
अशोक जी भेट्दा एउटा अर्कै उर्जा प्राप्त हुन्छ । वास्तवमा पर्यटनवादलाई जीवनमा उतारेको मान्छे नै अशोक जी हो । हरेक बिषयवस्तुलाई प्रेम र सकारात्मक तरिकाले प्रस्तुत गर्ने घुम्ने रमाउने कला मलाई अत्यन्तै मनपर्छ । पढ्ने पढाउने, घुम्ने घुमाउने र लेख्ने लेखाउने अभूतपूर्व अपूर्व पूर्वको लाली नै अशोक जी हो । यति भन्दै गर्दा म आफैं खुशीले गर्व गर्छु ।
यात्रा पुर्व धिमाल वस्ती मोरंगसम्मको थियो । यो यात्रामा मैले अशोक जीलाई राम्रोसंग चिन्ने मौका पाएको थिएँ । लगत्तै अर्को यात्रा उखुवारी सुकुटे शिन्धुपाल्चोकको थियो । यी दुवै यात्रा भिटोफ नेपालको पर्यटन प्रवर्द्धनको कार्यक्रमसंग जोडिएको थियो । यात्रा भरी विषयवस्तु पर्यटनकै हुन्थे । रमाइला गफ हुन्थे । मिठा मिठा परिकारहरुको त के कुरा !
यात्रा गोर्खा बारपाक सुलिकोटको थियो । त्यहि यात्रामा अशोक जी कै उत्प्रेरणाले “श्रीपर्यटन” स्तम्भको सुरु भयो । गजब भयो ।निरन्तर नदी झैं मेरा पर्यटन विकासका धारणाहरु बग्न थाले । वस्ताबमा मानिसले खोजेको आनन्द नै त हो । अनि आनन्द कता छ त ? आनन्दलाई हेर्नु पर्छ बुझ्नु र खोज्नु पर्छ । हेर्न, बुझ्न, चिन्न, खोज्न, थाहापाउन तथा रमाउन त यात्रा गर्नु नै पर्छ यात्रा विना आनन्द कहाँ ! त्यसैले प्रकृतिले मानवलाई खुट्टा दिएको छ । हिड्नुपर्छ । हिंडे पुगिन्छ, हिंडे छेउ लाग्छ नत्र लेउ लाग्छ । मौका पायो कि हामी हिंड्छौं । हिंडेर घुमेर नै खान पुग्छ । यत्ति हो घुम्दा उद्धेश्यसहित सचेत भएर योजना बनाएर यात्रा गर्नु पर्दछ । हो हामी विना मिसन यात्रा गर्दैनौं । यात्राको भरपुर आनन्द लिन्छौं । आजसम्म घुमेर-घुमाएर, पढेर-पढाएर, र लेखेर-लेखाएर नै हाम्रो जीवन आनन्दले चलेको छ ।
यो उखुवारीको यात्रा, सुकुटेको सुताई, र्याफटिंगको रिस्क, उखु विनाको उखुवारी सबैको आआफ्नै महत्व छ । उखुवारीमा एउटा पनि उखु देखिएन किन उखुवरी नाम राखेको होला ? हुन त नेपालमा गरीवको नाम धनबहादुर, धनी व्यापारीको नाम गरीवदास हुने गर्दछ । यो उखुवारी होमस्टेमा गरिएको आतिथ्यता दिव्य थियो । अवस्य पनि अव उखुवारी जाँदा उखु देख्न पाइने छ । सुकुटे विचको रिसोर्टको सुताई र स्विमिंग पुलको रात्रीकालिन सामुहिक नृत्य हाम्रो जिन्दगीको पहिलो अनौठो आनन्द थियो । र्याफ्टिंग यो यात्राको सबैभन्दा रोमान्चकारी थियो । आदरणीय गुरु प्रेम शर्मा डुंगाबाट सुनकोशीमा झर्नु भयो हामी सबै आत्तियौं निकाल्न सकिएन लगभग २० मिनेट हामी आतंकित थियौं । धन्न कायाकिंगको भाई रेस्क्यु गर्न सफल भयो । हामीले पुन: गुरुको सकुसल दर्शन गर्न पायौं अशोक जीले लामो अन्तर्वार्ता लिए मेरो मनमा अनेक कुरा खेल्दै थिए ।
“गुरुदेव पर्यटन सुख आनन्दको मार्ग त होइन कि क्या हो ?”
पर्यटन त अध्ययन तथा आनन्दको साधन हो । आनन्द सुख दु:ख त आफैंभित्र हुन्छ । पर्यटन तथा यात्राले ति सबै अनुभूतिहरु बाहिर प्रकाशित हुन्छन् ।
“गुरुदेव एउटा पर्यटनवाद नै तयार हुन्छ कि क्या हो ?”
