
काठमाडौ । वैशाख १६
सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरेसँगै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्। उपकुलपति प्रा.डा. दीपक अर्याल, रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले बिहीबार पदबाट राजीनामा दिएका हुन्।
सरकारले सबै राजनीतिक नियुक्तिहरू खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका शीर्ष पदाधिकारीहरूले मार्गप्रशस्त गर्ने निर्णय लिएका हुन्। रेक्टर केसीका अनुसार सरकारले नै मार्गप्रशस्त गर्न अनुरोध गरेको र वर्तमान परिस्थितिमा काम गर्ने वातावरण नभएकाले राजीनामा दिइएको हो।
अघिल्लो सरकारको पालामा नियुक्त भएका यी पदाधिकारीहरूको कार्यकाल ४ वर्षको हुने भए तापनि सरकारले ल्याएको नयाँ व्यवस्थाका कारण उनीहरू समय अगावै बाहिरिएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले सार्वजनिक निकायमा रहेका राजनीतिक नियुक्तिहरूलाई पदमुक्त गर्न यो अध्यादेश ल्याइएको जनाएको छ। हाल उक्त अध्यादेश राष्ट्रपतिको कार्यालयमा अध्ययनको चरणमा रहेको छ।
