
६ असोज,बुटवल । र्यटनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा टर्मिनल भवनको डिजाइन पोष्ट गरेका छन् । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक गर्दै उनले कस्तो डिजाइन उपयुक्त हुन्छ भन्दै सुझाव मागेका छन् ।मन्त्री भट्टराईले विभिन्न शैलीका डिजाइन फेसबुकमा राखेपछि रुपन्देहीका बासिन्दाहरुले टर्मिनल भवनको डिजाइनमा ठूलो आकारको बुद्ध मुर्ति समेट्न सुझाव दिएका छन् ।

दोस्रो टर्मिनल भवन हाल बनेको नयाँ टर्मिनल भवनबाट पश्चिमतर्फ र घाँघरा खोला भन्दा पूर्वपट्टि बन्नेछ । उक्त स्थान भैरहवा–लुम्बिनी सडक खण्डको दक्षिणतर्फ सडक छेउमै पर्दछ ।
भवनको डिजाइनदेखि अरु काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाटै भइरहेको छ ।
टर्मिनल भवन बनाउने स्थानको पर्यटन मन्त्रालयबाट आएको टोलीले माटो परीक्षण गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको विमानस्थलको पहिलो चरणको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार, विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति भएको आयोजना ।
विमानस्थलको टर्मिनल भवनभित्र ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडान गर्न बाँकी छ । विदेशी प्राविधिक र उपकरण समयमै आएको खण्डमा अंग्रेजी वर्ष सन् २०२१ शुरु भएपछि मात्रै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने छ ।
