Fast Nepal News

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

banner single news

मोरङ — कार्तिक २५, २०७७।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २ जना होम आइसोलेसनमा र ८ जनाको यहाँका कोभिड अस्पतालमा मृत्यु भएको हो ।

सुन्दरहरैंचा–७ की ७७ वर्षीया वृद्धाको होम आइसोलेसनमा मंगलबार बिहान मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट सोमबार पोजिटिभ आएको थियो । यस्तै, विराटनगर–३ का ८९ वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा सोमबार राति मृत्यु भएको छ ।

विराटनगरस्थित नोबेल अस्पतालमा ५ जना, कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा २ जना, न्युरो अस्पतालमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

विराटनगरको न्युरो अस्पतालमा कटहरी गाउँपालिका–२ का ५० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ । निमोनियाको समस्याले कात्तिक २१ गते अस्पताल भर्ना भएपछि पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको अस्पताल प्रशासनले जनाएको छ ।

नोबेल अस्पतालमा रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको अस्पताल प्रशासनले जनाएको छ ।

यस्तै, नोबेल अस्पतालमै झापाको गौरादह–५ का ६५ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । कोरोना पोजिटिभ देखिएर श्वासप्रश्वासमा समस्या आएपछि उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै, नोबेल अस्पतालमै तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले कोरोना पुष्टि भएपछि उनलाई कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरेर उपचार गर्दागर्दै मृत्यु भएको बताए ।

Inside Article Ads

यस्तै, झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्धको नोबेलमा मंगलबार बिहान मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, नोबेल अस्पतालमै उदयपुरको त्रियुगा नगरपालिका ३ का २१ वर्षीय युवकको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको अस्पताल प्रबन्धक दाहालले बताए ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा सुनसरीको इटहरी उपमहानगर–५ की ६९ वर्षीया वृद्धाको मंगलबार बिहान मृत्यु भएको छ । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पाजिटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, विराटनगर ३ का ७७ वर्षीय वृद्धको कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको छ । कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको उपचार केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

(कान्तिपुर दैनिक)

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.