Fast Nepal News

मानवीय क्षति रोक्न मकुना हात्तीलाई निरन्तर निगरानी

banner single news

कोसी टापु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हात्तीबाट मानवीय क्षति हुन नदिनका लागि निरन्तर निगरानी गर्ने गरिएको छ। मकुना हात्तीले मानवीय क्षती गर्ने क्रम नरोकिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएको डाक्टर अमीर सडौला, तीर्थ लामा र अशोक रामको टोलीले दस दिनदेखि उपायको खोजी थालेको थियो। जसमा अहिले हात्तीलाई निरन्तर निगरानी गर्ने गरिएको छ। हात्ती नियन्त्रणकै लागि आरक्षमा हात्तीको विषयमा विद्यावारिधी गरिरहेका अशोक रामलाई वार्डेनको जिम्मेवारी दिएर मन्त्रालयले पठाएको छ।

वार्डेन रामका अनुसार हात्तीलाई औषधी दिएर शिथिल बनाउनेसँगै निरन्तर गस्ती टोलीले निगरानी गरिहेको छ। ‘डार्ट गरेर हात्तीको इनर्जी कम गर्ने औषधी दिइरहेका छौ,’ उनले भने, ‘बढी औषधी दिँदा पनि हात्तीलाई समस्या हुन सक्छ।’ पछिल्लो समय मकुना हात्तीको आक्रमणबाट मंसिर २९ गते र पुस १३ गते राति दुई जनाको मृत्यु भएको छ। कोसी टपु तथा आसपासका क्षेत्रमा श्रृखलाबद्ध रूपमा मकुनाको आक्रमणबाट मर्नेको संख्या बढ्दै गएको छ। कोसी टपु आरक्ष र आसपासका क्षेत्रमा १६ वटाको संख्यामा हात्ती रहेकोमा सबैभन्दा बढी मानवीय क्षती मकुनाकै कारण हुने गरेको छ।

हात्ती मकै, धान, उखु र आँपलगायतमा लोभिएर गाउँ प्रवेश गर्दा मानवीय क्षती हुने गरेको हो। कोसी टपु क्षेत्रमा रैथाने रूपमा सुरुवातमा ११ वटा हात्ती थिए। पछि तिनै हातीले छावा बच्चा जन्माएर १४ वटा पुगेका थिए। अघिल्लो वर्ष तीनवटा छावा जन्माएपछि अहिले १७ वटा पुगेका थिए। मंसिर ६ गते बिजुलीको तारले जेलिएर सप्तरी कञ्चनरूप नगरपालिका क्षेत्रमा बुढो दाह्रे हातीको मृत्यु भएपछि १६ मा झरेका हुन्।

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ। कोसी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। तर कतिपय स्थानमा हात्तीले विद्युतीय घेराबेरा भत्काउने गरेको छ। रुखको हागा डालेर लत्राएर घेराबेरा भत्काउने गरेको छ। जसले गर्दा सहजै वस्तीमा प्रवेश गर्छन्।

Inside Article Ads

नेपालमा कुल २ सयदेखि २ सय २५ वटा जंगली हात्ती छन्। कोसी टपुमा १६ वटा हात्ती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १ सय ३० देखि १ सय ५० वटासम्म आउने गरेका छन्। आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घरपरिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्। २०४६ सालको परिवर्तनपछि बनेका हरेक सरकार र निर्वाचनताका प्रमुख मुद्दा बन्दै आएको हात्तीपीडितको पीडामा मल्हम लगाउन कसैले सार्थक प्रयास गरेको छैन्।

नागरिक दैनिक

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.