Fast Nepal News

चौकुनेमा कक्षा-८ को नतिजा दयनिय

banner single news

डायमण्ड जोशी।
२० वैशाख, सुर्खेत।

चौकुने गाउँपालिकाले लगेको शैक्षिक सत्र २०७९ को कक्षा-८ को पालिकास्तरिय परिक्षाको नतिजा निकै दयनिय देखिएको छ। चौकुनेमा ५५६ जना उपस्थित परिक्षार्थीहरूले परिक्षा दिएका थिए। तर, चौकुने भरी १०० जना मात्रै उत्तीर्ण भए। मा.वि शोभानचौरले १६ जनामा १३ जना उत्तीर्ण गरि प्रथम स्थान हाँसिल गरेको छ, भने आ.वि मोतिसेराले १८ जनामा १० जना उत्तीर्ण गरि दोश्रो स्थानमा आएको छ।
बेप्रवाह राज्य सञ्चालन प्रणाली र नीति नियमका गफिला र चिल्ला कुराहरूमा मात्र सरकार एकोहोरो भएका कारण चिन्ताजनक परिणाम भोग्नुपरेको जनप्रतिनिधि आफै स्विकार्छन्।
‘सरकारी काम कहिले जाला घाम’ भन्ने प्रवृति हाबी हुने र प्रशासनको अनुगमन तथा सुपरिवेक्षणमा निकै कन्जुस्याइँ हुनाले यस्ता त्रुटिहरू भरसक भैरहने सामुदायिक विद्यालयहरूका प्र.अहरूको सरकार प्रति आरोप छ।

विद्यार्थीहरूको साप्ताहिक मूल्याङ्कन गरि ऊनीहरूको अवस्था बारे अभिभावकलाई विद्यालयमै बोलाएर जानकारी गराउनु विद्यालयको कर्तव्य र दायित्व हो। तर, आफूलाई नमुना विद्यालय कहलाउने जीवनज्योति मा.वि गुटुले शैक्षिक सत्र २०७८ मा कक्षा १० को नतिजा २ जनामा चित्त बुझाउनुपर्‍यो। र, भर्खरै प्रकाशित ८ कक्षाको नतिजामा ५१ जना अध्ययनरत कक्षामा ४ जना मात्रै उत्तीर्ण भए। यस्तो अवस्था देखिनाले मा.वि गुटु र राजनीतिले गिजोलिएका चौकुनेका कैयौँ विद्यालयहरूले कहिले आफ्नो शैक्षिक सुधार गर्न सक्लान् भन्ने यक्ष प्रश्न खडा गरेका छन्।
शिक्षकहरू राजनीतिक दबाब र प्रभावका कारण शुभेच्छुक संस्थाले निर्देशन दिएको पार्टीका काममा व्यस्त हुन्छन् र विद्यालयमा विद्यार्थीहरूमा पठन क्रियाकलाप निकै खस्किँदै जान्छ।

चौकुने गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष कमल बहादुर जिसीले वर्तमान शिक्षाको स्तर खस्केकोमा दुख व्यक्त गरे। देशमा राज्य पुनर्संरचना भएपनी शिक्षामा सुधार ल्याउन नसकिएकोमा उनले दुख व्यक्त गरेका हुन्। विद्यार्थीहरूको शैक्षिक गुणस्तर कमजोर, अभिभावकहरूको शिक्षा प्रति उपेक्षा जस्तो व्यवहार, शिक्षकहरूको लापरबाही भएको भन्दै अध्यक्ष जिसीले सबै तहलाई आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए।
अध्यक्ष जिसीले भने: एउटा एक्सन मात्रै लिएका थियौँ, यतिठुलो कमजोरी देखियो, अब यस्तै कडा खालका एक्सन लिएर सार्वजनिक रूपमा कमीकमजोरी भेटिए तत्कालै विषयगत तवरले विज्ञ व्यक्ति नियुक्त गरि शैक्षिक गुणस्तर वृद्धि गर्नेछौँ। उनले थपे; गाउँपालिकाको आधा भन्दा बढी बजेट शिक्षामा खर्चिएका छौँ, त्यसकारण शैक्षिक सुधार गर्नका लागि अभिभावक विद्यार्थी र शिक्षकहरूलाई प्रतिबद्ध भएर लाग्न आव्हान गर्दछौँ।

