Fast Nepal News

फागुनबाट विद्यालय खोल्ने सरकारको तयारी

banner single news

डायमण्ड जाेशी
काठमाण्डौ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप लगाउनेबित्तिकै विद्यालय खोल्ने गरी तयारी थालिने जानकारी दिँदै भन्नुभयो– ‘सबै तहको परीक्षा सञ्चालन गर्न पनि केही दिन भौतिक रूपमा विद्यालय खोल्नुपर्ने हुन्छ ।
त्यसैले केही दिन कक्षा सञ्चालन गर्नकै लागि पनि विद्यालय खोल्ने तयारी भइरहेको छ ।’ उहाँले विद्यालय खोल्ने विषयमा आगामी साता सीसीएमसीसीको बैठक बसेर निर्णय गरिने बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ संक्रमितको संख्या उच्च दरमा पुगेमा परीक्षाको प्रणाली नै परिवर्तन गर्न सकिने तर त्यस बाहेकको अवस्थामा फागुनबाट विद्यालय खोल्ने तयारी भइरहेको छ ।

शिक्षा तथा मावनस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले माघको तेस्रो सातासम्ममा अधिकांश विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्ने जानकारी दिनुभयो । उहाँले दुवै मात्रा खोप लगाइसकेपछि स्वास्थ्य मापदण्ड पूरा गरी माथिल्लो कक्षा सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । केन्द्रकोे तथ्यांकअनुसार यो महिनाभित्र करिब ४० लाख विद्यार्थीले दोस्रो मात्रा खोप लगाइसक्नेछन् । खोप लगाइसकेपछि फागुन र चैतको दोस्रो सातासम्ममा कक्षा सञ्चालन गरी वैशाखमा अन्तिममा परीक्षा लिने गरी तयारी भइरहेको छ । परीक्षा नजिकिँदै जाँदा सबै विद्यालयलाई भौतिक रूपमै कक्षा सञ्चालन गर्न दिन मन्त्रालय दबाबमा छ ।

Inside Article Ads

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले फागुनमा विद्यालय खोलेर चैतसम्म पढाइ गर्ने र वैशाखमा परीक्षा लिने व्यवस्था नगरे आगामी शैक्षिकसत्र पछि धकेलिन सक्ने बताउनुभयो । त्यसैले १२ देखि १७ उमेर समूहका सबै विद्यार्थीले खोप लगाएपछि फागुनबाट विद्यालय खोल्दा समस्या नहुने उहाँको तर्क थियो । मन्त्रालयका प्रवक्ता शर्माले सबै विद्यालयमा करिब दुई महिना कक्षा सञ्चालन गरी परीक्षा लिने विषयमा छलफल भइरहेको बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा एसईई, जेठमा कक्षा १२ को परीक्षा लिने तयारी गरेको छ । ती परीक्षा तयारीका लागि भए पनि भौतिक रूपमा कक्षा सञ्चालन गर्नुपर्ने अभिभावकको राय छ ।

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब ५० प्रतिशत मात्र कोर्स सकिएको अवस्थामा परीक्षा लिन नहुने तर्क गर्दै भन्नुभयो–‘न्यूनतम शिक्षण सिकाई अर्थात् कक्षा १ सय ८० दिन सञ्चालन नभएसम्म परीक्षा लिनु हुँदैन ।’ उहाँका अनुसार हालसम्म केही शहरी क्षेत्रमा ७० प्रतिशत विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् तर अधिकांश विद्यालयले ३५ प्रतिशतसम्म पनि कोर्स पूरा गर्न सकेका छैनन् । लगातार बन्दका कारण प्रविधिको पहुँच नपुगेको विद्यालयको पठनपाठन नाजुक भएको छ ।

एक महिनादेखि विद्यालय बन्द भएको कारण स्थानीय तहले सञ्चालन गर्ने कक्षा ८ को परीक्षासमेत अन्योल भएको छ । मन्त्रालयले चैतको दोस्रो सातासम्म कक्षा सञ्चालन गरेर अन्तिम साताबाट वार्षिक परीक्षा लिनुपर्ने जनाउँदै सोहीअनुसार तयार गर्न केन्द्रलाई निर्देशन दिएको छ । सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा त्यसअघि नै परीक्षा सम्पन्न नगरे शैक्षिकसत्र फेरि अन्योलमा पर्ने देखिएको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.