
१९ असार,काठमाडौँ- सत्ता गठबन्धन दलको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने प्रस्ताव लैजाने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको र छलफलपछि कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउने प्रस्तावमा सहमति भएको बैठकपछि उहाँले जानकारी दिनुभएको हो।
कोशी प्रदेशको सरकार गठनका लागि संघीय सरकारमा गठबन्धनमा भएका दलहरुको तर्फबाट नेपाली कांग्रेसको संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा अघि सार्ने सल्लाह दिएको नेता पाण्डेले बताउनुभयो ।
अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ । त्यसैले, कांग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सिट संख्या पनि उहाँहरुलाई नै पुर्याउने जिम्मेवारी दिएको उहाँले बताउनुभयो ।
समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।