त्यस्तै वडा नम्बर ७ का अध्यक्ष धनिराम धमालाले सबै पक्षबाट लापरबाही भएकोमा दुख व्यक्त गरेका छन्। शिक्षकहरूबाट समय मात्रै बिताउने, अभिभावकबाट सरकारी विद्यालय भनेर लापरबाही गर्ने, विद्यालय व्यवस्थापन समिती र शिक्षा शाखाको नियमित अनुगमन र व्यावहारिक कार्यक्रम गर्न कन्जुस्याइँ र जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका पनि राम्रो सँग नपुगेको हुनाले यस्तो नतिजा भोग्नुपरेको अध्यक्ष धमालाको भनाइ छ।
अध्यक्ष धमाला भन्छन; कोरोनाकालबाट हामीले विद्यार्थीहरूलाई तल्लो तहकै कक्षाबाट धकेल्दै ल्यायौँ। फेल बनाएर समय बर्बाद होला भनेर अनिवार्य पास बनायौँ, तर जग चाहिँ बलियो हुन सकेन।
परिक्षा केन्द्र परिवर्तन गर्दा विद्यार्थीहरूको मनोभावना पनि कमजोर भयो र उनिहरू लेख्न हडबडाएका होलान्। तर जे जस्तो भएपनि यसले गर्दा उनिहरूमा अभ्यास सीप र सिर्जनात्मक सीपको विकास हुने अनुमान गरेको छु। यत्तिकै नतिजाले देशमा योग्य जनशक्ति निर्माण हुनसक्छ। शिक्षक महासंघ चौकुनेका अध्यक्ष तथा मावी गुटुका शिक्षक दिनेशप्रसाद जोशीले शिक्षा शाखा अनुगमनमा करिब शून्य, प्रशासनिक काममा बढी व्यस्त, राज्यस्तरको उदासिनता, केही शिक्षकहरूको लापरबाही, अभिभावकहरू विद्यार्थीको शैक्षिक अवस्थाबारे निरिह र विद्यालयले दिने प्रयोगात्मक सीप निकै न्यून देखिएका कारण पनि यस्तो नतिजा आएको बताए। न्युज नेपाल एच डिमा डायमण्ड जोशी सँग कुरा गर्दै जोशीले यसका कमजोरीहरू राज्यलाई मात्रै थुपारेर शिक्षक ओभानो रहन नसक्ने बताए। जोशी भन्छन; शिक्षा शाखा प्रमुखहरू टेबुल वर्कर र शैक्षिक सुपरिवेक्षणमा शून्य छन्। संघियता आएपश्चात झन् शैक्षिक क्षेत्र उकासीनुपर्ने झन् खस्किदै गएको छ। संघीय शिक्षा मन्त्रालय नीति निर्माणमा व्यस्त छ, प्रदेश यता न उताको छ, स्थानीय सरकार गफमा र तलब खुवाउनमा व्यस्त छ।
महासंघका अध्यक्ष जोशीले दृढताका साथ यस नतिजालाई हेरेर जिम्मेवारीका साथ लाग्ने हो भने ३ वर्षमै चौकुनेको शिक्षा क्षेत्र उकासिन सक्नेमा जोड दिए। शिक्षकहरू कक्षामा खासै चासो नदिने र ट्युसन कक्षालाई बढी प्राथमिकता दिने हुनाले पनि शैक्षिक क्षेत्र बदनाम हुनुपरेको जोशीको भनाइ छ।

