
काठमाडौं, २०८३ भदौ १८ गते ।
भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका पीडित परिवारको सहयोगार्थ जनजागृति ज्ञान रश्मि माध्यमिक विद्यालय, वनस्थली, बालाजु, काठमाडौंका विद्यार्थी तथा शिक्षकहरूले आर्थिक सहयोग गरेका छन्।




विद्यालयमा रहेको बाल क्लबको नेतृत्व तथा स्काउटको सहयोगमा विद्यार्थी, छात्र–छात्रा तथा शिक्षकहरूबाट संकलित रु. ३१ हजार ३ सय १० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक शिवराज पौड्यालको पहलमा उक्त रकम उद्धार कोषमा जम्मा गरिएको हो। सहयोग अभियानमा सहभागी बाल क्लबका पदाधिकारी, स्काउट, शिक्षक तथा सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
विद्यालयले बाढीपहिरोका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्मा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामनासमेत गरेको छ।
विद्यालयका अनुसार विद्यार्थीहरूले पाठ्यपुस्तकबाट प्राप्त ज्ञानसँगै विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने संस्कारसमेत सिक्दै गएका छन्। यस्तो अभियानले विद्यार्थीहरूमा मानवता, परोपकार, सामाजिक उत्तरदायित्व र सेवाभाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको विश्वास छ।
“सानो सहयोग, ठूलो आशा; पीडित परिवारमा राहत, मनमा आशा” भन्ने भावनाका साथ गरिएको यस अभियानले विपत्तिमा परेका परिवारप्रति मानवीय साथ, सद्भाव र ऐक्यबद्धता व्यक्त गर्न ठूलो रकम नै आवश्यक पर्दैन भन्ने सन्देश दिएको छ।
विद्यार्थीहरूको यस प्रकारको सामाजिक सेवामुखी कार्यले उनीहरूलाई भविष्यमा जिम्मेवार, संवेदनशील र सामाजिक उत्तरदायी नागरिक बन्न प्रेरित गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।
