
धादिङ समाचारदाता
“बिपन्न बर्गको सहयोगको लागि ब्यक्ति ब्यक्तिको हातेमालो” भन्ने मूलमन्त्र बाेकेकाे शैक्षिक प्रेरणा समूहले आज २०८३ जेठ ३ गतेका दिन, धादिङको धार्केमा “शैक्षिक सामाग्री तथा विद्यालय पाेशाक वितरण” कार्यक्रमकाे आयाेजना गरिएकाे छ।
विगत ११ बर्षदेखि उक्त क्षेत्रका विपन्न तथा पिछडिएका बर्गका विद्यार्थीकाे शैक्षिक उन्नयनका लागि सहयोग गर्दै आएकाे साे समूहबाट त्यस कार्यक्रममा पन्चकन्या आधारभूत विद्यालय, टिस्टुङ देउराली आ.वि., मनकामना माद्यमिक विद्यालय, शारदा आ.वि., अमन्तादेवी मा.वि., भूमेकाली मा.वि., जनता आ.वि., घैरूङदेवी आ.वि. र आदर्श मा.वि., महाकाली मा.वि. र विद्या विकास आ.वि. का गरि ११ वटा विद्यालयका ७१ जनाभन्दा बढी छात्रछात्राहरूका लागि स्कुल ब्याग, विद्यालय पाेशाक, शैक्षिक सामाग्री तथा नगद सहयोग हस्तान्तरण गरिएकाे थियोे ।
फाेटाे फिचर






शैक्षिक प्रेरणा समूहका परिकल्पनाकार तथा संरक्षक किरणकुमार शर्माको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा भूमेकाली मा.वि.का प्रधानाध्यापक गंगा उप्रेती, जनता आ.वि. का प्रधानाध्यापक लक्ष्मी धामी, आदर्श मा.वि.का प्रधानाध्यापक विष्णुप्रसाद गाैतम, विद्या विकास आ.वि. का प्रधानाध्यापक राममणि थपलिया, सामाजिक अभियन्ता विजय बस्नेत, समाजसेवी भाेला रावत, सामाजिक अभियन्ता एवं राष्ट्रिय स्तरकी लोक दोहोरी गायिका रजनी लामा लगायतका वक्ताहरूले समूहकाे सहयोगबाट स्थानीय विपन्न, चेपाङ तथा अन्य पिछडिएका बर्गका विद्यार्थीकाे शैक्षिक स्तरमा आएको परिवर्तनकाे बारेमा प्रकाश पार्नुभएकाे थियोे ।
कार्यक्रममा सभापति किरणकुमार शर्माले “बालबालिकाका लागि केही गराैं भन्ने भावनाले प्रेरित भइ समूहमा आवद्ध सहयाेगीहरूले दिएको थाेरै थाेरै सहयोग जुटाएर एक दशक अघिदेखि काठमाडौं उपत्यकाबाट आफ्नो जिल्लामा सहयोग गर्न आइपुगेका समूहलाई प्राेत्साहन गर्न कन्जुस्याइँ गरेकाेप्रति गुनासो व्यक्त गर्दै यहाँका विद्यालयहरूकाे भाैतिक तथा शैक्षिक उन्नतिका लागि स्थानीय सरकार र जनप्रतिनिधिले सक्दाे ध्यान दिनुपर्ने कुरा बताउनुभएको थियोे ।
विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूकाे उल्लेखनीय उपस्थिति रहेको साे कार्यक्रमकाे सञ्चालन समूहका सदस्य जयराज पौडेलले सञ्चालन गर्नुभएको थियोे ।
शैक्षिक प्रेरणा समूहले आफ्नो स्थापनाकाल देखि नै निरन्तररूपमा धादिङ र मकवानपुरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, शैक्षिक सामाग्री, विद्यालय पाेशाक, दशैंलुगा लगायतका सहयोग गर्दै आएकाे छ । विपन्न केही अभिभावकलाई आत्मनिर्भर बनाउन लुगा सिउने मेसिन पनि दिएकाे छ । र, समयसमयमा खाद्यान्न र लत्ताकपडा पनि प्रदान गर्दै आएको छ । यसैगरी, विद्यालयकाे आवश्यकता र आफ्नो गच्छे हेरि केही विद्यालयलाई कम्प्युटर, प्रीन्टर र खेलकुद सामाग्री समेत सहयोग गरिसकेको छ ।
