Fast Nepal News

मोदीका सर्वसाधारणलाई बिजुली निःशुल्क !

banner single news

पर्वत — १ भाद्र २०७८

पर्वत , एकपछि अर्को लोकप्रिय कार्यक्रम ल्याउन प्रतिस्पर्धा गर्ने जिल्लाका स्थानीय तहमा अर्को नयाँ कार्यक्रमको चर्चा सुरु भएको छ । जिल्लामा जलविद्युत् उत्पादनको हबका रूपमा चिनिएको मोदी गाउँपालिकाले पालिकावासीको विद्युत् महसुल तिरिदिने दाबी गरेपछि चर्चा सुरु भएको हो । चालु वर्षदेखि पालिकावासीको सबै विद्युत् महसुल तिर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए । उनका अनुसार गाउँपालिकाले यसका लागि चालु वर्ष २० लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाभित्रका विपन्न परिवार र २० युनिटभन्दा कम विद्युत् खपत गर्ने परिवारको विद्युत् महसुल गाउँपालिकाले तिरिदिने तयारी गरेको हो ।

पालिकाले कस्तो आर्थिक हैसियत भएका र कुन कुन समुदाय तथा वर्गका परिवारको महसुल तिर्ने भन्नेबारे कार्यविधि निर्माण गरिरहेको छ । अहिले निर्माणाधीन कार्यविधिमा मासिक आय कम हुने, विपन्न तथा दलित परिवारलाई प्राथमिकतामा राखेको छ । कार्यविधि तयार भइसकेपछि सबै स्पष्ट हुने गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताए । उनका अनुसार कार्यविधि निर्माणको चरणमा छ । ‘विपन्न परिचयपत्र भएको भए विपन्नलाई मात्रै दिने कुरा हुन्थ्यो,’ परिचयपत्र नभएपछि २० युनिटभन्दा कम विद्युत् उपयोग गर्ने जोसुकैलाई दिनुपर्छ भन्ने कुरा उठेको छ । सोहीअनुसार हुन्छ होला ।’

निःशुल्क विद्युत् बाल्न दिने गरी योजना बनाएको पालिकाले कार्यविधि बनाउन ढिलाइ भए पनि साउनदेखिकै महसुल तिर्ने योजना बनाएको छ । पालिकाले त्यसका लागि विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रसँग समन्वय गरिसकेको छ । ‘हामीले विद्युत्को कार्यालयमा सबै विवरण मागेका छौं,’ मोदी–२ का अध्यक्ष विकास तिमिल्सिनाले भने, ‘तथ्यांक लिइसकेपछि कति घरधुरी छन् भन्ने आउँछ । त्यसका आधारमा बजेट विनियोजन गर्न सहज हुन्छ ।’ अनुमानित २० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले उक्त रकमले अपुग भएमा थप्ने जनाएको छ ।विद्युत् उत्पादनका हिसाबले धौलागिरि क्षेत्रमै चर्चित ऊर्जा खोलाका उपनामले परिचित मोदी खोलाकै नामबाट मोदी गाउँपालिकाको नामकरण भएको हो । मोदीमा अहिले निर्माण सम्पन्न भएका दुई र यही वर्षभित्रै उत्पादन दिने गरी निर्माणाधीन दुई विद्युत् आयोजना छन् ।

Inside Article Ads

अरू दुई आयोजनासमेत निर्माणको चरणमा छन् । हालसम्म नेपाल विद्युत् प्राधिकरणको मोदी खोला तथा निजी क्षेत्रको युनाइटेड मोदी जलविद्युत् आयोजना गरी २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।निजी क्षेत्रका दुई आयोजनाको ३५ दशमलव १ मेगावाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । अहिले भइरहेका आयोजनाबाट मोदी गाउँपालिकाले वार्षिक १ करोड ३० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्छ । सोही रोयल्टीबाट प्राप्त रकमबाट पालिकावासीलाई विद्युत् महसुलमा छुट दिन लागिएको गाउँपालिकाले जनाएको छ ।केन्द्र सरकारले समेत विपन्न परिवारलाई विद्युत् महसुल छुट दिने चर्चा छ । यस चर्चाकै बीच मोदीले ल्याएको महसुल तिरिदिने योजना अब कति प्रभावकारी हुन्छ भन्ने हेर्न बाँकी रहेको पालिकावासीले बताएका छन् । ‘हामीलाई जसले दिए पनि छुट पाउनु राम्रो कुरा हो,’ मोदी–२ का गुरुदत्त चापागाईंले भने, ‘भाषण गरेर मात्रै भएन । काम गरेर देखाउनुपर्‍यो ।’

(कान्तिपुर दैनिक)

Visited 65 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.