Fast Nepal News

गुलशनले देखाएका सम्भावना

banner single news

काठमाडौँ — ९ भाद्र २०७८

काठमाडौँ, नेपाली क्रिकेट टोली आईसीसी विश्वकप लिग २ का खेल खेल्न मंगलबार ओमान भ्रमणमा लागेसँगै धेरैका मनमा एउटा कौतूहल छाएको छ । पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका तीव्र गतिका बलर गुलशन झाले मौका पाउलान् त ? घरेलु प्रतियोगितामा दुई खेलको मात्र अनुभव बोकेका गुलशनको नेपाली टोलीमा प्रवेशले तरंग ल्याएको छ । अमेरिका र ओमानसँग लिग २ का २–२ गरी चार खेल खेल्नेछ । त्यसअघि नेपालले भ्रमणमा पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा कम्तीमा गुलशनको सम्भावना देखिन्छ ।ओमान जानुअघि नेपालले आइतबार कीर्तिपुरमा अन्तिम प्रशिक्षण गरेको थियो । ‘सिनारियो’ प्रशिक्षणमा गुलशनले नेपालका माथिल्लोक्रमका ब्याट्सम्यानलाई लगातार बलिङ गरिरहेका थिए । त्यसले उनको ओमानमा खेल्न पाउने सम्भावना नदेखिएको होइन । अर्का तीव्र गतिका बलर विक्रम सोब ५ वर्षदेखि नेपाली टोलीमा आउने जाने भइरहेका छन् । उनले अझै आधिकारिक ‘डेब्यु’ को मौका नपाएका उदाहरण पनि छन् । त्यसैले गुलशनको सम्भावनालाई लिएर यसै भन्न सकिने आधार छैन ।

प्रशिक्षक डेभ ह्वाटमोरले तीव्र बलरमाथि विश्वास देखाउँदै आएका छन् । वैशाखमा नेदरल्यान्ड्सविरुद्धको त्रिदेशीय ट्वान्टी–२० क्रिकेटको फाइनलमा उनले चार तीव्र गतिका बलर खेलाएका थिए । ह्वाटमोरले ६ फिट १ इन्च अग्ला १७ वर्षे यी बलरमाथि पनि यही विश्वास र सम्भावना देखेका हुन् । ‘गुलशन धेरै राम्रो सम्भावना भएका खेलाडी हुन् र उनमा ठूलो क्षमता छ । उनी युवा छन् र सिक्नका लागि आतुर छन्,’ ह्वाटमोरले आफ्नो नयाँ खेलाडीबारेमा भने ।सर्लाही मलंगवाका उनी सन् २०१६ मा क्रिकेट सिक्न भारत लागे । झारखण्डको राँचीस्थित अरुणोदय क्रिकेट एकेडेमीमा ४ वर्ष उनले प्रशिक्षण लिए । पूर्वरणजी खेलाडी अरुण विधार्थीसँग उनले प्रशिक्षण लिए । विधार्थीकै प्रशिक्षणप्राप्त इशान किसन अहिले भारतमा चम्किएका खेलाडी हुन् । गुलशनले भने, ‘प्रशिक्षक (ह्वाटमोर) ले यदि मौका पाएको खण्डमा दबाब नलिईकन खेल्न भन्नुभएको छ, जे सिकेका छौं, मैदानमा त्यही देखाउन खोज्नु र आनन्द लिएर खेल्नु भन्नुभएको छ ।’

काठमाडौं आएर नेक्सस क्रिकेट एकेडेमीमा उनले दुई साता कलाम अली र शशी केशरीसँग प्रशिक्षण लिएका थिए । ‘लामो दौडिएर बलिङ गर्ने भएकाले उनलाई हाम्रो एकेडेमीमा रनअप नै पुग्दैनथ्यो,’ केशरीले गुलशन सिक्न आएको दिन सम्झिए । पुलिस टोली माघमा प्रधानमन्त्री कप तयारीका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेट प्रशिक्षण गरिरहेको थियो । सर्लाली जिल्ला क्रिकेट संघका अध्यक्ष एवं नेपाल क्रिकेट संघका सदस्य माधव कर्माचार्यले पुलिसका प्रशिक्षक मनोज कटुवाल र विजयकुमार धिताललाई गुलशनका बारेमा बताएका थिए । त्यसपछि पुलिसले गुलशनलाई ‘ट्रायल’ का लागि बोलाएको हो ।

मूलपानीमा पुलिसको दुई टिम बनाएर तयारी म्याच खेलाउँदा गुलशनको जाँचिने अवसर आयो । ‘स्लग गर्दा १–२ बल खेलेपछि नै उनी आउट भए, ब्याटिङ पनि राम्रो छ भनेर उनलाई ४–५ नम्बरमा पठाएका थियौं । बलिङले चाहिँ एकदमै प्रभावित बनाएको थियो,’ पुलिसका सहायक प्रशिक्षक धितालले भने, ‘३५ ओभरको त्यो तयारी खेलमा उनले आफ्नो भागको पूरै ७ ओभर बलिङ गर्दै तल्लोक्रमका २ विकेट लिएका थिए ।’

गुलशनको पेस पनि राम्रो देखेपछि पुलिसलाई पनि खोजेजस्तै थियो । ललितसिंह भण्डारी मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकाले गुलशनलाई आफ्नो टिमबाट खेलाउने निधोमा पुगे प्रशिक्षक कटुवाल र धितालसहित पुलिस टोली । पुलिसको महाराजगन्जस्थित विकेटमा गुलशनले अभ्यासमा अझै राम्रो पेस देखाए ।फागुनमा सम्पन्न काठमाडौं मेयर कप उनले घरेलु क्रिकेटमा खेलेको पहिलो प्रतियोगिता थियो । काठमाडौं मेयर ११ विरुद्ध ५ ओभरमा २२ रन खर्चेर कुनै विकेट लिन नसकेका उनले नेपाल एपीएफ क्लबविरुद्ध फाइनलमा ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिई म्यान अफ द म्याच प्रदर्शन गरे । उनले शंकर राना, कप्तान शरद भेषावकर, भुवन कार्की र कमलसिंह ऐरीलाई आउट गरेका थिए । त्यसयता उनी नेपाली टोलीको बन्द प्रशिक्षणमा परेका हुन् ।

