Fast Nepal News

अन्तराष्ट्रिय महिला दिवसको अबसरमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश व्यक्त

banner single news

२४ फागुन, काठमाडौँ-अन्तराष्ट्रिय महिला दिवसको अबसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ।अन्तराष्ट्रिय महिला दिवसको अबसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश पढ्नुहोस्।

शुभकामना सन्देश
मुक्ति, समानता र स्वतन्त्रताको आकांक्षासहित सुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्व रहिआएको छ । लोकतन्त्र प्राप्तिको आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलन लगायतका गौरवपूर्ण संघर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण संघर्षको जगमा नै हामीले संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौँ । यो गौरवपूर्ण संघर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीहरूका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ ।
जनताको वीरतापूर्ण संघर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको छ । नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ । हाम्रो संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन, संघीय र प्रादेशिक संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने व्यवस्था गरेको छ । साथै सम्पत्ति, कानुनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको छ । लैगिंक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य हामीले स्मरण गर्नैपर्दछ ।
राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ । महिलाहरूको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्वपूर्ण हुन्छ । महिलाविरूद्धको संरचनागत हिंसाको अन्त्य गर्दै उत्पादनका साधन र प्रक्रियामाथि महिलाको स्वामित्व कायम गर्न, महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न हाम्रा प्रयासहरू घनिभूत हुन जरूरी छ । यिनै प्रयासहरूले दीगो विकास लक्ष्य हासिल गर्दै हामीले खोजेको लैंगिक समानताको अवस्थामा पुग्न सक्नेछौँ ।
Inside Article Ads
अन्त्यमा आजको दिनले महिला दिदीबहिनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।
२४ फागुन २०७९
पुष्पकमल दाहाल “प्रचण्ड”
Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.