Fast Nepal News

प्रवेशद्वार बनाउन होडबाजी

banner single news

पर्सा — ८ भाद्र २०७८

पर्सा, वीरगन्ज महानगरपालिकाको बहुअरी र रमगढवा टोल प्रवेश गर्ने चारवटा बाटो छन् । करिब एक किलोमिटर अन्तरमै पर्ने यी चारवटै बाटोमा प्रवेशद्वार निर्माण गरिएको छ । संघ र प्रदेश सांसदले निर्वाचन क्षेत्रका लागि पाउने बजेटबाट प्रवेशद्वार बनाएका हुन् । दुईटा प्रवेशद्वार प्रदेश सभा सांसद अञ्जुकुमारी यादवले बनाएकी हुन् ।अरू दुईटा प्रदेशसभा सांसद रमेश पटेल र संघीय सांसद विमलकुमार श्रीवास्तवले निर्माण गरेका हुन् । प्रतिस्पर्धात्मक रूपमा बनाइएका यस्ता अग्ला र खर्चिलो प्रवेशद्वारको शिलालेखमा आफ्नो नाम अंकित हुने भएपछि निर्माणमा सांसद हौसिएका हुन् । जिल्ला समन्वय समितिको तथ्यांकअनुसार संघ र प्रदेशका सांसदहरूले आर्थिक वर्ष २०७५/७६ देखि आव २०७७/७८ सम्ममा स्थायी र अस्थायी प्रवेशद्वार निर्माणमै करिब डेढ करोड बजेट खर्च गरेका छन् ।

पर्साका संघीय सांसदहरूले उक्त अवधिमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत आआफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने क्रममा विभिन्न स्थानमा गरी ९२ लाख ५० हजार रुपैयाँ प्रवेशद्वार निर्माणमा खर्च गरेका छन् । प्रदेशसभा सांसदहरूले पनि निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत ४४ लाख ५० हजार रुपैयाँ खर्च गरेको जिससको तथ्यांक छ । पर्सामा कुल ४ संसदीय क्षेत्र रहेकोमा आव २०७५/०७६ मा क्षेत्र नं १ का सांसद प्रदीपकुमार यादवले आफ्नो क्षेत्रमा प्रवेशद्वार निर्माणमा १० लाख रुपैयाँ खर्च गरेका थिए । सोही आर्थिक वर्षमा क्षेत्र नं ४ का सांसद लक्ष्मणलाल कर्णले अधुरो गेट निर्माण र अधुरो सडक निर्माण शीर्षकमा १० लाख रुपैयाँ खर्च गरेका थिए ।

आव २०७६/७७ मा फेरि क्षेत्र नं १ कै सांसद यादवले विभिन्न स्थानमा प्रवेशद्वार निर्माणमा २२ लाख रुपैयाँ बजेट खर्च गरे । सोही आवमा क्षेत्र नं २ का सांसद श्रीवास्तवले खानेपानी धारा (कल) जडान योजनालाई संशोधन गरी प्रवेशद्वार निर्माणमा ३१ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । गत आवमा क्षेत्र नं १ का सांसद यादवले अधुरो प्रवेशद्वार निर्माणमा शीर्षकमा ९ लाख रुपैयाँ बजेट खर्च गरेका छन् ।प्रदेशसभा सांसदमध्ये राजेश्वरप्रसाद साहले आव २०७५/७६ र आव २०७७/०७८ मा गरी २ आर्थिक वर्षमा प्रवेशद्वार निर्माणमा १२ लाख ५० हजार रुपैयाँ बजेट खर्च गरेको जिससको तथ्यांक छ । अर्का प्रदेशसभा सांसद अबदुर रहिम अन्सारीले आव २०७७/०७८ मा १५ लाख रुपैयाँ प्रवेशद्वार बनाउन खर्च गरेका छन् । जिससका अनुसार प्रदेशसभा सांसद अन्जुकुमारी यादवले आव २०७६/०७७ र आव २०७७/०७८ मा १० लाख रुपैयाँ खर्च गरेकी छन् ।

Inside Article Ads
जिससका सूचना अधिकारी नरेन्द्रप्रसाद यादवले सांसदहरूले आआफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका योजनाको संशोधनसम्मको अधिकार पाएको बताए । ‘के कस्तो विकास निर्माणको योजना आआफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन गर्ने हो भन्ने कुरो सम्बन्धित सांसदले धेरै हदसम्म आफ्नै तजबिजले गर्न पाउँछन्,’ उनले भने, ‘कार्यक्रम परामर्श समितिमा स्थानीय तहका पदाधिकारी सदस्य हुन्छन्, कार्यान्वयन र भुक्तानी स्थानीय तहले गर्छन् ।’जिल्ला पूर्वाधार कार्यालयका सूचना अधिकारी दीपककुमार मिश्रले प्रदेशसभा सांसदहरूले गर्न चाहेको विकास निर्माणको काममा कार्यालयबाट आवश्यक सहजीकरणको काम मात्र हुने गरेको बताए । विगतमा जिल्लामा चलन नै नरहेको यस्तो प्रवेशद्वार निर्माणको होडबाजीमा पालिका पनि लागिपरेका छन् । अहिले थुप्रै पालिकामा वडास्तरमै प्रवेशद्वार निर्माण भएको देखिन्छ । संघीय सांसद श्रीवास्तवले आफूले स्थानीयस्तरबाटै माग आएपछि प्रवेशद्वार निर्माणमा बजेट विनियोजन गरेको बताए ।

प्रदेशसभा सांसद अञ्जुकुमारी यादवले स्थानीयको माग नभई प्रवेशद्वार निर्माण गर्ने सवालै नउठ्ने बताइन् । ‘स्थानीय मागअनुसार नै हामीले विकास निर्माणका काम योजनामा हाल्ने हो,’ उनले भनिन्, ‘त्यसैअनुरूप ती प्रवेशद्वार पनि निर्माण भएका हुन् ।’ सामाजिक अभियन्ता प्रकाश थारूले जनताका मुख्य आवश्यकतामा केन्द्रित भएर सांसदले बजेट खर्च गर्नुपर्ने बताए । ‘हामी राज्यको नजर नपुगेको ठाउँमा समुदायस्तरबाट सहयोग जुटाएर समाजसेवा गरिरहेका छौं । सांसदहरू भने राज्यको ढुकुटी यसरी रित्याउँदै छन्,’ उनले भने ।

(कान्तिपुर दैनिक)

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.