
काठमाडौँ — ४ भाद्र २०७८
एमालेको एकता बचाउन भन्दै बनेको तेस्रो समूहले आज विवाद समाधानको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सो समूहको धारणा निर्माण गर्नका लागि केन्द्रीय सदस्य तथा सांसदहरूको बैठक महाराजगञ्जमा बस्दैछ ।पार्टीभित्रको आन्तरिक बिबादमा माधवकुमार नेपाललाई साथ दिँदै आएका तर नयाँ दल निर्माणमा सहभागी नभएका उनीहरूले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।सो समूहका ९ जना स्थायी कमिटीको सदस्यहरूको बिहीबार बैठक बसेर एकताबारे धारणा सार्वजनिक गरेको थियो ।
‘एमालेको एकता बचाउने प्रयास हो । हिजो स्थायी कमिटीका नेताहरूले बसेर एक प्रकारको धारणा बनाउनु भएको छ । त्यसलाई आज केन्द्रीय सदस्य तथा सांसदहरुबीच छलफल गरेर वक्तव्यमार्फत सार्वजनिक गर्ने छौं,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।बिहीबार मात्रै स्थायी कमिटीका नौ जना सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गर्दै माधवकुमार नेपालसहितका १४ सांसदमाथि गरिएको कारवाही फिर्ता लिनका लागि अध्यक्ष ओलीलाई र नयाँ पार्टी गठनको प्रक्रिया रोक्नका लागि माधवकुमार नेपाललाई आग्रह गरेका थिए ।
(कान्तिपुर दैनिक)
