Fast Nepal News

विश्व वरीयतामा स्तर खस्किँदो त्रिवि, धेरै विद्यार्थी देखाएर कीर्तिमान बनाउने लहड

banner single news

३ पुष,काठमाडौँ — विश्व वरीयतामा स्तर खस्कँदै गएको त्रिभुवन विश्वविद्यालय विद्यार्थी संख्या धेरै देखाएर कीर्तिमान राख्ने होडमा लागेको छ । सोमबार भएको ४९ औं दीक्षान्त समारोहमा पदाधिकारीले धेरै विद्यार्थी अध्ययन गर्ने र दीक्षित हुने विश्वविद्यालयका रूपमा विश्व कीर्तिमान कायम गरेको प्रचारमा बढी ध्यान दिए ।

२०७९ जेठदेखि २०८० असारसम्म त्रिविअन्तर्गतका विभिन्न संकायका विभिन्न तह उत्तीर्ण गरेका ७३ हजार ७ सय ४९ छात्रछात्रा सोमबार दीक्षित भएका हुन् । समारोहमा सहभागी हुन आवेदन दिएकामध्ये १२ हजार ४ सय १५ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । यो संख्या विश्वमै सबैभन्दा धेरै भएको त्रिविको दाबी छ ।

कीर्तिमान बनेको भन्दै समारोहका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल, कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपकुलपतिको जिम्मेवारीमा रहेका शिवलाल भुसाल मात्र होइन त्रिविका प्राध्यापक, कर्मचारी पनि पुलकित देखिन्थे । विश्वमा नै सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयका रूपमा अफिसियल वर्ल्ड रेकर्ड नामक एक संस्थाले प्रमाणपत्र दिएको परीक्षा नियन्त्रक जोशीले बताएका थिए । ‘त्यही प्रमाणपत्रका आधारमा गिनिज बुक अफ वल्ड रेकर्डमा समेत रेकर्ड कायम गर्ने प्रक्रियामा छौं,’ उनले भने । जबकि यसअघि नाम र काम नै थाहा नभएको यो संस्थाको आधिकारितामाथि नै शंका छ ।

प्राज्ञिक अभ्यास र शैक्षिक गुणस्तरमा क्षमतावान हुनुपर्ने विश्वविद्यालय औचित्य र आधिकारिकता नभएको कीर्तिमानको पछि लागेको भन्दै धेरैले आलोचना गरेका छन् । ‘दीक्षान्त कार्यक्रम भनेको त एउटा उत्साह र औपचारिक कार्यक्रम मात्र हो,’ उनले भने, ‘त्यहाँ कति विद्यार्थी सहभागी भए/भएनन् त्यसको महत्त्व शैक्षिक गुणस्तरमा हुन्छ र ?,’ पूर्वउपकुलपति हीराबहादुर महर्जनले भने ।

पाँच वर्षदेखि विश्व वरीयतामा आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा झरेको छ । टाइम्स हायर एजुकेसनले सन् २०२४ का लागि गरेको सार्वजनिक सर्वेक्षण प्रतिवेदनले विगतमा भन्दा त्रिविको वरीयता कमजोर बनेको देखाएको हो । विद्यार्थी संख्या, प्राध्यापक, कर्मचारीको विवरण, भौतिक संरचना, शिक्षण विधि, अनुसन्धान, साइटेसन, विदेशी विद्यार्थी, आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय छविलगायत विषयमा मापदण्ड तोकेर सर्वेक्षण हुँदै आएको छ । त्रिविका पदाधिकारीले ५ सयभित्र पर्ने लक्ष्य र योजना लिएको घोषणा गर्दै आए पनि नतिजा भने त्यसविपरीत खस्केको पाइएको हो ।

सन् २०१९ देखि त्रिवि उक्त सर्वेक्षणमा सहभागी हुँदै आएको छ । सोही बेलादेखिकै मूल्यांकनमा त्रिवि विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा परेको थियो । यसपालि भने उत्कृष्ट एक हजारभन्दा पछाडि धकेलिएको हो । सर्वेक्षणअनुसार त्रिवि अनुसन्धानको वातावरण सबैभन्दा कमजोर देखिएको थियो । अनुसन्धान वातावरणमा त्रिविले ८.२ स्कोर मात्रै प्राप्त गरेको छ । शैक्षिक वातावरणमा पनि अवस्था कमजोर देखिएको थियो । त्रिविले शिक्षण सिकाइमा ११.३, अनुसन्धान गुणस्तरमा ४९.५, उद्योग र उत्पादनमा १५.९ र अन्तर्राष्ट्रिय दृष्टिकोणमा ४६.६ स्कोर मात्र पाएको छ ।

