Fast Nepal News

जलजलाका किसानको आफ्नै कृषि बजार

banner single news

पर्वत —  १७ कात्तिक २०७८

पर्वत , बेमौसमी तरकारी र फलफूल उत्पादनमा जलजला गाउँपालिका धौलागिरि क्षेत्रमै अब्बल मानिन्छ । यहाँका धाइरिङ, मल्लाज, बाँसखर्कलगायत गाउँमा उत्पादित तरकारी स्थानीय बजारका अलावा पोखरामा समेत राम्रै परिमाणमा खपत हुन्छ । तर अनेक सकस झेलेर तरकारी र फलफूल उत्पादन गर्ने किसानले त्यसअनुसारको प्रतिफल पाउन सकेका थिएनन् । आफूले उत्पादन गरेको वस्तुबाट बिचौलिया लाभान्वित भइरहेको महसुस गरेपछि यहाँका स्थानीय युवाले जुक्ति निकाले कृषि बजार खोल्ने । जलजला–७ धाइरिङका युवा राजु आचार्यको यो प्रस्तावमा पालिकाभरका सक्रिय किसानले साथ थिए । तीन वर्षअघि सुरु गरेको ‘जलजला कृषि बजार’ मा अहिलेसम्म ४ सय किसान जोडिइसकेका छन् । एक जना किसानले १० हजार रुपैयाँका दरले लगानी गरेर सुरु गरेको कृषि बजारमा १० जना कर्मचारी कार्यरत छन् भने कृषि उपजको संकलन र बिक्रीका लागि २ वटा गाडी खरिद गरिएको छ ।

हरेक दिन कृषि उपज संकलन गर्न गाडी किसानको बारीसम्मै पुग्छ । वडा–७ को मिलनचोकमा कृषि उपजको संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । करिब १० रोपनी जग्गा भाडामा लिएर कृषि बजारका लागि तरकारी, फलफूल, अन्न, कुखुरा, खसीबोकालगायत संकलन तथा भण्डारणको व्यवस्था गरिएको छ । केन्द्रमै थोक तथा खुद्रा बिक्रीका लागि मासु तथा तरकारी पसलसमेत सञ्चालनमा छन् । केही किसान मात्रै संलग्न भएर २०७६ मा जलजला कृषक समूह सुरु गरेकोमा काम गर्दै जाँदा बृहत् कृषि बजार सञ्चालनमा ल्याउने योजना बनेको अध्यक्ष आचार्यले बताए । उनका अनुसार केन्द्रमा संकलित तरकारी बजारसम्म पुर्‍याउने काम पनि समूहले नै गर्दै आएको छ । ‘बेनीमा सिजनमै १० रुपैयाँमा काउली बेच्न सकेनौं,’ स्थानीय किसान नरबहादुर केसीले भने, ‘बढी भएको काउली पोखरा पठाउँदा यहाँ अभाव भयो । अनि मूल्य यसै बढ्ने भयो ।’

तरकारी मात्रै नभएर दूध, दही, घिउ, फलफूल, दलहन, तेलहन, अदुवा, बेसारलगायतको पनि समूहले बिक्री गर्दै आएको छ । ‘डोकोमा बोकेर धेरै वर्ष बेनी र बागलुङ पुगियो,’ स्थानीय हरि आचार्यले भने, ‘अहिले बारीमै गाडी आएर लैजान्छ । धेरै सुबिस्ता भएको छ ।’ दैनिकजसो बारीमै पुगेर तरकारी संकलन गर्दा आफूहरूको समय र रकम दुवै बचत भएको उनको भनाइ छ । कृषि बजारमा संकलित तरकारी बिक्री गर्न गत वर्षदेखि म्याग्दीको बेनी र पर्वतकै मिलनचोकमा छुट्टाछुट्टै बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । केही महिनाभित्रै पर्वत सदरमुकाम कुश्मा, मुस्ताङको जोमसोम, बागलुङ बजार र पोखरामा समेत बिक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष आचार्यले बताए । यसै वर्षदेखि पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका ग्रामीण क्षेत्रमा उत्पादित टिमुर, सिल्टिमुर, लप्सीलगायत फसलसमेत संकलन गरी बिक्री थाल्ने तयारीमा समूह छ ।
Inside Article Ads

समूहका सुपरभाइजर राजन केसीका अनुसार मिलनचोकको बिक्री केन्द्रबाट मात्रै दैनिक ६० हजार रुपैयाँसम्मको कारोबार हुँदै आएको छ । ‘सकेसम्म बाहिरको तरकारी विस्थापित गर्ने लक्ष्य हो, त्यसमा सफल हुन अझै केही समय लाग्छ,’ अध्यक्ष आचार्यले भने, ‘पहिलो चरणमा जलजलाका ९ वटै वडाको उत्पादन संकलन गर्‍यौं, अब धौलागिरि क्षेत्रका सबै जिल्लामा पुग्ने योजना छ ।’ बिचौलियाको मारमा परेका किसान र उपभोक्तालाई राहत दिन सुरु गरेको कृषि बजारले सफलता पाउँदै गएको उपभोक्ता बताउँछन् । ‘बाहिर बजारमा भन्दा जलजला कृषि बजारमा हरेक वस्तु १०–२० रुपैयाँ सस्तो पाइन्छ,’ बेनीबाट तरकारी लिन मिलनचोक आएका प्रकाशकुमार श्रेष्ठले भने, ‘अर्को कुरा यहाँ ताजा र अर्गानिक पाइन्छ ।’

( कान्तिपुर दैनिक )

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.