
काठमाडौँ — २३ भाद्र २०७८
काठमाडौँ, संसद् अधिवेशनको विषयमा छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा थालिएको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा एमालेले खेल्ने भूमिकाबारे जानकारी गराउने प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएको छ ।
पार्टी निर्णयअनुसार माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै एमालेले सभामुख सापकोटाको भूमिका निष्पक्ष नभएको टिप्पणी यसअघि नै गरेको थियो । यो विषयलाई लिएर एमालेले संसद्मा कडा रूपमा प्रस्तुत हुने संकेत यसअघि नै दिइसकेको छ । दिउँसो चार बजे संसद्को अधिवेशन सुरु हुँदै छ ।
( कान्तिपुर दैनिक )
