Fast Nepal News

सुरक्षा भित्रै असुरक्षित राउटे युवती

उनीसँग फोटो खिच्ने र टिकटक बनाउनेहरुको लर्को लाग्न थाल्यो । अन्तत: सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक सामाग्री ले उनको पहिचान नै गुमनाम बनायो ।

banner single news

डायमण्ड जोशी।
सुर्खेत,
जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायकी युवती भएका कारण हत्तपत्त कसैसँग बोल्दैनन् । बोलिहाले पनि मनका कुरा खोल्दैनन् । अन्य समुदायभन्दा छुट्टै पहिचान बोकेकाले पनि उक्त समुदायसँग बाहिरका व्यक्ति घुलमिल गर्न चाहन्छन् ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै युट्युबर, टिकटकर र फेसबुक प्रयोगकर्ताहरुले समुदायका युवती तथा अन्य व्यक्तिसँग फोटो खिच्ने र भिडियो बनाउने क्रम बढ्दै गयो । युट्युब पत्रकार भनेर चिनिनेहरुले राउटे समुदायका युवतीलाई सुन्दरी समेत भनेर चर्चामा पुर्‍यायो । उनीसँग फोटो खिच्ने र टिकटक बनाउनेहरुको लर्को लाग्न थाल्यो । अन्तत: सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक सामाग्री ले उनको पहिचान नै गुमनाम बनायो ।

दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेतको लेकबेंसी नगरपालिका हुँदै करिब ४ महिनाअघि गुर्भाकोट नगरपालिका–११ को आँपसोतीमा बसाइँ सरेका थिए । गुर्भाकोटमा आएपछि पनि बस्तीमा बाहिरबाट फोटो खिच्न, भिडियो बनाउन जानेहरुको लहर रोकिएन । केही महिनाअघि राउटे बस्तीका युवतीको चिनजान गुर्भाकोटकै स्थानीय युवासँग भयो । बस्तीमा फोटो खिच्न र भिडियो बनाउन जानेहरुका कारण बाहिरी समाजसँग अलि बढी घुलमिल हुन थालेकाले पनि ती युवकसँग चिनजान बढ्यो । तर उक्त चिनजानको मूल्य आफ्नो अस्तित्व गुमाएर चुकाउनुपर्छ भन्ने उनले सोचेकी पनि थिइनन् ।

Inside Article Ads

चिनजानपछि ती युवतीलाई स्थानीय युवाहरुले गुर्भाकोट–९ बोटेचौरमा रहेको मेहेलकुना होटलमा खाना खान जाने प्रस्ताव गरे । होटलमा जान मञ्जुर भएपछि युवाहरुले मदिरा सेवन गरी ती युवतीलाई समेत मदिरा सेवन गराए । मदिरा सेवन गरी मातिएका युवाले भिडियो खिच्दै उनीहरुलाई दुर्व्यवहार गरेको भिडियोमा देखिन्छ । जेठ २१ गते राति घटना भएको भोलिपल्ट सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फि विरोध भयो । भिडियो भाइरल भएको भोलिपल्ट २३ गते बिहान ३ बजे प्रहरीले उक्त होटलबाटै तीन युवालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा होटल सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट नगरपालिका–९ का ३५ वर्षीय दमनबहादुर घर्ती र २४ वर्षीय भुपेन्द्र बुढा रहेको प्रहरीले जनाएको छ ।

घटनापछि आफ्नै बस्तीमा फर्किएका युवतीहरु भिडियो भाइरल भएको र युवाहरुलाई पक्रिएको खबरबारे अञ्जान छन् । उनीहरुले आफूमाथि भएको दुर्व्यवहार नै पहिचान गर्न सकेका छैनन् । न त उनीहरुले आफूमाथि शोषण भयो भनेर आवाज नै उठाएका छन् । बस्तीमा आफ्नाहरुका माझ बसेका ती युवतीहरुलाई अब आफ्नाबाटै जोगिन मुस्किल देखिएको छ । राउटे समुदायले बनाएको नियम कानुन अनुसार ती युवतीमाथि भएको घटनाबारे थाहा पाएमा मृत्युदण्डको सजायसमेत दिन सक्ने केही अध्ययनले देखाएको छ । बस्तीमा बाहिरका व्यक्तिहरुलाई प्रवेश गर्न नदिनका लागि प्रहरीको कडा सुरक्षा छ । तर ती युवतीहरुको ज्यान बस्तीभित्रै जोखिममा छ ।

कर्णाली प्रदेश सरकारले बस्तीमा पुगेर स्थलगत अध्ययन गरी घटनाको अनुसन्धानमा सहजता ल्याउनका लागि सहजीकरण गर्न भन्दै ४ सदस्यीय कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले गरेको अध्ययनअनुसार राउटे समुदायले घटनाबारे थाहा पाउनेबित्तिकै युवतीहरुलाई अस्वीकार गर्नेदेखि मृत्युदण्डको सजायसमेत दिन सक्ने देखिएको छ । सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले उक्त घटनाको भिडियो सार्वजनिक भएकोबारे जानकारी गराउने हो भने ती युवतीले आत्महत्या समेत गर्न सक्ने जोखिम रहेको बताइन् ।

‘हामीले धेरै सजग र संवेदनशील भएर उनीहरुसँग कुरा गर्नुपर्नेछ,’ उनले भनिन्, ‘काउन्सिलिङ गरेर ती युवतीहरुलाई स्वास्थ्य परीक्षणका लागि मनाउनेतिर हामी लागिरहेका छौँ, उनीहरुमाथि भएको घटना दुर्ववहार हो भन्ने जानकारी गराएर नै स्वास्थ्य परीक्षण गरिनेछ ।’

उनले एक/दुई दिनमै युवतीको स्वास्थ्य परीक्षण गरिने बताइन् ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.