Fast Nepal News

कोशीमा मतदान रोकेर सरकार जोगाउने कोसिस, प्रदेशसभा बैठक शुक्रबारसम्मलाई स्थगित

banner single news

१५ असार,विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको सरकार जोगाउने कोसिसमा समय लिँदा प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि सारिएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव पेस गरे पनि संसद्को विश्वास नपाउने स्थिति बनेपछि उनकै आग्रहमा सभामुख बाबुराम गौतमले बैठक सारेका हुन् । विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा बिहीबार सत्ता पक्ष-विपक्षमा रहेका दलका नेताहरुले छलफलमा भाग लिएका थिए ।

मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मत लिन प्रस्तावमाथि दलका नेताहरु बोलेर छलफल सकिएपछि सभामुख गौतमले मुख्यमन्त्री कार्कीको आग्रहमा साँझ ५:२० बजे आधा घण्टाका लागि सदन स्थगित गरेका थिए । त्यसपछि मुख्यमन्त्री कार्कीले सभामुखलाई सदनमा उठेको गम्भीर विषयहरुको जवाफ दिनका लागि आवश्यक तयारी गर्न समय लाग्ने भएकाले शुक्रबारसम्मका लागि सदन स्थगित गर्न आग्रह गरेको बताए । सभामुख गौतमले सदन स्थगित नहुने जवाफ फर्काएपछि आधा घण्टामा तयारी गरेर जवाफ दिन आउने समय लिएर मुख्यमन्त्री कार्कीलगायतका मन्त्रीहरु सदन बाहिर निस्केपछि फर्केर आएनन् ।

‘सुरुमा आधा घण्टाको समय लिएर गएका मुख्यमन्त्री कार्कीले थप १ घण्टाको र त्यसपछि एक दिनका लागि सदन स्थगित गर्न आग्रह गर्नुभयो,’ सभामुख गौतमले भने, ‘मुख्यमन्त्रीलगायतका मन्त्रीहरु प्रदेशसभामा फर्केर नआएपछि सूचना टाँसेर राति ८ बजेसम्मका लागि सदन स्थगित गरेपछि शुक्रबार १/२ बजेसम्मका लागि सदन स्थगित गर्न मुख्यमन्त्रीले एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीमार्फत जानकारी गराउनुभएको थियो ।’

मुख्यमन्त्री कार्कीले सदन स्थगित गर्नैपर्ने अडान लिएपछि सदन सञ्चालन गर्ने/नगर्ने बारे कानुनी परामर्शका साथै अन्य दलका नेता तथा प्रमुख सचेतकहरुसँग गौतमले छलफल गरेको बताए । प्रदेशसभाका सबभन्दा ठूला दल एमाले भएको र एमालेका मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउने अवस्थामा सशक्त प्रमुख प्रतिपक्षी भएर आउने हुँदा सभामुख गौतमलाई सदन सञ्चालनमा आउने असहजतालाई दृष्टिगत गरेर सहमतिमा नै समस्या समाधान गर्न दलका नेता तथा प्रमुख सचेतकहरुलाई आग्रह गरेका थिए । त्यसपछि सबैको सहमतिमा शुक्रबार ११ बजे बैठक बस्ने गरी सदन स्थगित गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

Inside Article Ads

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन् ।

प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन् । एक सांसदमात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ । एमाले नेता कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

 

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.