
प्रिय गणतन्त्र,
धेरै सम्झना………..
आजसम्म सम्झिरहेकी छु । कहाँ बिर्सिन सक्छु र ! मेरो सम्पूर्ण जीवनका खुसीहरू तिमीमा अर्पण गरेकी थिएँ । मलाई त तिम्रो सबै खबर थाहा छ । आज तिम्रो जन्मदिनमा मेरो खबर सुनाउन म उपस्थित भएकी हुँ । त्यो दिन अहिलेसम्म मानसपटलमा सुरक्षित छ, जुन दिन श्रीमान् घर छोडेर हिँडेका थिए । धेरै वर्ष अगाडिको कुरा हो । म सुत्केरी थिएँ । उनी सुत्केरी श्रीमतीलाई मासु खुवाउँछु भनेर लिन गएका थिए । फर्केर अहिलेसम्म आएका छैनन् । तिमी आयौ तर तिमीलाई ल्याउन हर प्रयास गर्ने मेरा उनी फर्केर कहिल्यै आएनन् । छोरो पाँच वर्षको थियो । छोरी डेढ महिनाकी थिइन् । श्रीमान् आउँछन् अनि खाउँला भनेर धेरै रात कटाएँ अनि धेरै वर्ष कटाएँ तर अह ! उनी कहिल्यै फर्केर आएनन् । गणतन्त्र नेपालको सपना उनको थियो । गणतन्त्र नेपालमा छोराछोरीको भविष्य बुन्ने सपना मेरो थियो । न उनको सपना पूरा भयो, न त मेरो नै । म दुधे छोरी काखमा, छोरो काँधमा अनि श्रीमानको फोटो हातमा लिएर श्रीमान् खोज्न निस्किएकी थिएँ । गल्ली-गल्ली, गाउँ -गाउँ अनि सहर- सहर सबै खोजेँ । पुलिस प्रशासन सबैसँग हारगुहार गरेँ । कसैको कानसम्म मेरो चिच्याहट पुगेन । खान नपाएर कति रात पेट थिचेर सुतेँ । छोरा छोरी जतिबेला पनि खान मागिरहन्थे । जहाँ पुग्यो त्यही मागेर खान दिन्थेँ । नपाए भोकै राख्थेँ । शरीरमा लुगाको नाम मात्र थियो । लुगाले पनि आफ्नै झ्यालबाट मलाई गिज्याइरहन्थ्यो । मेरा आफन्तहरु मैले अर्को विवाह गर्न श्रीमान् लखेटेको लाञ्छना लगाइरहन्थे । यिनै लाञ्छना, दुःख, पीडा, अभाव र सङ्घर्षका बीच मेरा धेरै वर्ष गुज्रिए । मर्न पनि सकिएन । कलिला अनुहार आँखामा आइरहन्थे अनि मार्न पनि सकिएन उनीहरुको भविष्य मैले श्रीमानको सपनामा बुनेकी थिएँ ।
मैले सहर बस्ने निर्णय गरेँ । उनी हराएको गाउँ म फर्किन सकिनँ । सहरमा छोराछोरीको सपना साँचेर बस्न थालेँ । दुःख सुख बस्ने व्यवस्था गरेँ । घरघरमा भाँडा माज्ने, लुगा धुने काम गर्न थालेँ । छोराछोरीलाई स्कुल पठाउने व्यवस्था गरेँ । हामी तीनजनाको परिवार जसो तसो चलिरहेको थियो । दुःख बुझेर होला छोराछोरी ज्ञानी थिए । पढाइ पनि राम्रै थियो । उनीहरु बाबाको कुरा गरिरहन्थेँ । मैले सम्झाइरहन्थेँ । समय बित्दै गयो । दुःख टर्दै गयो तर सम्झना कहिल्यै टरेन । छोरो ठुलो भयो । अभावका कारण पढाइ पूरा गर्न सकेन । आफूसँग भएको योग्यताअनुसार जागिर पाउन सकेन । अन्ततः सबै युवा जस्तै ऊ पनि धन कमाउन विदेशतिर लाग्यो । जुन दिन छोरो विदेशतिर उड्यो, त्यो दिनदेखि मेरो सर्वस्व उड्यो । सबै छोराहरूमा मेरो छोराको अनुहार देख्थेँ । केही समय धेरै गाह्रो भयो । समयसँगै पीडाका घाउमा खाटा लाग्न थाल्यो । छोराको राम्रो खबरले म खुसी थिएँ । साँच्चै दिन फर्किए झैँ लाग्न थालेको थियो ।
