Fast Nepal News

हिजाब प्रतिबन्धपछि कर्नाटकमा विरोध चर्कंदै

banner single news

बैंग्लोर — २७ माघ २०७८

बैंग्लोर , भारतको कर्नाटक राज्यका कलेजले कक्षाकोठामा छात्राहरूलाई हिजाब प्रतिबन्ध गरिएसँगै सुरु भएको विरोध प्रदर्शन चर्केको छ । मुस्लिम महिलाले लगाउने हिजाब कलेजमा प्रतिबन्धित भएसँगै भारतमा धार्मिक तनाव बढ्दै गएको छ । जसका कारण कतिपय स्थानमा झडपहरूसमेत भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रदर्शन हिंसात्मक हुन थालेपछि राज्य सरकारले माध्यमिक विद्यालय र कलेजहरू तीन दिनका लागि बन्द गरेको छ । त्यस्तै कर्नाटक प्रहरीले दुई साताका लागि विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थाको वरिपरि आन्दोलन तथा प्रदर्शन गर्न रोक लगाएको छ । राज्यका कतिपय कलेजले कक्षामा हिजाब लगाउन नदिएपछि किशोरीहरूले कर्नाटकका विभिन्न स्थानमा केही सातायता विरोध प्रदर्शन गरिरहेका छन् । मानव अधिकारवादी संस्था तथा अगुवाहरूले सरकारी निर्णयको कडा आलोचना गरिरहेका छन् । भारतभर चासो र चर्चाको विषय बनेको निर्णयविरुद्ध कर्नाटकको उच्च अदालतमा मुद्दासमेत दायर गरिएको छ । हिजाब लगाउनु संविधानले सुनिश्चित गरेको धर्मको मौलिक हक भएको तर्कसहित विद्यार्थीले अदालतमा मुद्दा दायर गरेका हुन् ।

इन्डियन एक्सप्रेसका अनुसार अदालतले ‘राज्यका केही कलेजले हिजाब प्रतिबन्ध गरेको विषयमा दायर मुद्दाको सुनुवाइ बृहत् इजलासले हेर्ने’ जनाएको छ । इजलासबारे उच्च अदालतका प्रमुख न्यायाधीशले निर्णय लिनुपर्ने आफूलाई लागेको न्यायाधीश कृष्णा दीक्षितले बताएका छन् । उक्त निर्णयविरुद्ध आवाज उठाउनेको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पनि थपिएकी छन् । छात्राहरूले विद्यालयमा हिजाब लगाउन पाउनु उनीहरूको अधिकार भएको भन्दै युसुफजाई विद्यार्थीहरूको समर्थनमा उत्रेकी हुन् । उनले विद्यालय तथा कलेजहरूको निर्णय एउटा डरलाग्दो घटना भएको बताइन् । ‘कलेजले हामीलाई पढाइ वा हिजाबमध्ये एउटा छान्न बाध्य पारिरहेको छ,’ महिला शिक्षाका विषयमा आवाज उठाएका कारण पाकिस्तानमा तालिवानको आक्रमणमा परेकी युसुफजाईले ट्वीटरमा लेखेकी छन् । छात्राहरूलाई विद्यालयमा हिजाब लगाउन नदिनु आपत्तिजनक भएको उनको भनाइ छ । ‘भारतीय नेताहरूले मुस्लिम महिलाहरूको सीमान्तकरण रोक्नैपर्छ,’ २४ वर्षीया युसुफजाईले भनेकी छन् । महिलाहरूलाई यो वा त्यो लगाऊ भन्ने नियम आपत्तिजनक रहेको उनले बताइन् । त्यस्तै, विपक्षी दल कंग्रेस नेतृ प्रियंका गान्धी बाड्राले पनि निर्णयप्रति विरोध जनाएकी छन् ।

