
२६ असार,काठमाडौँ– मिस नेवाः नेपाल ११४३ को औपचारिक थालनी गरिएको छ । लाखबत्ती बालेर पूजा-आजा गर्दै विश्व शान्ति र सुख–समृद्धिको कामना गर्दै यो प्रतियोगिताको १७ औं संस्करणको थालनी गरिएको हो ।
नेप्लीज फेशन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको नेवार समुदायका युवतीहरुबीचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपालका प्रतियोगीहरुले इन्द्रचोकस्थित आकाश भैरवमा लाखबत्ती बालेर पूजाआजा गर्दै प्रतियोगिताको थालनी गरेका हुन् ।
मिस नेवाः नेपालमा यो वर्ष विभिन्न जिल्लाबाट १७ जना नेवार युवतीले सहभागिता जनाएका छन् ।
आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकभन्दा अघिदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको बताएकी छिन् ।
नेवार भाषा, कला, संस्कृति र संस्कारको जगेर्ना तथा नेवार भाषा, कला, संस्कृति , व्यक्तित्व र नेतृत्व विकास, पाक कलाबारे ज्ञान दिलाउन यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको मानन्धरको भनाइ छ ।
प्रतियोगिताका सहभागिहरुलाई विभिन्न सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने पनि मानन्धरले जानकारी गराइन् ।
नयाँ संस्करणको मिस नेवाः नेपालको आरम्भका अवसरमा मिस नेवाः नेपाल र मिस लिटिल नेवाःका विजयी तथा प्रतियोगीहरुले पब्लिक केयर सेन्टर पिस नेपाल, महालक्ष्मीस्थान र विवेक स्वच्छ सेवा केन्द्र, अनामनगरमा खाद्यान्न तथा शैक्षिक सामाग्री पनि प्रदान गरेका छन् ।
मिस नेवाः नेपालका प्रतियोगिताको विजेताले चम्किलो ताजका साथ पुरस्कारका स्वरूप एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छिन् भने विभिन्न शीर्षक उपाधि पनि प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
