Fast Nepal News

युरोपभरि नक्कली खोप पासको बिगबिगी, प्रहरीद्वारा छापा

banner single news

पेरिस — १२ माघ २०७८

पेरिस , युरोभरि नक्कली कोभिड पासको बिगबिगी भएपछि प्रहरीले विभिन्न ठाउँमा छापा हानेको छ । स्पेनी प्रहरीले युरोपियन युनियनको नक्कली कोभिड-१९ स्वास्थ्य पास बेचेको आशंकामा सात जनालाई मंगलबार पक्राउ गरेको छ । मंगलबार पक्राउ गरिएको समूहले स्पेनको राष्ट्रिय खोप सूचीमा रहेका अनुमानित १,६०० व्यक्तिहरूलाई गलत रूपमा खोप पास दर्ता गरेको आरोप लागेको छ । स्पेनी अधिकारीहरूले नक्कली पास बेच्ने समूहको नेतालाई पनि पहिचान गरेको तर फ्रान्समा कार्यरत रहेको भन्दै फ्रान्सेली समकक्षीहरूलाई सूचित गरेको मंगलबार सार्वजनिक गरेका छन् । त्यस्तै, फ्रान्सको लियोन सहरका एक दम्पतीलाई एक हजार भन्दा बढी नक्कली कोभिड-१९ स्वास्थ्य पास बेचेको आशंकामा पक्राउ गरिएको छ । दम्पतीलाई गत गर्मी याममा जिरोंदमा एक फ्रान्सेली नर्सको खाता ह्याक गरी नक्कली प्रमाणपत्रहरू सिर्जना गरेको आरोप लागेको छ । उनीहरुलाई धेरै महिना लामो अनुसन्धानपछि मंगलबार पक्राउ गरिएको बोर्दो सहरको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

तिनीहरूले ल ताइयों मेदक भन्ने ठाउँमा रहेको क्लिनिकमा नर्सको रेकर्ड पहुँच गर्न “अज्ञात सफ्टवेयर” प्रयोग गरेको प्रहरीले पत्ता लगाएको हो । लियोन सहरको बाहिरी भागमा बस्ने एक जोडीलाई साइबर आक्रमण गरी पास बनाएको पत्ता लगाइएको थियो । प्रहरीले तिनबाट एक ह्यान्डगन, ९ हजार युरो, लगभग २० मोबाइल फोन र धेरै ठूलो संख्यामा डिजिटल मिडियासमेत जफत गरेको थियो । स्पेनी प्रहरीले अन्तर्राष्ट्रिय अपराधी गिरोहले देशको खोप दर्ता स‌ंयन्त्रमा पहुँच प्राप्त गर्न मद्दत गर्न स्वास्थ्य पेशेवरहरू पनि भर्ती गरेको हुन सक्ने आशंका गरेको छ । गोप्य पहुँच कोडहरूको सम्भावित चोरीको बारेमा थप अनुसन्धान भइरहेको भनाइ प्रहरीको छ । यसरि नक्काली खोप पास बेच्नेहरु जर्मनी, फ्रान्स, डेनमार्क, इटाली, पोर्चुगल, ग्रीस, बेल्जियम, स्विजरल्यान्ड, स्लोभेनिया, रोमानिया, अष्ट्रिया गायतका दर्जनौं देशमा फेला परेपछि प्रहरीले विभिन्न ठाउँमा छापा हानेको हो ।

फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभिय भेरानले पछिल्लो समय अस्पतालम भर्ना भएका बिरामीहरु मध्ये ३० प्रतिशत नककली कोभिड पास भएकाहरु फेला परेको बताएका छन् । अस्ट्रियामा प्रहरीले नक्कली खोप पासको शंकास्पद बिक्री भएको भन्दै तिनको खोजतलास गर्न देशव्यापी छापा मारेको छ । नक्कली कागजातको प्रयोग र जालसाजी गरेको आशंकामा कुल २२ जनामाथि अनुसन्धान भइरहेको अष्ट्रियाको गृह मन्त्रालयले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । अष्ट्रियन प्रहरीको विज्ञप्तिअनुसार संदिग्धहरूमध्ये अधिकांश खोप अभियान विरोधी हुन् र तिनीहरुले आफू र आफ्ना परिवारकालागि नककली खोप पास बनाउन समूहहरू बनाएका छन् । नक्कली पास बिक्रेताहरु फेसबुक, इस्ताग्राम, टेलिग्राम, ट्विटर अन्य अनुप्राग (एयाप्स) हरु प्रयोग गरेर नक्कली खोप पास बिक्री गरिरहेको फ्रान्सका सुरक्षा अधिकारीहरुले सार्वजनिक गरेका छन् । छापा मार्ने क्रममा प्रहरीहरुले धेरै नक्कली खोप पासका साथै मोबाइल फोन र कम्प्युटरहरू जफत गरेका छन् ।

Inside Article Ads

युरोन्युजका अनुसार अस्ट्रियाले अप्रिल २०२१ मा नक्कली खोप प्रमाणपत्रहरूको बिक्री विरुद्ध लड्न सुरक्षा अधिकारीहरुको छुट्टै समूह स्थापना गरेको थियो । त्यसपछि पनि नक्कली खोप पास कायम रहेको सुरक्षाकर्मीहरुले उल्लेख गरेका छन् । इटालीमा ४५ जनालाई नक्कली कोरोना खोप दिएको आरोपमा एक जना इटालियन नर्सलाई दुई साता अघि पक्राउ गरिएको थियो । ती नर्सले खोपहरू फ्याँकिदिएको र पत्ता नलगाउन् भनी बच्नका लागि बिरामीहरूलाई ब्यान्डेज लगाइदिएको प्रहरीले बताएको छ । बेल्जियममा एक जना चिकित्सकले करिब पाँच सय नक्कली खोपको प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका थिए । उनीमाथि सरकारी अदलातमा मुद्दा चलाइएको छ ।

संदिग्धहरूले कोविड-१९ अस्वीकार गर्ने र खोप विरोधीहरूलाई लक्षित गरेर अनलाइन सन्देश फोरमहरूमा नक्कली परीक्षण परिणाम र खोप प्रमाणपत्रहरूको विज्ञापन गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार नक्कली पीसीआर परीक्षणको नतिजा करिब ५० युरो र नक्कली खोप पासहरू जनहि दुई सय युरोदेखि एक हजार युरोसम्म बिक्री गरेको अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेका छन् । समूहले क्रिप्टोकरेन्सीहरूमा नक्कली स्वास्थ्य पासहरूको लागि भुक्तान माग गरेको र विदेशी बैंक खाताहरू प्रयोग गरी रकम लिएकाले पत्ता लगाउन कठिन भएको प्रहरी अधिकारीहरुले उल्लेख गरेका छन् कफी सप, यातायात, सिनेमा वा कतै सार्वजनिक स्थलमा जाँदा कोरोना खोपको पूर्ण मात्रा लगाएको, कोरोना लागेर निको भएको वा पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाण नभई नहुने भएपछि खोपमा विश्वास नभएका वा लगाउन आवश्यक नठानेकाहरुले यस्तो नक्कली पास लिएर छल्न थालेका हुन् । स्वास्थ्य पास लिनका लागि आफ्नो स्वास्थ्य परिचय पत्रको नम्बर र अन्य व्यक्तिगत परिचय खुलाउनुपर्छ ।

( कान्तिपुर दैनिक )

 

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.