समयको खेल बुझि नसक्नु हुने रहेछ । “पैसा कमाएर नेपाल फर्किन्छु , आफ्नै व्यवसाय गर्छु र बुवाको खोजीमा लाग्छु” भन्थ्यो तर खाडी मुलुकमै अस्तायो । के ? अनि कसरी ? थाहा छैन । विदेशमा छोरो अस्तायो अनि स्वदेशमा बाबु अस्ताए । मेरो चेत कसरी काम गर्दै थियो मलाई नै थाहा थिएन । मेरो पर्खाईको समय कसरी बित्यो थाहा छैन । जुन दिन खबर थाहा पाएँ, त्यही दिनदेखि अर्धचेत भएँ । लास आउन महिनौ लाग्यो । सबैतिर सहयोगको अपिल गरेँ । छोरालाई रातो बाकसमा देख्दा संसार अँध्यारो भयो । जहाजले जिउँदै लगेको थियो तर मरेपछि फर्काइदियो । जुन दिन मैले छोरालाई रातो बाकसमा देखे , त्यो दिनदेखि मैले रातो रङको मोह नै त्यागिदिएँ । देख्दा बोल्छ जस्तै थियो तर क्षणभरमै उसको बढेमानको शरीर आगोले सर्लक्कै निल्यो । त्यही आगोमा होमिन मन थियो । छोरी थिइन्, होमिन सकिनँ । हेर्दा आँखा देखिनँ, टेक्दा भुइँ भेटिनँ, समाउन खोज्दा कुनै हाँगो भेटिनँ तर पनि जीवन त्याग्न सकिनँ । मलामी पनि कमाउनुपर्ने रहेछ । जीवन धान्न धौ धौ परेकी म कसरी मलामी कमाउनु र । दुई चार जनाको बीचमा छोराको अन्त्यष्टि सकियो।
हामी आमा छोरी पुनः बासस्थान फर्कियौं । हामी दुवै जनासँग सम्झनाबाहेक केही थिएनन् । हामी एक अर्काका सहारा थियौं । अँगालो मारेर घन्टौंसम्म आँसु बहाउँथ्यौँ । लाग्थ्यो कुनै जन्ममा दैवको ऋण खाएको रहेछ। जसको बदला यो जन्ममा उनले लिइरहेका छन् । जति गाह्रो भए पनि समय हामीसँग रोकिएन तर हामी समयसँग दौडिरह्यौ। समयसँगै शोकले मेरो शरीर कमजोर हुन थाल्यो । छोरीको उमेर गुलाबी भइसकेको थियो तर उसलाई पत्तै थिएन । उनी त मेरो पीडाको भागिदार थिइन् । आफ्नो भागमा परेको पीडा सहँदा सहँदै उनले आफ्नो गुलाबी उमेर पनि बिर्सिइन् । मलाई भने उनको विवाहको पिर थियो । जे भयो….भयो….. बाँकी जिन्दगी छोरीका लागि जिउन थालेँ ।
म कमजोर भएपछि घर खर्च टार्नका लागि छोरी काम गर्न थालिन् । राम्रै कम्पनीमा काम गर्थिन् । हामी आमा छोरीको जीवनमा अर्को यात्रा सुरु भयो । मैले पनि आफूलाई सम्हाल्न थालेँ अनि छोरीले पनि ।
कामकै सिलसिलामा उनले एक प्रेमी बनाएकी रहिछिन् । विवाह गर्ने सम्मको कुरा भएछ । उनले मसँग भनिन् । म पनि खुसी भएँ । जीवनमा फेरि वसन्त आए जस्तै भयो । उनी यति खुसी थिइन्, जसको बयान गर्न शब्द नै छैनन् । उनको खुसी देखेर मैले सबै पीडा लुकाएँ । मलाई कता कता डर लागेको थियो । खुसी भइसक्दा फेरि दुःखले घाँटी निमोट्छ कि भन्ने । छोरीलाई धेरै सम्झाएँ । समय लम्ब्याउन आग्रह गरेँ । मेरो आग्रहलाई छोरीले नकार्न सकिनन् । उनले विवाह गर्ने समय पर सारिन् । त्यो समय एकअर्कालाई बुझ्ने समय थियो । मैले पनि केटाको बारेमा बुझ्न थालेँ ।
एक दिनको कुरा हो । छोरी बिहानै अफिसका लागि निस्किइन् । ढिलोसम्म फर्किइनन् । ‘‘साथीहरुसँग भेटघाट गर्ने दिन हो’’ भनेकी थिइन् । ८ बजेसम्म फर्किने पनि बताएकी थिइन् तर ९ बज्यो १० बज्यो उनी आइनन् । सुरुसुरुमा त फोन बज्दै थियो । पछिपछि फोन बज्न पनि छोड्यो । जब फोन बज्न छोड्यो, तब मेरो हंसले ठाउँ छोड्यो । प्रहरी कहाँ खबर गरेँ । चिने जानेका मान्छेलाई सोधे कहिँबाट खबर आएन । तातो घाममा पानीबिना माछो जसरी छटपटाउँछ, त्यो रातको मेरो छटपटाहट त्यस्तै थियो । मलाई अँध्यारो र उज्यालोको भेद थिएन । म छोरीलाई चिन्ने हरेक मान्छे कहाँ सोध्न गएँ । मलाई वर्षौं अघि श्रीमान् खोज्न गएको यादले सताइरहेको थियो । म शून्य थिएँ । मसँग केही शुभचिन्तक पनि थिए। फेरि फोनले घन्टी बजायो। मैले उठाएँ तर बोल्न सकिनँ । मलाई मूर्ति जसरी तिनै मान्छेले प्रहरीले बोलाए ठाउँमा लगे । मेरा आँखाअगाडि छोरीको सिङ्गो शरीर अचल भएर ढलिरहेको थियो । लुगा च्यातिएर हेरि नसक्नु थियो । च्यातिएको ठाउँमा आला घाउहरू थिए । छातीमाथि नङ्ग्राका डोबहरू थिए । बाँकी भएका कपडा पनि रक्ताम्य थिए । उनी कम्मरदेखि तल निर्वस्त्र थिइन् । म भाव शून्य भएँ । निशब्द भएँ । मैले टेकेको धरातल तेस्रो पटक फेरि भासियो । सबै अन्धकार भयो । मलाई चिच्याउन, रुन, कराउन केही आएन । बस , छोरीको शरीरमा मात्र आँखा घुमाइरहेँ । उनको प्रेमीको सिङ्गो शरीर छोरीमाथि सलबलाएको देख्न थालेँ ।
छोरीलाई पोस्टमार्टमको लागि लगियो । मुचुल्का उठाइयो । मलाई कता लगियो थाहा भएन । पोस्टमार्टमको रिपोर्ट बलात्कार नभएको आयो । मैले हारगुहार गरेँ । सम्बन्धित निकायमा धेरैपटक धाएँ । कसैले सुनेनन् । केही महिला अभियन्ता र एन.जि.ओ. का मान्छेहरु मलाई अघि सारेर आन्दोलन गर्न थाले । किटानी जाहेरी गराइयो । मलाई कुनै कुराले छुन छोड्यो । म जीवनबाट हारिसकेकी थिएँ । छोराछोरीको लास जलाएर म पुनः त्यो कोठामा फर्किन सकिनँ । मेरो दुःखमा अरुले खेती गरिरहे । मलाई त्यो खेतीमा फस्न मन लागेन । शरीर जीर्ण भयो तर यादहरू कहिले जीर्ण भएनन् । झन् झन् झाँगिदै गए । आफ्नो दुःखलाई मृत्युसँग साट्न नमिल्ने रहेछ । मैले पनि परिवार गुमाएँ तर विकल्प पाइनँ । मृत्युको विकल्प नहुँदो रहेछ ।
अबको बाँकी जीवन सचेतनामा लाग्ने योजना बनाएकी छु । मेरो योजनामा एक संस्थाले साथ दिएको छ । म त्यहीँ बस्छु । छोरीहरुलाई बलात्कारबाट बच्ने उपाय सिकाउँछु अनि छोराहरुलाई नेपालमा नै बसेर केही काम गर्ने हौसला दिन्छु । मलाई डर छ – अर्को छोराले खाडीमा ज्यान गुमाउँछ कि भन्ने । मलाई अर्को डर पनि छ – कुनै छोरी बलत्कृत हुन्छिन् कि भन्ने । मलाई अझै अर्को डर पनि छ- कुनै श्रीमान् फेरि बेपत्ता हुन्छन् कि भन्ने । त्यसैले गणतन्त्र मैले न्याय नपाए पनि अब कसैका श्रीमान् बेपत्ता नबनून् । कुनै छोराहरु बेरोजगार नबनून् । उनीहरुले रोजगारीका लागि आफ्नो मुलुक छोड्नु नपरोस् । कसैले रातो बाकसमा फेरि फर्कनु नपरोस् । कुनै पनि छोरी फेरि बलात्कारको सिकार नबनून् । उनीहरु निर्धक्क भएर घुम्न सकून् । हाँस्न सकून् । मेरो तिमीमाथिको आश यत्ति हो । तिमी आएको यतिका वर्ष हुँदा पनि मैले न्याय पाउनै सकिनँ । मेरो आग्रह तिमीलाई प्रिय गणतन्त्र ! फेरि यस्तो कसैलाई नपरोस् । कुनै श्रीमती अनि आमा यसरी तड्पिनु नपरोस् । घर घरमा भएको खुसीले विकासका बाटाहरु आफै खुल्छन् । पहिला घरको खुसी फर्काइदेऊ । मेरो यो पुकार तिमीले सुन्यौ भने मेरो श्रीमानको सपना पूरा हुने छ । अनि मेरा सन्तानको आत्माले शान्ति पाउने छ । मेरो तिमीमाथि धेरै भरोसा छ अनि आशा पनि । तिमीले चाह्यौ भने पक्कै पनि गर्न सक्छौ । म विश्वस्त छु ।
प्यारो शुभचिन्तक
द्वन्द्व पीडित परिवार