जनजागृत मावि तोश्राका शिक्षक थानेश्वर उपाध्यायले समाजले सामुदायिक विद्यालयका शिक्षकहरूलाई हेर्ने दृष्टिकोण निकृष्ट र कतिपय शिक्षकहरूको टाइमपास तथा शिक्षकहरूको अध्यापन सीप र विद्यार्थीहरूको पठनसीप निकै कमजोर भएकाकारण यस्तो नतिजा भोग्नु परेको बताए।
शिक्षक उपाध्याय भन्छन; आधारभूत तहको परीक्षा स्थानीय निकायले गर्न पाउने प्रावधान छ। विगतमा पनि परिणाम यही नै हो तर स्थानीय तहले विद्यालयलाई नै परीक्षा गर्न दिने,उत्तरपुस्तिका जाँच गर्न दिने र अंक पनि चढाउन दिने गर्दै आएको थियो। यसरी शिक्षकहरूले आफ्नै पकेटबाट अंक दिएर पास हुने प्रणाली बसिसकेको थियो यसको अन्त्य भयो, ठिकै भयो। तर, यसपाली भने पालिकाले परीक्षा र मूल्याङ्कन आफ्नै निगरानीमा गरायो त्यसैले यो नतिजा देखिएको हो, विगतका वर्षहरूमा पनि नतिजा यही नै हो।

आ.वि मोतिसेराका प्रधानाध्यापक जगतराज जोशीले स्थानीय तहमा शिक्षाको गुणस्तर कत्तिको राम्रो छ? भन्ने प्रश्नलाई लिएर शिक्षाको गुणस्तरमा परिवर्तन ल्याउनका लागि भनेर यसपाली परिक्षा पनि फरकफरक केन्द्रमा गरेको बताए। उनले भने; उत्तरपुस्तीका पनि जाँच एकै ठाउँमा गरियो, यसले पालिकाको शिक्षाको गुणस्तर के रहेछ भन्ने कुराको वास्तविकता पत्ता लाग्यो। हाम्रो विद्यालय दोश्रो भएको छ, अब सत् प्रतिशत उत्तीर्ण गर्ने छौँ।
प्र.अ जोशीले अब विद्यालयहरूमा शिक्षाको सुधारका लागि योजना बनाउने काममा सरकार उदासीन भएर बस्न नपाउने बताएका छन्। विद्यालयसँग राज्य देखि सबै पक्ष जिम्मेवार भइ हातमा हात मिलाएर परिणाम राम्रो ल्याईने दाबी गरे।

Inside Article Ads

अभिभावकले अभिभावकीय जिम्मेवारी र विद्यार्थीहरूले पढाइ प्रति त्यति चासो नदिएका कारण यस्तो परिक्षाफल भोग्नुपरेको स्थानीय जानकारहरू बताउँछन्।

मा.वि शोभानचौरका प्रधानाध्यापक पदम शाहीले सामुदायिक विद्यालयहरूमा धेरै राजनीति र अभिभावकको विद्यालय अथवा आफ्ना बालबालिका प्रति चासो पनि कम देखिएका कारण यस्तो निराशाजनक नतिजा आएको बताए।
विकटका विद्यालयहरूमा प्रशासन पनि निरीह हुनु मूल पाटो रहेको प्र.अ शाही बताउँछन्। पूर्वाधार अभावका कारण अध्ययन अध्यापन गराउँदा मुस्किल पर्ने हुनाले पनि अध्यापन गराउने वातावरण असहज हुने उनको धारणा रहेको छ।

चौकुने गाउँपालिकामा रहेको एउटा मात्रै आधारभूत निजी विद्यालयमा १ जना मात्रै परिक्षार्थी उत्तीर्ण भए।

निल नतिजा आएका विद्यालयहरू।
१. मा.वि धनरास- चौकुने-१
२. आ.वि. बोला- चौकुने- २
३. आ.वि जिउनारीताल- चौकुने-७
४. मा.वि वीरगौडा- चौकुने-९

Visited 71 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.