Inside Article Ads

त्यसपछि पुलिसले उनलाई करारमा सम्झौता गरेको थियो । ‘हामीसँग पेस बलरको कमी थियो । उनको उमेर पनि भएकाले निखार्दै लगिन्छ भन्ने थियो । मेयर कपको पहिलो खेलमा विकेट नलिए पनि बलिङ राम्रो गरेको थियो । फिटनेसमा ध्यान दिए भने उनी राम्रो बलर बन्छन् । ब्याटिङ सुधार गर्न सकिने खालको छ, उनको ब्याटिङमा पनि राम्रो सम्भावना देखिएको छ,’ प्रशिक्षक कटुवालले भने । पुलिसको ट्रायलमा गुलशनले शर्ट बलहरू फालिरहेको र ओभर पिच बलिङ गरिरहेका थिए । एपीएफविरुद्ध फाइनलमा उनले प्रायः विकेट शर्ट बलमै लिएका थिए ।यति चाँडो नेपाली टोलीमा पर्छु भन्ने उनले सोचेका पनि थिएनन् । तर कुनै पनि बेला टिममा मौका पाउन सकिन्छ भनेर आफ्नो तयारी गरिरहेको सुनाउँछन् उनी । क्याम्पमा आएपछि बलिङमात्र नभई अनुशासन, ब्याटिङ र फिल्डिङमा पनि सिक्न पाइरहेको जनाउँदै गुलशन भन्छन्, ‘म नतिजाका लागि सोचिरहेको थिइनँ । पहिलो पटक टोलीमा परेकाले सिक्न आएको थिएँ ।

त्यसैले मैले दबाब महसुस गरेको छैन । जे सिकेर आएको छु, मैदानमा त्यही देखाउने हो ।’ नेपाली टोलीको छनोटमा आफ्नो नाम पर्दाको क्षणबारे उनी वर्णन गर्न सक्दैनन् । प्रशिक्षण सकेर फर्किंदा छनोट भएका खेलाडीबारेमा उनलाई बताइएको थियो ।पुलिस र राष्ट्रिय टोलीको प्रशिक्षण अनुभव उनले धेरै फरक पाए । मेयर कपपछि बीचको खाली समयमा उनले लेन्थ बलमा ध्यान दिँदै स्लो र कटर बलमा मिहिनेत गरेको उनी जनाउँछन् । नेपाली टोलीको तीव्र बलिङमा करण केसी र सोमपाल कामीको दबदबा छ । उनीहरू दुवै अलराउन्डर भएकाले गुलशनले स्थान पाउन निकै ठूलो प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । ट्वान्टी–२० मा राम्रो गरिरहेका अविनाश बोहरा पनि तेस्रो तीव्र बलरको रूपमा नेपाली टोलीमा स्थान संघर्षरत अवस्थामा गुलशनको प्रवेश भएको छ ।

प्रायः नेपाली टोली भ्रमणमा जाँदा १४ वा १५ खेलाडी हुन्थे । कोभिड–१९ को जोखिमसँगै यसपालि १७ खेलाडी टोलीमा छन् । यसले पनि गुलशनलाई नेपाली टोलीको ढोका खोल्न सजिलो बनाएको हो । धेरै खेलाडी लिएर जान पाइरहेको अवस्थामा गुलशनमा जुन क्षमता र सम्भाव्यता छ, त्यसकारण उनलाई लिएर गएको कप्तान ज्ञानेन्द्र मल्ल सुनाउँछन् । ‘उनलाई किन अवसर नदिने, टिमसँगै राखेर संस्कार किन विकास नगर्ने ? उनी राम्रो प्रतिभा भएका खेलाडी हुन् । पेस बलिङमा हाम्रो अलिक कमी छ । उनले त्यो पेस बलिङको कमी पूरा गर्न सक्छन्,’ गुलशनलाई मौका पाउन समय लाग्ने संकेत गर्दै ज्ञानेन्द्रले भने, ‘उसले ब्याटिङ पनि राम्रै गर्छन्, अलिक निखार्न बाँकी छ । टिमसँगै बस्दा उनले धेरै सिक्न सक्छन् र अर्को प्रतियोगितामा एउटा पूर्ण क्रिकेटर बन्न सक्छन् ।’उनी आइतबार अन्तिम दिनको प्रशिक्षणमा पुलिसको जर्सीमा थिए । सञ्चारकर्मीले नेपाली टोली व्यवस्थापनसँग गुलशनलाई कुराकानीमा बोलाएसँगै चोभार एन्डमा फिल्डिङ गरिरहेका उनी पेभेलियन आएका थिए । नेपाल लेखेको अभ्यास जर्सी लगाएर उनी पुनः मैदानमा छिरेका थिए । उनी त्यही अभ्यास जर्सी लगाएर लजालु र निर्दोष मुहारसहित सञ्चारकर्मीमाझ प्रस्तुत भए । राष्ट्रिय टोलीको ढोका खोलिसकेकाले अर्को पटक सञ्चारकर्मीको सामना गर्दा गुलशन नेपालकै जर्सीमा हुनेछन् ।

(कान्तिपुर दैनिक)

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.