
काठमाडौँ — ३२ श्रावण २०७८
सिन्धुपाल्चोकको मेलम्ची–इन्द्रावती तल्लो तटीय क्षेत्रमा अझै पहिरो र बाढीको जोखिम टरेको छैन । भेमाथाङ क्षेत्रमा १५ लाख टिपर बराबरको थिग्रेनी (ढुंगा, माटो, बालुवा, रूखबिरुवा) बाँकी रहेको र त्यसभन्दा माथि पनि दर्जनौं पहिरो रहेकाले वर्षा भए तल्लो तटीय क्षेत्रमा कुनै पनि बेला भेलबाढी आएर फेरि ठूलो क्षति निम्तिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । असार १ र साउन १६ मा भेमाथाङबाट बगेर आएको थिग्रेनी र भेलबाढीले मेलम्चीसम्मै क्षति गरेपछि खानी तथा भूगर्भ विभागका विज्ञ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली भेमाथाङभन्दा माथिल्लो क्षेत्रको भौगोलिक अवस्था अध्ययन गर्न गएको थियो ।
‘१५ सय मिटर लम्बाइ र ७ सय मिटर चौडाइ रहेको भेमाथाङ चौरमा अहिले पनि १० मिटर अग्लो थिग्रेनी जम्मा भएको छ,’ उनले भने, ‘त्यो क्षेत्रफलमा रहेको थिग्रेनीलाई हिसाब गर्दा १ करोड ५ लाख घनमिटर हुन जान्छ, त्यो थिग्रेनीलाई ठूलो टिपरले हिसाब गर्दा १५ लाख टिपर हुन्छ ।’ भेमाथाङमा जम्मा भएको सबै थिग्रेनीको स्रोत पेम्दाङ खोला नै हो ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार असार १ सम्म भेमाथाङको चौर खासै बगेको देखिन्न । त्यसपछि भने भेमाथाङ चौर केही भाग बगेको देखिन्छ । प्रारम्भिक अध्ययनअनुसार पेम्दाङमा १५ लाख, भेमाथाङमा १५ लाख र भेमाथाङभन्दा तलको कटान गरेको दायाँ–बायाँ किनारमा १५ लाख गरी ४५ लाख ट्रक थिग्रेनी बाँकी भएको उनले बताए । ‘असार र साउनमा गरेर १५ लाख ट्रकभन्दा बढी थिग्रेनी तल्लो तटीय क्षेत्रमा बगेको हामीले अनुमान गरेका छौं,’ उनले भने । त्यसअनुसार असारपछि त्यो क्षेत्रमा ६० ट्रक थिग्रेनी जम्मा भएको देखिन्छ ।
‘ढिलै भए पनि हामीले अध्ययन सुरु गरेका छौं,’ उनले भने, ‘बितेका १ सय ५० वर्षमा थिग्रेनी र गेग्रानले निम्त्याउने क्षति हामीले बेहोरेका थिएनौं ।’ करिब ६–७ सय वर्षअघि भने सिन्धुपाल्चोकका धेरै बस्तीहरू र पोखरालगायत सहरहरू थिग्रेनीपछि बनेका हुन् ।यो वर्षको मनसुनी वर्षासँगै हिमालय क्षेत्रमा देखा परेको विपद्ले आगामी वर्षका लागि धेरै पाठ सिकाएको पोखरेलको बुझाइ छ । ‘१ सय १२ मिमि वर्षा हुँदा पनि कुन स्तरको क्षति बेहोर्नुपर्यो भन्ने सिकाइ भएको छ,’ उनले भने, ‘आगामी दिनमा तल्लो तटीय क्षेत्रको बस्ती, विकास–निर्माण र ठूला परियोजनाका लागि चौतर्फी अध्ययन आवश्यक छ भन्ने सन्देश मिलेको छ ।’
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का इन्जिनियर तथा जलवायु परिवर्तनविज्ञ अरुणभक्त श्रेष्ठले पनि भेमाथाङमा जम्मा भएको गेग्रान र त्यसभन्दा माथिका पहिरोहरू अस्थिर रहेकाले तल्लो तटीय क्षेत्रमा अझै बाढीको जोखिम प्रबल रहेको बताए । ‘ताउते र यास सामुद्रिक आँधीका कारण मेलम्ची जलाधार क्षेत्रमा हिउँ परेको थियो,’ नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको बहसमा उनले भने, ‘त्यो सबै पग्लिएपछि बाढीपहिरो गएको देखिन्छ ।’उनले हेलम्बुमाथि रहेको ८ हजार ८ सय ७० क्युबिक मिटरको तालसमेत अहिले नदेखिएको र ७० हजार वर्गमिटर क्षेत्रमा परेको हिउँ उष्णीकरणका कारण पग्लिएको पाइएको समेत बताए । मेलम्ची बाढीबारे इसिमोड र इन्जिनियर्स एसोसिएसनले समेत अध्ययन गरेका थिए । इसिमोडको अध्ययनमा समेत सहभागी श्रेष्ठले मेलम्ची क्षेत्रमा बगेर आएको थिग्रेनी (बालुवा) लाई प्रयोग गर्ने हो भने काठमाडौंको चक्रपथको सडक एक फिट अग्लो बनाउन पुग्नेजति भएको जानकारी दिए ।
भूगर्भविद् रञ्जन दाहालले विगतमा हिउँ पर्ने क्षेत्रहरूमा वर्षा भएपछि त्यसले कस्तो खालको विपद् निम्त्याउँदो रहेछ भन्ने सन्देश यसपटक प्राप्त भएको तर्क गरे । ‘तापक्रम पनि बढेको छ, त्यसपछि हिउँले ढाकेको क्षेत्र पनि परिवर्तन भएको छ,’ प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यसपटकको विपद् टर्यो भनेर ढुक्क हुने अवस्था छैन, हेलम्बु र मुलुकका अन्य भागमा यस्ता किसिमका विपद्सँग कसरी जुध्ने भनेर अहिलेदेखि नै सोच्नुपर्ने भएको छ ।’जलवायु परिवर्तन क्षेत्रका विज्ञ अजय दीक्षित नेपालको हिमाली क्षेत्र (भूतल) ले ‘आरीघोप्टे वर्षा’ थेग्न सक्दो रहेनछ भन्ने पुष्टि यो वर्षको मनसुनी वर्षाले गरेको उल्लेख गर्छन् ।
(कान्तिपुर दैनिक)
