
काठमाडौं । वाफल काठमाडौंका समाजसेवी ताराबहादुर कुँवरले आज २३ औं चरणको राहत वितरण गरेका छन् ।
चक्रपथ सरसफाई अभियानको आयोजनामा आज भएको कार्यक्रममा नौमती बाजा बजाउनेलाई सहित ५० जनालाई राहत वितरण गरिएको उनले जनाए । कुँवरले अहिलेसम्म १४ सय ५० जनालाई राहत बाँडेका छन् । कोरोना भाइरसको त्रासपछि भएको लकडाउन, निषेधाज्ञासहित मानिसको दैनिकी संकटपूर्ण भएकोले राहत वितरण गरिएको उनको भनाई छ । उनले राहत वितरणसँगै रक्तदान अभिायन पनि चलाएका छन् । पाँच पटकमा गरी १ सय ६३ जनाले रक्तदान गरेका छन् । उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायीका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका पनि सञ्चालक हुन् ।
नौमती बाजा बजाउनेको पेशा संकटमा परेकाले राहत स्वरुप दाल, चामल, तेललगायतका सामग्री उपलव्ध गराइएको जनाइएको छ । उनीहरुले कार्यक्रममा नौमती बाजा पनि बजाएका थिए । बागमति प्रदेशसभाका विपक्षी दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नौमती बाजा बजाएर गुजारा गर्ने एक महिलाकी छोरीलाई मिर्गौलाको समस्या भएपछि उनका लागि पनि नगद जुटाइएको थियो । प्रमुख अतिथि बानियाले २ हजार, निर्माण व्यवसायी हिरानन्द महर्जनले ५ हजार र कुँवरले पनि २ हजार रुपियाँ सहयोग गरेका थिए ।
प्रमुख अतिथि कांग्रेस नेता बानियाले नौमती बाजा बजाउनेलाई कला संस्कृतिको जगेर्ना गर्न भन्दै सहयोगस्वरुप ५ हजार रुपियाँ उपलव्ध गराएका थिए । उनले नौमती बाजा बजाउने पुरानो चलन र संस्कृति भए पनि पछिल्लो समयमा लोप हुँदै गएकामा चिन्ता व्यक्त गरे । बानियाले जुनसुकै जातजातिले पनि बाजा बजाएर आफ्नो कलालाई देखाउन सकिने भन्दै बाजा संरक्षण अहिलेको चुनौती भएको उल्लेख गरे । उनले त्यो समूहलाई प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउनका लागि पहल गरिदिने समेत स्पष्ट पारे ।
बानियाले कुँवरको कामको उच्च प्रशंसा गरे । उनले राहत वितरणसँगै चक्रपथ सरसफाई अभियानले अलग्गै पहिचान बनाएको बताए । उनले कुँवरको जस्तै अन्य व्यक्ति तथा समुदायलाई पनि सँगै मिलेर सामाजिक सेवामा लाग्न पनि आग्रह गरेका थिए ।