
२ बैशाख,काठमाडौँ-हजारभन्दा धेरै विद्यार्थी भएका सामुदायिक र संस्थागत (निजी) माध्यमिक विद्यालयमा एक नर्स अनिवार्य गर्ने सरकारी नीति ६ वर्षसम्म अलपत्र परेको छ । सामुदायिक विद्यालयमै पूर्ण कार्यान्वयन भएको छैन भने निजी विद्यालयले कार्यक्रमप्रति नै असन्तुष्टि जनाउँदै आफूखुसी निर्णय गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले ०७४ जेठमा शिक्षा मन्त्रालय, प्याब्सन र एन प्याब्सनलगायत सरोकारवाला निकायसँग समन्वय गरेर कार्यक्रम लागू गरेको थियो । तर, उपत्यकामै कार्यक्रम पूर्ण कार्यान्वयन हुन सकेको छैन । घरबाहेक बालबालिका बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरूलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा लागू गरिएको थियो । स्थानीय तहले सामुदायिक विद्यालयमै यो नीति कार्यान्वयन गरेका छैनन् । संस्थागत विद्यालयले त कार्यक्रमप्रति नै असन्तुष्टि जनाउँदै आएका छन् । संस्थागत विद्यालयको छाता संगठन प्याब्सनले विद्यालयमा नर्स राख्नुपर्ने व्यवस्था अनिवार्य गर्न नमिल्ने बताउँदै आएको छ ।
उपत्यकाकै अधिकांश संस्थागत विद्यालयमा नर्स राखिएका छैनन् । संस्थागत विद्यालयमा नर्स राख्ने जिम्मेवारी आफ्नो नभएको पालिकाहरू बताउँछन् । सामुदायिक विद्यालयमै कार्यक्रम अलपत्र रहेको अवस्थामा निजीमा अनिवार्य नर्स राख्न अहिले सम्भव नभएको बताउँछन्, काठमाडौं महानगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदी ।
‘अहिले काठमाडौं महानगरभित्र रहेका आठ सामुदायिक विद्यालयमा मात्रै नर्स छन् । नयाँ शैक्षिक सत्रमा पनि नर्स थप्ने–नथप्ने टुंगो छैन,’ उनले भने, ‘निजीमा नर्स अनिवार्य गर्ने त परको कुरा । निजीले आफैँ व्यवस्था गर्नुपर्ने भएकाले हामीले हेर्दैनौँ ।’
महानगरका प्रवक्ता नवीन मानन्धर विद्यालय नर्स कार्यक्रमका लागि कार्यविधि नै नबनेकाले निजी क्षेत्रलाई समेट्न नसकेको बताउँछन् । ‘नियमावली बनाएर नर्सलाई कर्मचारीको रूपमा राख्ने वा करारमा राख्ने भन्ने टुंगो नलाग्दा कार्यक्रम सञ्चालनमा ल्याउन नसकिएको हो । नयाँ शैक्षिक सत्रदेखि हरेक विद्यालयमा नर्स कार्यक्रम समावेश गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।
ललितपुर महानगरमा पनि दुई सय ३७ संस्थागत विद्यालय रहेकामा केही ठूलाले मात्रै नर्स राखेको महानगरको शिक्षा शाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए । त्यसो त यहाँ पनि सामुदायिक विद्यालयले नै कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । ‘एक विद्यालय एक नर्स’ कार्यक्रममा समेटिने ४० सामुदायिक विद्यालयमध्ये सातवटाले मात्रै नर्स व्यवस्थापन गरेको क्षेत्रीले बताए ।
त्यस्तै, बुढानीलकण्ठ नगरपालिकामा रहेका १९ सामुदायिकमध्ये १० माध्यमिक विद्यालय रहेको र जसमध्ये पनि पाँचवटामा मात्रै नर्स रहेको प्रवक्ता केदारकुमार खड्काले बताए । उनका अनुसार एक सय ४३ संस्थागत विद्यालयमध्ये ७६ मा नर्स कार्यक्रम लागू भएको छ । यसबाहेक गोकर्णेश्वर नगरपालिका र भक्तपुर नगरपालिकाले समेत सामुदायिक विद्यालयमै कार्यक्रम पूर्ण लागू गर्न सकेका छैनन् ।
‘जनशक्ति व्यवस्थापन राम्रो नभएका संस्थागत विद्यालयमा नर्स कार्यक्रम सञ्चालनमा ल्याउन सकिएको छैन, विशिष्टकृत श्रेणी र ए लेभलका अधिकांश विद्यालयमा भने कार्यक्रम लागू भएको छ,’ प्याब्सन अध्यक्ष डिके ढुंगानाले भने, ‘विद्यालयको संस्थागत विकासका लागि शिक्षकबाहेकको अतिरिक्त जनशक्तिबारे प्याब्सनले अध्ययन रिपोर्ट तयार गरिरहेको छ, आगामी वर्षदेखि नर्स कार्यक्रम पूर्णतः लागू गर्ने प्रयास हुँदै छ ।’
समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।
