Fast Nepal News

जनै पूर्णिमा | रक्षा बन्धन | क्वाति खाने दिन | तथा संस्कृत दिवस

banner single news

डायमण्ड जोशी
६ भदौ

समथर फाँटका गह्राहरूदेखि गैरीखेतसम्मका रोपाईँ सकिइहोला । शुरुमा रोपेका धानहरू त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । अझ भदौरे धानका बालाहरू त फुट्न थालिसके होलान् । अब यो रोपाइँपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्करै चाड–पर्वहरू आउन थालेका छन् । वास्तवमा रोपाईँपछिको सुस्केरा मार्ने समय हो यो, चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ ।

खुसीयालीको चाड विशेष रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन् । अनि दिदी–बहिनी हुनुहुन्छ भने आफ्ना दाजुभाइहरूका लागि राखी खरिद गर्नुभयो त ! अनि दाजुभाइहरूले भने आफ्नी दिदी–बहिनीहरूका लागि के कस्तो उपहार दिने तर्खर गर्नुभएको छ त आज ?

हरेक चाडबाडका आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ । जस्तै, कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनै–पूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षेत्री पुरुषहरूले हिन्दू परम्परा अनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ ।
बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री–मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

आजको दिनको मन्त्रः
‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’
अर्थात्
‘जुन रक्षा (काँचो धागो)ले दानवहरूका महान राजा बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्छु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’

जनै पूर्णिमा, रक्षा बन्धन र क्वाति खाने दिन विशेष भिडियो :

आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात् ‘गुंपुन्हि’ भनी मनाउँछन् ।

यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल बिहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।

रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दू परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । कतिपयले आफैँ गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यसै दिन दिदी–बहिनीहरूले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढिरहेको छ ।

आजको दिन कज्वाइँ–ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाडाँैको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसार्इँकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूध–कुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाँधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरूमा मेला पनि लाग्दै आएको छ ।

विशेषतः ब्राह्मण, क्षेत्री या अन्य कुनै बैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातको नाडीमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ । सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो, जसलाई तयार पार्दा ३–३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ, जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

परिवर्तित परिपेक्ष्यमा चुँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षेत्रीमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात् जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्छन् । स्मरणरहोस्, मन्त्रिएका यज्ञोपवितहरूको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने विश्वास छ ।

साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरूको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँछ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त संकुचित कुण्ठा मात्र हो । यज्ञोपवितले ब्राह्मण पथमा लाग्ने राहदानीको कार्य गर्छ, तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशीलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।

Inside Article Ads

रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, ‘रक्षा’ र ‘बन्धन’ । संस्कृत शब्दावलीको अनुसार यसको अर्थ ‘सुरक्षाको गाँठो’ हुन्छ । यो चाड दाजुभाइ–दिदी–बहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदी–बहिनी या दाजुभाई मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ ।यस दिन, दिदी–बहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाईको हातमा रक्षा बन्धनका धागो बाँधिदिने चलन छ । त्यसैगरी दाजुभाइले पनि दिदी–बहिनिलाई उपहार दिन्छन् । आफ्ना दिदी–बहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् । आफ्ना दाजुभाई तथा दिदी–बहिनीसँग टाढा हुनुहुन्छ ? यदि टाढा हुनुहुन्छ भने आफ्नो दिदी–बहिनी दाजुभाइसँग रक्षा बन्धन लगाउन नपाउनु या उपहार दिन नपाउनुको कमी पक्कै महसुस गर्दै हुनुहुन्छ होला ।

यो पावन अवसरमा आफ्नो दिदी–बहिनी दाजुभाइ सँगसँगै नहुनु कति दुःखद हुन्छ हामीले बुझेका छौँ । यही कमीलाई केही हदसम्म पूरा गर्न हाम्रो पात्रोले हाम्रो रिचार्ज सेवा लिएर आएको छ, जहाँ हजुरहरूले नेपालमा बस्नुभएका दिदी–बहिनी तथा दाजुभाईलाई उपहार स्वरुप हाम्रो रिचार्ज प्रयोग गरी खुसी बाड्न सक्नुहुनेछ ।

क्वाति खाने दिन

यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको ‘क्वाति’ हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वा’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति“ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ ।

पानीमा भिजाई राखिएको ९ प्रकारका गेडागुडीहरू (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

नेवार समुदायले आज गुंपुन्हि मनाउँछन् । यही गुंपुन्हिको दिन विभिन्न ९ थरी गेडागुडी पकाएर बनाइने क्वाति खाने भएकोले यसलाई क्वाति पुन्हि पनि भनिन्छ। गुंपुन्हि पर्वको नाम यो पर्व पर्ने महिनाको नामसँग पनि जोडिएको छ। नेपाल सम्वतअनुसार यो पर्व गुंला महिनामा पर्न आउँछ। गुंलाको पुन्हि भएकोले यसको नाम गुंपुन्हि भएको भन्ने पनि चलन छ।

क्वाति पकाउने आ–आफ्नै तरिका हुन्छ । भुटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाति तयार पारिन्छ । आजको दिन क्वाति खाएमा पाचनक्रियासँग सम्बन्धित रोगहरू हट्ने जनविश्वास रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई ‘न्वाँगी’ भनिन्छ ।

देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ । परिवारसँग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ । तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न ? तपाई–हामी जहाँ छौंँ, जे गर्दैछौँ ।

आजको यो सांस्कारिक काँचो धागो वा दाजु–भाई, दिदी–बहिनीहरूबीचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालीन परम्पराको निरन्तरतालाई युगौँ युगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस् । सबैको रक्षा होस्, जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।

संस्कृत दिवस

संस्कृत भाषाको वस्तुगत महत्वलाई जनसमक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ । ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पूर्णिमाको दिनमै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो ।

संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार–प्रसारमा सहयोग पुर्याउने हेतुका साथ आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संस्कृत भाषाको सम्वर्धन तथा प्रवर्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो ।

युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुँदा पनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो । आजको दिन देशभर संस्कृत जागरणका लागि विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.