Fast Nepal News

सामुदायिक विद्यालयमा छात्रवृत्तिकाे लागि १० लाखको अक्षयकोष स्थापना

banner single news

का.म.पा.-७, कुमारीगालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक दृष्टिले कमजोर, पिछडिएका तथा जेहेन्दार बालबालिकाहरुलाई प्रोत्साहन, पुरस्कार एवं छात्रवृत्तिकाे माध्यमबाट विद्यालय शिक्षा र शैक्षिक क्रियाकलापमा टेवा दिई उनीहरूको भविष्य उज्ज्वल बनाउन मद्दत गर्ने हेतुले कुमारीगाल निवासी समाजसेवीद्वय शिवराम अर्याल तथा उनकी बहिनी निर्मला दाहाल अर्यालबाट रु १० लाखको अक्षयकाेष स्थापना भएको छ ।

सादा जीवन र उच्च विचारका अनुयायी आफ्ना स्वर्गीय मातापिता बद्रीप्रसाद अर्याल तथा चनकुमारी अर्यालको सम्मानमा, ‘शिक्षा सेवानै राष्ट्रसेवा हो र परोपकार नै जीवनको सार हो’ भन्ने आदर्शबाट अभिप्रेरित भई स्थापित “बद्रीप्रसाद चनकुमारी अर्याल स्मृति अक्षयकोष” नामक दशलाख रुपैयाँको उक्त काेषकाे रकम चावहिल स्थित कृषि विकास बैंकमा मुद्दती खाता खाेली जम्मा गरिएको छ । साे काेषकाे मूलधनकाे ब्याजबाट प्रत्येक बर्ष उक्त विद्यालयका एसईई उत्तीर्ण विपन्न एवं जेहेन्दार एक छात्र तथा एक छात्रालाई कक्षा ११ र १२ मा अध्ययन गर्न मासिक छात्रवृत्ति तथा विद्यालयमा अध्ययनरत प्राथमिकतामा परेका अन्य विद्यार्थीलाई विद्यालयकाे सिफारिसमा अावश्यकता अनुसार आर्थिक सहयोग उपलब्ध गराईनेछ ।

कोष सञ्चालनका लागि शिवराम अर्यालको अध्यक्षतामा, निर्मला दाहाल अर्याल उपाध्यक्ष, मुरारीराज मिश्र र अनिरुद्र अर्याल सदस्य तथा श्रम राष्ट्रिय मा.वि. का प्रधानाध्यापक नारायणप्रसाद नेपाल सदस्यसचिव रहनुभएको ५ सदस्यीय सञ्चालक समितिकाे गठन भएको छ । काेषकाे कार्यविधि विद्यालय व्यवस्थापन समितिबाट अनुमाेदन भई काेष संस्थापन र विद्यालयका बिच द्विपक्षीय सम्झाैता भईसकेको छ । काेषकाे बैंक खाताकाे सञ्चालन काेषका अध्यक्ष र विद्यालयका प्रधानाध्यापककाे संयुक्त दस्तखतबाट हुनेछ ।

Inside Article Ads

श्रावण २० गते दिउसो विद्यालयमा आयाेजित काेष हस्तान्तरण कार्यक्रममा बाेल्नुहुँदै प्रमुख अतिथि एवं कामपा वडा नं. ७ का वडाध्यक्ष शुद्ध डंगोलले ‘शिक्षा दान सबैभन्दा ठूलाे दान भएकाे र कमजोर आर्थिक अवस्थामा रहेका बालबालिकालाई शिक्षा आर्जनमा टेवा दिने पुनित उद्देश्यले गरिएको यस्ताे कार्य अत्यन्तै सह्राहनीय भएकाे उल्लेख गर्नुभयो भने श्रम राष्ट्रिय मा.वि.का व्यवस्थापन समिति अध्यक्ष एवं स्थानीय समाजसेवी प्रवेश लामिछानेले ‘अर्याल परिवारकाे यस उदाहरणीय कार्यबाट समाजका अन्य ब्यक्तिहरुमा पनि सामुदायिक विद्यालयका विद्यार्थीका लागि केही गराैं भन्ने प्रेरणा प्रदान गर्ने’ कुरा बताउनु भयाे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद नेपालले याे काेष यस क्षेत्रकाे सामुदायिक विद्यालयमा निजी तवरबाट स्थापित संभवत सबैभन्दा ठूलाे अक्षयकोष भएको उल्लेख गर्नुहुँदै विद्यालयले यस कोषकाे पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे । कार्यक्रमका सभापति एवं काेषका अध्यक्ष शिवराम अर्यालले यस कोषकाे मूलधनमा पछि आवश्यकता अनुसार रकम थप गर्दै जान सकिने कुरा बताउनु हुँदै यस कार्यमा सहयोग गर्ने सबैमा आभार प्रकट गर्नुभएको थियाे ।

Visited 70 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.