
कञ्चनपुर — ३२ श्रावण २०७८
कञ्चनपुर, फलामको डन्डीमा जस्ताले छाएका ठूल्ठूला संरचना । आधा जति निर्माण भएका छन्, केहीमा जग हाल्ने कामसम्म भएको छ । सबैतिर एकसाथ काम चलिरहेको छ । महेन्द्रनगर बजार छेवैको सालघारी क्षेत्रमा देखिने यो दृश्य । झट्ट हेर्दा ठूलै उद्योग खुल्दै गरेको जस्तो देखिन्छ । तर यहाँ बनिरहेको संरचना कुनै उद्योग वा व्यापार व्यवसायका लागि होइनन् ।भारतबाट घर फकिर्ने नेपाली संक्रमित भएमा उनीहरूलाई राख्नका लागि निर्माण भइरहेको स्तरीय होल्डिङ सेन्टर हो । यतिबेला यहाँ होल्डिङ सेन्टर निर्माणको कामले सहर बजारको जस्तै चहलपहल ल्याएको छ । संघीय सरकारको लगानीमा नेपाली सेनाले संरचना निर्माण गर्न लागेको हो ।
‘भारतबाट संक्रमित भई आएमा उपचार गरेर घरतर्फ पठाउने गरी होल्डिङ सेन्टर निर्माण गरिन लागेको हो,’ सहायक रथी जीसीले भने, ‘दसैं/तिहारका बेला ठूलो संख्यामा नेपालीहरू घर फर्किने भएकाले त्यतिबेला संक्रमित पनि त्यति नै बढी हुन सक्ने भएकाले बढी क्षमताको र स्तरीय होल्डिङ सेन्टर बन्न लागेको हो ।’ उनका अनुसार अक्सिजन दिनुपर्ने अवस्था सम्मको संक्रमितको उपचार होल्डिङ सेन्टरबाटै प्राप्त हुनेछ ।होल्डिङ सेन्टरका लागि २२ वटा ठूला संरचना निर्माण भइरहेका छन् । जसमध्ये आधामा जस्तापाताले छाउने काम सकिएको छ । हरेक संरचनामा मेडिकल बेड, अक्सिजन पाइपलाइनको व्यवस्था हुनेछ । एक ब्लकमा ५० बेडसम्म राख्न सकिनेछ । २ वटा ब्लक स्वास्थ्यकर्मीको टोलीका लागि निर्माण भइरहेका हुन् ।
(कान्तिपुर दैनिक)
