Fast Nepal News

सेयर कर्जा सीमा परिवर्तन नहुने राष्ट्र बैंकको स्पष्टोक्ति

banner single news

काठमाडौँ — २२ भाद्र २०७८

काठमाडौँ , सेयर बजारमा आएको गिरावट सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । सोमबार उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन वार्तासमेत गरे । मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रभावित भएको भन्ने लगानीकर्ताको गुनासोका आधारमा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीसँग कुराकानी गरेका हुन्  कुराकानीका क्रममा विद्यमान समस्या समाधान गर्न अर्थमन्त्रीले गभर्नरलाई आग्रह गरेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्र बैंकले सेयर कर्जामा सीमा तोकेकाले बजार प्रभावित भएको लगानीकर्ताको आरोप छ । ‘सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

कहाँ के सुधार गर्नुपर्ने हो, त्यो गरेर पुँजी बजारका समस्या समाधान गर्न अर्थमन्त्रीले गभर्नरलाई आग्रह गरेको बताइएको छ । अर्थ मन्त्रालयको भनाइ सार्वजनिक भएपछि राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सीमासम्बन्धी व्यवस्था परिमार्जन गर्नेलगायत अड्कलबाजी हुन थालेका छन् । तर राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने तत्काल त्यो सम्भव नभएको प्रतिक्रिया दिए । ‘अर्थमन्त्री र गभर्नरबीचको कुराकानीबारे मलाई जानकारी भएन,’ उनले भने, ‘तर राष्ट्र बैंकले हालै जारी गरेका निर्देशनमा तत्काल केही परिमार्जन हुँदैन ।’ राष्ट्र बैंकले पर्याप्त अनुसन्धान गरेरै ती नीति ल्याएकाले तत्काल परिमार्जन नहुने उनको दाबी छ ।

Inside Article Ads

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से परिसूचक घट्दो क्रममा छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गरेपछि बजार प्रभावित भएको जानकारहरू बताउँछन् । सोही क्रममा आइतबार पनि नेप्से १ सयभन्दा धेरै अंक घटेको हो । सो दिन मध्याह्नमा नेप्से करिब १ सय ५० अंकसम्म घटेको थियो । यो एकै दिनमा हालसम्मै उच्च गिरावट हो । यसअघि २०७७ मंसिर २१ मा एकै दिन नेप्से १ सय २३ अंक घटेको थियो । पछिल्ला १५ कारोबार दिनमा ७ दिन नेप्से घटेको छ भने ८ दिन बढेको छ । सात दिनमा नेप्से करिब ८० अंकले मात्र बढेको छ भने ८ दिनमा ४ सय २४ अंकले घटेको छ । केही महिनायता वित्तीय प्रणालीमा तरलता अभाव भएपछि ब्याजदर बढ्न थालेको, पछिल्लो एक वर्षमा नेप्से दोब्बर बढेको, निषेधाज्ञा खुलेसँगै अर्थतन्त्रका अन्य क्षेत्र चलायमान बन्दै गएकोलगायत कारण बजार प्रभावित भएको बताइएको छ ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर कर्जामा सीमा तोक्यो । त्यसलाई सर्वसाधारण लगानीकर्ताले व्यक्तिगत रूपमा एक संस्थाबाट ४ करोड र सबै संस्थाबाट १२ करोड रुपैयाँ भनेर बुझे । मौद्रिक नीति सार्वजनिक भएको एक सातापछि मात्र कार्यान्वयनका लागि निर्देशन जारी भयो । तर, पहुँचवाला लगानीकर्ताले त्यो सीमा एकाघर परिवारलाई हो भन्ने जानकारी पाइसकेका थिए । यहीकारण निर्देशन जारी हुनुअघि उनीहरू सेयर बिक्री गरेर बजारबाट बाहिरिएकाले नेप्से घटेको एक सेयर ब्रोकरको भनाइ छ । पछिल्लो समय बजारमा देखिएको गिरावटलाई कतिपयले स्वाभाविक पनि मानेका छन् । बजार धेरै माथि गइसकेकाले ‘करेक्सन’ आवश्यक थियो, अहिले त्यही भएको उनीहरूको तर्क छ । ‘लगानीकर्ता बजार कहिले पनि घट्नै हुन्न, निरन्तर रूपमा उकालो मात्र लागिरहनुपर्छ भन्ने सोच्छन्,’ एक जानकारले भने, ‘त्यस्तो सम्भव हुँदैन ।’ लगानीकर्ताले करेक्सनलाई बुझ्न नसक्दा समस्या भएको उनको भनाइ छ । बजार घट्नै हुदैन भन्ने लगानीकर्ताको मनोविज्ञानले बजारको वृद्धि दिगो नहुने ती अधिकारीले बताए ।  
( कान्तिपुर दैनिक )
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.