Fast Nepal News

सम्बन्ध सुधार्न सहमहामन्त्री महतको नेतृत्वमा कांग्रेस प्रतिनिधिमण्डल भारत जाँदै

banner single news

काठमाडौँ — २० असोज २०७८

काठमाडौँ , भारतसँग सम्बन्ध सुधारका लागि सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो । भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा उदय शम्शेर जबरा र अजय चौरसिया रहेका छन् । दुवै पूर्व राज्यमन्त्री हुन् । ‘दुई पार्टीबीच सम्बन्ध सशक्त बनाउनका लागि गरिएको यो पारस्परिक भ्रमण हो,’ महतले भने । 

प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम रहेको छ । यसअघि चौथाइवाले भदौको पहिलो साता कांग्रेसका सहमहामन्त्री महतको निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए । त्यस क्रममा उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित अधिकांश राजनीतिक दलका नेता तथा उच्च सरकारी अधिकारीहरुलाई भेट गरेका थिए । भ्रमणको क्रममा प्रधानमन्त्री पत्नि आरजु राणाले चौथाइवालेलाई रक्षा बन्धनको दिन लगाइदिएको राखी निकै चर्चामा रहेको थियो ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.