‘बिकनी, घुम्टो, जिन्स वा हिजाब जस्तोसुकै पहिरन भए पनि लगाउने निर्णय महिलाको अधिकारको कुरा हो,’ उनले ट्वीटरमा लेखेकी छन्, ‘यो भारतीय संविधानप्रदत्त अधिकार हो ।’ कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्बईले ३ दिनका लागि विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गरिएको जनाएका छन् । उनले कर्नाटकमा शान्ति र सद्भाव कायम राख्न विद्यार्थी, शिक्षक, विद्यालय तथा कलेजका कर्मचारी र जनतालाई आग्रह गरेका जनाइएको छ । हिन्दु कट्टरपन्थीहरूले भने हिजाब प्रतिबन्धको समर्थनमा बोलेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रतिबन्धको विरोधी र समर्थकबीच मंगलबार र बुधबार भएका झडपमा केही मानिसहरू घाइते भएका जनाइएको छ । कलेज परिसरमा विद्यार्थीलाई हिजाब लगाउन दिइएको भए पनि कक्षाकोठामा हटाउन आग्रह गरिएको कतिपय कलेजको भनाइ छ । तर आफ्नो कपाल छोप्न पाउनुपर्ने किशोरीहरूको भनाइ छ । ‘केही शिक्षक पुरुष छन् । उनीहरूको अगाडि कपाल छोप्नुपर्ने भएकाले हामी हिजाब लगाउँछौं,’ एक विद्यार्थीले भनेकी छन् ।

Inside Article Ads

सरकारी उच्च माध्यमिक तहसरहको एक कलेज व्यवस्थापनले छात्राहरूलाई कक्षाकोठामा हिजाब लगाउन रोकेपछि विरोध सुरु भएको हो । हिजाब लगाएका छात्राहरूको समूहलाई कलेजको गेट बन्द गरिएको भिडियो गतसाता सार्वजनिक भएपछि त्यसले आक्रोश निम्ताएको हो । त्यसलगत्तै कर्नाटक राज्यका अन्य कलेजहरूमा पनि विरोध फैलिएको छ । कर्नाटकको मान्ड्यास्थित पीईसी कलेजपछि कुन्डापुरस्थित भण्डारकर कलेजमा हिजाब लगाएर गएका छात्राहरूलाई प्रवेश नदिइएपछि विरोध सुरु भएको हो । यसका कारण हिन्दु र मुस्लिमबीचको विवाद बल्झिएको छ । पीईसी कलेजमा हिजाब पहिरिएकी मुस्लिम छात्रा प्रवेश गरिरहँदा हिन्दु युवकहरूको समूहले ‘जय श्रीराम’ को नारा लगाउन दबाब दिएका थिए । त्यसपछि आक्रोशित युवतीले मुस्लिम धर्मअनुसार ‘अल्लाह हूँ अकबर’ को नारा लगाइन् । ती छात्राले एकोहोरो नारा लगाइरहेपछि हिन्दु युवाहरूसँग झडपको स्थिति बन्यो । कर्नाटकमा हिजाबको विषयलाई लिएर जनवरीमा नै विवाद सुरु भएको थियो । पीईसी कलेजमा मुस्लिम छात्राहरूले हिजाब पहिरिएर कक्षामा प्रवेश गरेपछि उनीहरूलाई बन्देज लगाइएको थियो ।

जसकारण कलेज व्यवस्थापनले पनि नयाँ पोसाक नीति घोषणा गर्‍यो । त्यसपछि केही छात्राहरूले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । छिमेकी देश पाकिस्तानका केही मन्त्री तथा नेताहरूले पनि हिजाब प्रतिबन्धको विरोध गरेका छन् । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेशीले ‘कर्नाटक सरकारको निर्णयले मौलिक अधिकारको गम्भीर उल्लंघन गरेको’ जनाएका छन् । ‘कसैको मौलिक हक खोस्नु र हिजाब लगाएकै भरमा आतंकित पार्नु उनीहरूप्रतिको दमन हो,’ कुरेशीले भनेका छन् । त्यस्तै, पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री फवाद हुसेन चौधरीले भारत सरकारको कडा आलोचना गरेका हिन्दुस्तान टाइम्सले जनाएको छ । ‘मोदीको भारतमा जे चलिरहेको छ, त्यसले तर्साइरहेको छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘अस्थिर नेतृत्वको हातमा रहेको भारतीय समाज पतनको बाटोमा छ ।’

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.