाई नै दोहोर्याउने जनाएको छ भने सपाले अखिलेश यादवलाई अघि सारेको छ । ४ सय ३ सिटको विधानसभामा सरकार गठनका लागि २ सय २ सिट आवश्यक पर्छ । सन् २०१७ को चुनावमा भाजपा गठबन्धनले ३ सय २५ सिट जितेको थियो । उक्त चुनावअघिको सत्तारूढ दल सपाले ४७ सिटमा चित्त बुझाएको थियो । बहुजन समाज पार्टी (बीएसपी) ले १९, कांग्रेसले ७ र अन्य दलले ५ सिट जितेका थिए । अहिलेको चुनावी सर्वेक्षणहरूले भाजपा नै ठूलो पार्टी बन्ने आँकलन गरेका छन् । तर, अघिल्लो पटक उसले हात पारेकामध्ये कतिपय सिट यसपटक गुमाउने देखिएको छ । भाजपाले २२३ देखि २३५ सिट जित्ने अनुमान छ । जुन अघिल्लो चुनावको भन्दा करिब एक सय कम हो । समाजवादी पार्टीले १४५ देखि १५७ सिट जित्न सक्ने आँकलन छ ।
अघिल्लो चुनावभन्दा तीन गुणा बढी सिट जिते पनि सपालाई सरकार बनाउन पुग्ने देखिँदैन । बीएसपी १५ र कांग्रेस १० सिटभित्र सीमित हुने सर्वेक्षणहरूको दाबी छ । एबीपी न्यूज उत्तर प्रदेशका वरिष्ठ सम्पादक पंकज झा धेरैजसो सिटमा भाजपा र समाजवादी पार्टीबीच नै प्रतिस्पर्धी हुने बताउँछन् । ‘कतैकतै बसपासहित त्रिकोणीय भिडन्त पनि छ,’ उनले भने, ‘पहिलो र दोस्रो भाजपा र सपानै हुन् ।’ प्रियंका गान्धी बाड्रालाई चुनावी कमान्डरका रूपमा उतारेको कंग्रेसले पनि शक्ति केन्द्रित गरेको छ । उनले महिलालाई प्राथमिकतामा राखेर टिकट वितरण गरेपनि मतदाता रिझाउन पर्याप्त देखिएको छैन । केन्द्रीय सरकार गठनका लागि यूपीको भूमिका महत्वपूर्ण भएकाले भाजपाले पूरै शक्ति खनाएको छ । राज्यबाट लोसभमा ८० सदस्य चुनिन्छन् । अर्कोतिर, यूपीमा लामो समय सत्ता सञ्चालन गरेको समाजवादी पार्टी (सपा) ले आफ्नो पुरानो साख फर्खाउन कुनै कसर बाँकी राखेको देखिँदैन ।
अघिल्लो चुनावमा सपामाथि परिवारवाद र जातिवादको आरोपले क्षति पुगेको थियो । समाजवादी अध्यक्ष अखिलेश यादवले उक्त आरोप चिर्ने कोसिसमा छन् । सपाले यादव, मुस्लिमा र पिछिडिएका जातिको भोट बटुल्ने प्रयास गरिरहेको छ । साथै ब्राह्मण भोटलाई पनि तान्ने कोसिस उनको छ । अखिलेशले यसपटक राष्ट्रिय लोकदलसँग गरेको गठबन्धन विशेष चर्चामा छ । पूर्वप्रधानमन्त्री तथा किसान नेता चौधरी चरण सिंहका नाति जयन्तको हातमा दलको कमान्ड छ । किसान बाहुल पश्चिम उत्तर प्रदेश र मुसलमान समुदायमा उक्त पार्टीको प्रभाव छ । यूपीको चुनावमा जातीय मुद्दाले धेरै भूमिका खेल्ने गरेको र यसपटक पनि दल तथा उम्मेदवारले जातीय मुद्दालाई प्राथमिकतामा राखेका पत्रकार झाको बुझाइ छ ।
( कान्तिपुर दैनिक )
