Fast Nepal News

कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउने तयारी

banner single news

काठमाडौँ — २० श्रावण  २०७८

काठमाडौँ , सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । यसका लागि प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् । हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । ऊर्जामन्त्री भुसालले प्रधानमन्त्रीलाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै ब्रिफिङ गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्रीले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका थिए । भुसालले शाक्यलाई बालुवाटारमै बोलाएर राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन् । ‘प्रधानमन्त्रीकै सामुन्ने ऊर्जामन्त्रीले शाक्यलाई राजीनामा दिएर सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘राजीनामा दिएर शाक्यलाई पुनः एनईए इन्जिनियरिङको प्रमुखका रूपमा काम गर्न पनि अनुरोध गर्नुभएको छ ।’ कार्यकारी निर्देशक नियुक्त हुनुअघि शाक्य प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ प्रमुखका रूपमा कार्यरत थिए ।

ऊर्जामन्त्री नियुक्त भएलगत्तै भुसालले प्राधिकरण नेतृत्वको आलोचना गरेकी थिइन् । साउन १० मा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा उनले विद्युत् चुहावट बढेको भन्दै प्राधिकरण व्यवस्थापनमाथि आरोप लगाएकी थिइन् । प्राधिकरणले गत आर्थिक वर्षमा चुहावटलाई १४.५ प्रतिशतमा झार्ने लक्ष्य लिए पनि चुहावट १७ प्रतिशत पुगेको हुन सक्ने भन्दै उनले असन्तुष्टि जनाएकी थिइन् ।प्राधिकरणको मुनाफा ५ अर्बमा सीमित हुने गत आर्थिक वर्षमा आकलन गरिएको थियो । त्यसअघिको आर्थिक वर्षमा करिब ११ अर्ब नाफा गर्दै प्राधिकरण सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा गर्ने निकाय बनेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा चार वर्ष काम गरेर घिसिङ गत भदौमा सेवानिवृत्त भएका थिए । प्राधिकरणमा रहँदा उनले लोडसेडिङको अन्त्य र चुहावट नियन्त्रणमा उल्लेख्य काम गरेका थिए । घिसिङलाई तत्कालीन सरकारले नदोहोर्‍याएपछि उक्त पद राजनीतिक बनेको थियो । लोडसेडिङ अन्त्यको जस पाएका घिसिङलाई कार्यकारी निर्देशक पदमा दोहोर्‍याउनुपर्ने चर्को दबाबबीच पनि सरकारले उनलाई दोहोर्‍याएन ।

Inside Article Ads
घिसिङलाई ६० मेगावाटको त्रिशूली थ्री ए, चमेलिया र कुलेखानी तेस्रो जस्ता समयमै निर्माण नभएर रुग्ण बनेका आयोजनालाई सम्पन्न गराउन भूमिका खेलेको जस पनि जान्छ । प्राधिकरणमा घिसिङको कार्यकाल नदोहोर्‍याएको विषयमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो भने सडकमा घिसिङ पुनर्नियुक्ति माग गर्दै प्रदर्शनसमेत भएको थियो ।घिसिङ प्राधिकरणबाट बाहिरिएलगत्तै तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका अर्थ निर्देशनालयका प्रमुख लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए । दुई महिनापछि शाक्यलाई एनईए इन्जिनियरिङबाट प्राधिकरण फिर्ता बोलाएर गत कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो । ओली सरकारले गत वर्ष माघ २६ मा शाक्यलाई चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो ।घिसिङ चारवर्षे कार्यकाल सकाएर बाहिरिएलगत्तै चुहावट बढेको, आन्तरिक उत्पादनलाई परिचालन गर्न नसक्दा आयात बढेको आरोप व्यवस्थापनलाई लाग्दै आएको छ । 
 (कान्तिपुर दैनिक)
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.