Fast Nepal News

७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश व्यक्त

banner single news

 फाल्गुन ,काठमाडौँ —पूर्व राजा ज्ञानेन्द्र शाहले ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा व्यक्त शुभकामना सन्देश पढ्नुहोस्।

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

प्रजातन्त्र दिवसको सन्दर्भमा हामी प्रजातन्त्रका उत्प्रेरक हाम्रा पूज्य जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको संस्मरण गर्न चाहन्छौँ । जनचाहना बमोजिम राजसंस्थाले गद्दी दाउमा राखेर प्रजातन्त्रका लागि जनतासँग हातेमालो गरेको आठौँ दशक पुग्दै गर्दा यसका सबल र सुधार गर्नुपर्ने पक्षको समीक्षाका साथै ऐतिहासिक क्षणको विस्तारित एवं यथार्थपरक संस्मरण नयाँ पुस्ताको ज्ञान र प्रेरणाका लागि आवश्यक भइसकेको छ ।

बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाह देखि आजको समयावधिसम्म हेर्दा नेपालको राज परम्परा सदा नै लोकसम्मत, प्रजातान्त्रिक, युगानुकूल जनहितकारी  र विकासमुखी रही आएको छ । नेपाल एकीकरणको झन्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौँ । विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ । प्रविधिको विकास र अन्तर्राष्ट्रिय सन्निकटताले समाजका आधुनिक अपेक्षाहरू सम्बोधन गर्ने विधि निषेध होइन, सहकार्यको राजनीतिमा अन्तर्निहित छ । अहिले युवाहरूको हकमा नेपालको इतिहास मै अद्वितीय जनसाङ्ख्यिक लाभांशको चरणबाट गुज्रिरहेको छ । यस्तो अवस्था अब धेरै अवधि रहने छैन । युवाहरू आफ्ना सम्भावना र अवसरबाट वञ्चित हुने अवस्था, आम नैराश्यमा बदलिने जोखिम बढ्दो छ । हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आङ्कलन गर्न सकिन्छ । विगत बिस वर्षमा दसौँ लाख युवाहरू विदेश पलायन र फराकिलो डायस्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठुलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ ।  

देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचय सहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रूपले दबाब दिन सक्ने युवा शक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान होला । तर कडा मेहनत गरी आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरू अहिले निराश छन् । देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन् । देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेसका सबै दीन दुःखी नेपाली दाजुभाइ, दिदीबहिनीहरूले स्वदेश मै गरिखाने माहौल नहुनु भन्ने सोचले जरा गाड्दै जानु चिन्ताको विषय हो । स्वदेश मै उद्यम गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मशील युवाहरू अगाडी बढ्न खोज्दै छन् । 

Inside Article Ads

राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न । देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेका छन् । तिनका धेरै कार्यकर्ताहरूमा राजनीतिक छत्रछाया नभई जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ । प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरूको आन्तरिक सुधार एवं विकल्पको गुन्जाइस नदेखेको आभास समाजमा उजागर भएको छ। दलहरूले नेपालको निम्न एवं मध्यमवर्गको मुद्दामा मौन रहने प्रवृत्ति बढ्दो छ । शासकीय उत्तरदायित्व र गाम्भीर्यको कमी देशभित्रका सवालमा मात्र होइन परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको छ । नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरी कमजोर  मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्व परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय भएको छ । 

नेपालको अत्यधिक बहुसङ्ख्यक जनताले चाहेको निर्णय स्विकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामीले सम्यमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौँ । यी यावत वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन ।

यस वर्ष यो दिवस मनाउँदै गर्दा नयाँ पहलको प्रण गर्दै नेपालको प्रजातन्त्रलाई थप उन्नत र सार्थक बनाऔं । देशभक्ति, सुशासन, आर्थिक प्रगति, सार्वभौमिक भावना र सनातन धर्म सहितको नेपाली पहिचानको सम्वर्द्धन गर्ने गराउने ध्येय नै मूलमानयताको रूपमा स्थापित गरौँ । 

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल , २०७९ साल फागुन ७ गते

Visited 47 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.