
काठमाडौँ — २० श्रावण २०७८
काठमाडौँ , सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । यसका लागि प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् । हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । ऊर्जामन्त्री भुसालले प्रधानमन्त्रीलाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै ब्रिफिङ गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्रीले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका थिए । भुसालले शाक्यलाई बालुवाटारमै बोलाएर राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन् । ‘प्रधानमन्त्रीकै सामुन्ने ऊर्जामन्त्रीले शाक्यलाई राजीनामा दिएर सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘राजीनामा दिएर शाक्यलाई पुनः एनईए इन्जिनियरिङको प्रमुखका रूपमा काम गर्न पनि अनुरोध गर्नुभएको छ ।’ कार्यकारी निर्देशक नियुक्त हुनुअघि शाक्य प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ प्रमुखका रूपमा कार्यरत थिए ।
ऊर्जामन्त्री नियुक्त भएलगत्तै भुसालले प्राधिकरण नेतृत्वको आलोचना गरेकी थिइन् । साउन १० मा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा उनले विद्युत् चुहावट बढेको भन्दै प्राधिकरण व्यवस्थापनमाथि आरोप लगाएकी थिइन् । प्राधिकरणले गत आर्थिक वर्षमा चुहावटलाई १४.५ प्रतिशतमा झार्ने लक्ष्य लिए पनि चुहावट १७ प्रतिशत पुगेको हुन सक्ने भन्दै उनले असन्तुष्टि जनाएकी थिइन् ।प्राधिकरणको मुनाफा ५ अर्बमा सीमित हुने गत आर्थिक वर्षमा आकलन गरिएको थियो । त्यसअघिको आर्थिक वर्षमा करिब ११ अर्ब नाफा गर्दै प्राधिकरण सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा गर्ने निकाय बनेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा चार वर्ष काम गरेर घिसिङ गत भदौमा सेवानिवृत्त भएका थिए । प्राधिकरणमा रहँदा उनले लोडसेडिङको अन्त्य र चुहावट नियन्त्रणमा उल्लेख्य काम गरेका थिए । घिसिङलाई तत्कालीन सरकारले नदोहोर्याएपछि उक्त पद राजनीतिक बनेको थियो । लोडसेडिङ अन्त्यको जस पाएका घिसिङलाई कार्यकारी निर्देशक पदमा दोहोर्याउनुपर्ने चर्को दबाबबीच पनि सरकारले उनलाई दोहोर्याएन ।
