
प्रकाश कपाली। विगत लामो समयदेखि बाल केन्द्रले स-साना बालबालिकाहरूको शैक्षिक स्तर उकास्न र निम्न वर्गीय परिवारका शिक्षाको अन्धकारमा रहेका बालबालिकालाई शिक्षाको उज्यालो ज्योति प्रदान गरेर कैयौं बालबालिकाको भविष्य लाई उज्जवल गन्तव्यतर्फ डोर्याएको छ।
बालबालिका नै भविष्यका कर्णधार हुन् भने बाल अधिकार संरक्षण र हकहितको प्रवर्द्धनमा बाल केन्द्र प्रतिबद्ध रहेको छ। स-साना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने बाल केन्द्रको स्थापना सन् १९९१ अगस्ट महिनामा भएको हो। बाल केन्द्र आफैमा गैरनाफामुखी संस्था पनि हो। निम्नवर्गका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले बाल केन्द्रको स्थापित भएको बाल केन्द्रका शिक्षक एवं कार्यालय सहयोगी विलमान शाक्यले बताउनुभयो। बाल केन्द्र स्थापित हुँदा सुरुवाती चरणमा सडक बालबालिकाको हक हितमा काम गरेको पनि शाक्यले बताउनुभयो। कैयौ स-साना विद्यार्थीहरुलाई उज्जवल भविष्यको मार्गमा डोर्याउन बाल केन्द्र सफल भएको छ। बाल केन्द्रबाट शिक्षा आर्जन गरेर गएका स-साना बालबालिकाहरु करिब १८०० पुगेको बालकेन्द्र केन्द्रका शिक्षक एवं कार्यालय सहयोगी बिलमान शाक्यले बताउनुभयो । बाल केन्द्र कयौँ निम्नवर्गीय परिवारको पनि सारथी बन्न पुगेको छ। आर्थिक अवस्था कमजोर भएर शिक्षाको अवसरबाट बञ्चित भएका बालबालिकालाई छात्रवृत्ति दिएर समेत बालबालिकालाई अध्ययनमा ठुलो सहयोग पुर्याएको छ। जसका कारण धेरै निम्नवर्गीय बालबालिकाहरु शिक्षाको अवसरबाट वञ्चित नभएको बाल केन्द्र संस्थाको भनाई छ। स-साना बालबालिकाहरुलाई मन्टेश्वरी विधिबाट पठनपाठन सञ्चालन गर्नुका साथै निम्नवर्गीय परिवारका महिला बालिकालाई विशेष प्राथमिकता दिई छात्रवृत्ति प्रदान गरी अध्ययनमा आर्थिक सहयोग गर्ने काम बाल केन्द्र संस्थाले निरन्तर रुपमा गरिरहेको बाल केन्द्र संस्थाको पदाधिकारीहरूको भनाई छ। सन् १९९४ UNICEF (HIO) द्वारा बालबालिकाको शिक्षाको लागि हातेमालो र उच्चस्तरीय शिक्षा प्रदान सहयोग कार्यक्रममा आधारित रही बाल केन्द्रले निम्नवर्गीय परिवारका महिला बालिकालाई गुणस्तरी शिक्षा प्रदान गर्न आर्थिक सहयोग गरेको छ। त्यसको साथसाथै मानवअधिकार, महिला सशक्तिकरण, जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै बालबालिकालाई समाजप्रति उत्तरदायी बनाउन र समाजका हरेक परिस्थितिसँग सामना गर्ने व्यवहारिक ज्ञान समेत पनि बाल केन्द्रले प्रदान गरेको छ। बाल केन्द्र स्थापना भएको २७ वर्षको अन्तरालमा १,८०० पुरुष महिला विद्यार्थी बाल केन्द्रले प्रदान गरेको मन्टेश्वरी शिक्षा प्राप्त गरी यसबाट लाभान्वित भएका छन्। मन्टेश्वरी विधिको शिक्षा पठनपाठन गराउने यस विद्यालय(संस्थाले) प्रत्येक दिन पढ्न आउने विद्यार्थीलाई दिवा खाजाको समेत व्यवस्था गरेको छ। यसैगरी निम्नवर्गीय परिवारका महिला बालिकालाई कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्नका लागि आर्थिक सहयोग समेत गरेको बाल केन्द्र संस्थाका पदाधिकारीहरुको भनाई छ। विगतका समयहरुमा विशेषगरी सानोमा शिक्षाको अवसरबाट बञ्चित भएका महिलाहरूलाई प्रौढ शिक्षा कक्षा सञ्चालन गरी महिलाहरूको शैक्षिक कौतुहलता पूरा गर्नसमेत यस संस्था सफल भएको बाल केन्द्रका प्रदाधिकारीहरूको भनाई छ। निम्नवर्गीय व्यक्तिहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग गरेको यस संस्थाले स्वास्थ्यमा पनि उपचारका लागि निम्नवर्गीय परिवारको व्यक्तिहरुलाई सहयोग गरेको छ।सन् १९९१ मा स्थापित यस संस्थाले साढे दुई दशक पार गर्दा समाज र राष्ट्रको हकहितमा काम गरेको छ। संविधानमा प्रदत्त नागरिकको हकअधिकार सुनिश्चित गर्न संस्थाहरूको महत्वपूर्ण भूमिका हुन्छ भन्ने तथ्यलाई प्रमाणित गर्दै बाल केन्द्र एक उदाहरणीय संस्थाको रूपमा नेपाली समाजमा स्थापित भएको छ। आगामी दिनहरुमा बाल केन्द्र संस्थाले मानव हक अधिकारको रक्षा गर्दै निम्नवर्गीय परिवारहरूको चोटमा मलमपट्टी लगाउने काममा अझ अग्रसर भएर अघि बढ्ने विषयतर्फ बाल केन्द्रका प्रदाधिकारीहरूले ध्यान दिई अझ बाल केन्द्रलाई उदाहरणीय र सामाजिक पहिचानको संस्थाको रुपमा स्थापित गर्ने विषयतर्फ अग्रसर हुनु अति नै आवश्यक देखिन्छ।