कोभिडयता त्रिवि समयमा पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत असमर्थ हुँदै आएको छ । विगत ४ वर्षयता विश्वविद्यालय विद्यार्थी, अध्यापक, स्थानीयवासी लगायतको लगातार तालाबन्दीको चपेटामा पर्दै आएको छ । ४ वर्षमा ४ सयभन्दा बढी दिन त तालाबन्दी मात्रै भएको थियो । सन् १९५९ मा स्थापित त्रिवि पहिलो र संरचना, विद्यार्थी संख्या, आयस्रोतका आधारमा भने ठूलो विश्वविद्यालय मानिन्छ ।

हजारौं विद्यार्थीलाई साँघुरा सहरभित्र एकै पटक डाकेर सडक अस्तव्यस्त बनाउनुभन्दा संकायअनुसार छुट्टाछुट्टै दिनमा दीक्षान्त कार्यक्रम गर्न सकिने सुझाव विज्ञहरूको छ । ‘अहिलेसम्मको अभ्यास भएकाले एकै दिनमा आयोजना गरिएको होला,’ पूर्वउपकुलपति महर्जन भन्छन्, ‘विद्यार्थीको चाप हुने र व्यवस्थापन गर्न कठिन हुने भए फरकफरक दिनमा पनि गर्न सकिन्छ ।’

Inside Article Ads

गत वर्षदेखि नै त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको छ । विगतमा पुल्चोक क्याम्पस परिसरमा समारोह हुँदै आएको थियो । त्यहाँको साँघुरो ठाउँमा व्यवस्थापन गर्न कठिन भएकाले रंगशालामा आयोजना गरिएको रजिस्ट्रार पेशल दाहालले बताए ।

त्रिवि कात्तिक १६ गतेदेखि ३ महिनाका लागि जिम्मेवारी तोकिएका निमित्त उपकुलपतिको भरमा छ । सहकुलपति तथा शिक्षामन्त्री अशोककुमार राईले उपकुलपति नियुक्त गर्ने व्यक्तिको नाम सिफारिस गर्न सकेका छैनन् । सिफारिस समिति मात्रै गठन भएको छ । तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि रेक्टर शिवलाल भुसाललाई कामु जिम्मेवारी दिइएको छ । उनले उपकुलपतिको काम गर्न थालेपछि रेक्टर पदसमेत खाली छ । अघिल्लो उपकुलपतिको कार्यकाल सकिनुभन्दा पहिल्यै उपकुलपति चयन गर्नुपर्नेमा सरकारले बेवास्ता गरेको पूर्वउपकुलपति महर्जनले बताए ।

उपकुलपति भुसालले ठूलो संख्यामा विद्यार्थी दीक्षित गरे पनि गुणस्तरमा कमी नआएको दाबी गरे । ‘देशभित्रका विभिन्न विधामा कार्यरत होस् वा विदेशमा अध्ययन र रोजगारी वा वैज्ञानिक खोज अनुसन्धानका क्षेत्रमा किन नहोस् । त्रिविको उत्पादनले आफूलाई अब्बल सावित गरिरहेकोमा हामी गौरवान्वित छौं,’ उनले भने । स्वदेशमा उपयुक्त रोजगारीको अभावका कारणले मात्र विद्यार्थी विदेश पलायन हुने गरेको उपकुलपति भुसालले जनाए । त्रिविले उत्कृष्ट विदेशी विश्वविद्यालयहरूसँगको सहकार्यमा शैक्षिक कार्यक्रम अघि बढाउने उनले बताए । विश्वविद्यालयले छिट्टै साइवर सेक्युरिटी, योग विज्ञान, आयुर्वेद विज्ञान, माउन्टेन पर्यटन र माउन्टेन साइन्स जस्ता विषयमा नयाँ कार्यक्रम सुरु गर्ने उनले घोषणा गरे ।

भागबन्डा होइन, मेरिटका आधारमा उपकुलपति नियुक्त हुन्छ : प्रधानमन्त्री

दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भागबन्डा अन्त्य गरी प्रतिस्पर्धाका आधारमा उपकुलपति चयन गर्ने वाचा गरे । ‘विश्वविद्यालयहरूमा हुने राजनीतिक नियुक्तिहरूमा भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारी नियुक्त गरिनेछ,’ उनले भने, ‘त्यसका लागि देशभित्र र विश्वभरि रहेका विज्ञ नेपालीहरूलाई विशेष आह्वान पनि गर्दछु । राजनीतिक दलहरूलाई त्रिविमा भागबन्डा होइन मेरिटका आधारमा नियुक्ति हुनका लागि अग्रसर हुन अपिल गर्दछु ।’

प्रधानमन्त्री दाहालले शिक्षालाई सर्वसुलभ बनाउँदै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने नीति सरकारले लिएको बताए । विश्वविद्यालय शिक्षामा पनि समायनुकूल सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए । ‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समातामूलक र सबै वर्ग, समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लैजानुपर्छ ।’ आगामी दिनमा प्राविधिक शिक्षाको भूमिका अझै बढाउँदै लैजानुपर्ने दाहालले बताए । ‘उपाधि हासिल गरेका विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिविको सामयिक चुनौती हो,’ उनले भने, ‘संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो ।’

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 67 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.