
१६ कात्तिक, काठमाडौं । नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार,यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।बुधबार बिहान ७ : १४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ : १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”,
कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कार्तिक सुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको उनले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४२ सुरु हुन्छ ।
