Fast Nepal News

विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री

banner single news

२० चैत,काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

सुन्दरहरैँचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै पियू कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्यालाई चाँडै हल गरेर स्थानीयस्तरमा मेडिकल कलेज पढ्न पाउने व्यवस्था गरिने विश्वास दिलाउनुभयो । विश्वविद्यालयले सैद्धान्तिक ज्ञान मात्र नभई जीवन उपयोगी र व्यावहारिक ज्ञानमा जोड दिनुपर्ने धारणा राख्दै उहाँले विज्ञान प्रविधिको युगमा सैद्धान्तिक सिकाइले ज्ञान आर्जन भए पनि दैनिक जीवनमा उपयोग कम हुँदै गएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले २१औँ शताब्दीमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर वैकल्पिक स्रोत र साधनको खोजी गरी विश्वविद्यालयलाई समुदाय स्तरमा लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक मूल्य मान्यता र लोककल्याणकारी संस्कारका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

“विश्वविद्यालयले अहिलेको प्रतिस्पर्दामा गुणस्तरीय तथा रोजगारमूलक शिक्षामा जोड दिन आवश्यक छ ।” प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वविद्यालयको हित र उन्नतिको लागि नेपाल सरकारबाट सधैँ साथ सहयोग रहने छ ।” प्रधानमन्त्री दाहालले पियूको दिक्षान्त समारोहमा आफू दोस्रो पटक सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

शिक्षाविद् तथा काठमाडौँै विश्वविद्यालय, धुलिखेलका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्माले दीक्षान्त अभिभाषण प्रस्तुत गर्नुभएको थियो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयलाई सरकारले उपलब्ध गराएको बिघा जमिन के, कसरी बहुउपयोग गर्ने भन्नेबारे स्पष्ट खाका कोर्न जरुरी देखिएको बताउनुभयो । प्रा.डा. शर्माले पियूले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर युवालाई रोजगारजन्य सीप प्रदान गर्न विशेष गरी जुट उद्योग, कपास उत्पादनलगायत क्षेत्रमा अनुसन्धानका कार्यक्रमको थालनी गर्नु आवश्यक छ भन्नुभयो ।

Inside Article Ads

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा पियूका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले निकट भविष्यमा विश्वविद्यालयले एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो । उहाँले ‘पूर्वाञ्चल विश्वालय अब समुदायमा’ भन्ने नाराका साथ स्थानीय सरकारद्वारा सञ्चालित केही सामुदायिक शैक्षिक संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिई विश्वविद्यालयलाई स्थानीयस्तरमा विस्तार गर्दै लैजाने योजना कार्यान्वयनका लागि आवश्यक नीतिगत व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

दीक्षान्त समारोहमा कला सङ्कायमा स्नातकतर्फ ९२, स्नातकोत्तर तर्फ ४३ जनालाई दीक्षान्त उपाधि प्रदान गरिएको छ । साथै कानुन सङ्कायतर्फ स्नातकतर्फ एक सय ९९, स्नातकोत्तर एक सय सात, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकतह तीन सय ५४ र स्नातकोत्तरतर्फ एक सय ४८, व्यवस्थापन संकायमा स्नातक तहतर्फ एक हजार दुई सय ४२, स्नातकोत्तरतर्फ छ सय १४ र एम फिलतर्फ छ जनालाई उपाधि प्रदान गरियो ।

विज्ञान तथा प्रविधि सङ्कायका स्नातकतर्फ एक हजार दुई सय ६१, स्नाकोत्तरतर्फ एक सय २३ जनालाई दीक्षित गरियो । साथै चिकित्साशास्त्र स्नातकतर्फ दुई हजार तीन सय १४, स्नातकोत्तर तहमा १० जना गरी जम्मा छ हजार हजार पाँच सय १३ जनालाई उपाधि प्रदान गरिएको छ ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.