हुन्छ नि ! तर कार्लमार्क्सको जस्तो ठेली कसले लेख्ने ? लगानी कसले गर्ने ! अध्ययन कसले गर्ने ? प्रस्तुतीकरण र शास्त्रार्थ कसले गर्ने ?
हो म मौन भएँ अशोक जी हामी संगै थियौं खाजा खाने निम्ता आयो सुनकोशीको छालसंगै मेरो मनमा “पर्यटनवाद” उर्लेर आयो के यो “वाद” सम्भव छैन त ? के जीवन पर्यटनमय बनाउन सकिंदैन त ? जीवनमा आनन्द नहुने विषय हो र ? मलाई लाग्छ, २१ औं शताब्दीको नयाँ वाद पर्यटनवाद हुने छ । यो पर्यटन भन्ने विषयबस्तुलाई चारै तिरबाट बैज्ञानिक तरिकाले पुष्टि गर्न सकिन्छ भने यो अवस्य पनि “पर्यटनवाद” तयार हुन्छ । पर्यटनवादको गर्वधारण सुनकोशी सुकुटेमा भयो ।
कुनै पनि वाद (Ism) एकै दिनमा निर्माण हुँदैन । यो मानव समाजले लामो समयसम्म भोगेका अनुभव, समस्या, आवश्यकता, संघर्ष, चिन्तन र अनुसन्धानको परिणामस्वरूप विकसित हुने वैचारिक प्रणाली हो । जब कुनै समाजमा विद्यमान अवस्था, मूल्य वा संरचनाले नयाँ प्रश्नहरू जन्माउँछ, तब विद्वान्, दार्शनिक, अनुसन्धानकर्ता तथा सामाजिक चिन्तकहरूले ती प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्छन् । यही खोज, बहस र बौद्धिक विमर्शबाट क्रमशः नयाँ विचारको जन्म हुन्छ । जब त्यो विचारले कुनै विशेष विषयलाई व्यवस्थित रूपमा व्याख्या गर्न थाल्छ, त्यसका आफ्नै सिद्धान्त, मान्यता, उद्देश्य र कार्यदिशा विकसित हुन्छन्, तब त्यो विचार “वाद” को रूपमा स्थापित हुन्छ । उदाहरणका लागि, औद्योगिक युगको असमानताबाट समाजवाद, व्यक्तिगत स्वतन्त्रताको मागबाट उदारवाद, लैङ्गिक असमानताको विरोधबाट नारीवाद र वातावरणीय संकटबाट पर्यावरणवाद विकसित भएको देखिन्छ (Heywood, 2021) । आजको युगमा आइपुग्दा समाजवाद, उदारवाद, नारीवाद, नश्लवादले समाजमा द्वन्द बढायो । समाजमा विभेदको सृजना गर्यो | मानवलाई समाजवादी, उदारवादी, नारीवादी आदि आदि बनाएर विभेद वा द्वन्द सृजना गर्यो | यी सम्पूर्ण आधुनिक वादहरुको एकीकृत मानवतावादी वाद नै पर्यटनवाद हो |
दार्शनिक दृष्टिले “वाद” निर्माणको पहिलो चरण समस्या वा यथार्थको पहिचान (Problem Identification) हो | समाजमा देखिएका समस्या, विरोधाभास वा परिवर्तनलाई मानिसहरूले अनुभव गर्छन् र त्यसबारे प्रश्न उठाउँछन् । आजको समाज कुनै एक वादमा चलेको छैन । धेरै वादविवाद हुने गर्दछन तर निष्कर्षमा पुग्न सक्दैनन् | दोस्रो चरणमा ती समस्याको व्याख्या गर्ने विचार (Idea) जन्मिन्छ | किन ति आधुनिकवादहरू असफल भए ? उनीहरु निश्चित वर्गलाई मात्र समेट्न सफल भए | समय सापेक्ष हुन सकेनन | तेस्रो चरणमा उक्त विचारलाई तर्क, प्रमाण, अनुसन्धान तथा अनुभवका आधारमा व्यवस्थित गरिन्छ, जसबाट सिद्धान्त (Theory) निर्माण हुन्छ । पर्यटन सम्बन्धि लाखौँ अध्ययन अनुसन्धान भएका छन् । धेरै प्रमाण, अध्ययन, अनुसन्धान तथा सिद्धान्त निर्माण भएका छन् ।त्यसैले पर्यटनका सबै विधा समातेर पर्यटनवाद निर्माण हुँदै छ । जीवनका र समाजका सबै प्रश्नका उत्तर पर्यटनवादले दिन्छ र दिनु पर्छ ।
