Fast Nepal News

मल विनाको सरकार, मल भरिएको सरकार

banner single news

डायमण्ड जोशी
गोडमेल गरेर मल हाल्ने समयमा पनि मलको सहज पहुँच नहुँदा चौकुनेका धान किसान चिन्तित बनेका छन्। वर्षदिन खाद्यान्न जोहो गर्न लगाइएको धानलाई रासायनिक मल नपाउँदा अहिले चौकुने गाउँपालिकाका किसानहरु ठुलै मर्कामा परेका छन्।
असार सकिएपछि कृषकहरुलाई आनन्द त भयो। तर त्यो आनन्द महशुस गर्न नपाउँदै किसानहरुलाई धान गोडमेल गर्नुपर्ने भयो। गोडमेल गरेर मल छर्नुपर्ने अवस्था आएपछी चौकुने गाउँपालिका भरिका कृषक मलका लागि महिनौ ओहोरदोहोर गर्नुपर्ने बाध्यतामा छन्। एकैछिन हिलोबाट उम्केर विश्राम गरिरहेका किसानहरुका टाउकामा ढुंगो बजारिए झैँ समस्याहरु थपिँदै जान थालेका छन्। अलि जान्ने बुझ्ने र पहुँच भएकाहरुले मल पाए। तर बोल्न नसक्ने, केही थाह नपाउने निरक्षर ती बुढा आमा बुवाहरुका रुग्ण शरिर यस्तो उम्सोमा मल लिनका लागि भिडमा थिचिएको देखिन्छ। यस्तो घाममा ती आमाबुवाहरुको शरीर पसिनाले निकै गनाउने र डढेर कालो देखिन्थ्यो।

धान रोपिसकेपछी आराम भयो सोचेका किसानहरु मल नपाएर चिन्तामा छन् । भरिपुर्ण र नवलक्ष्मी साना किसान सहकारी संस्थाले मल वितरण गर्दै आईरहेका थिए। तर यस वर्ष सहकारीले नै बेवास्ता गरेपछि साल्ट ट्रेडिङ्गले १०० बोरा छुट्ट्याएको मल पनि ल्याउन बेवास्ता गरेपछि अहिले किसानहरु मन दुखाई दुखाई रित्तो हात फर्किनुपरेको अवस्था छ। चौकुने गाउँपालिकाको केन्द्र गुटु मै रहेको उक्त संस्थाले पश्चिम कै किसानहरुको हकहितका लागि लड्ने ठूलो सहकारी दाबी गर्दै आईरहेको छ। तर रोपाई सकिएको २२ देखि २८ दिनमा हानिसक्नुपर्ने मल २ महिना पुग्नै लाग्दा पनि सहकारीले कुनै चासो नदेखाएको कृषक विष्णुप्रसाद उपाध्यायले जानकारी दिए। सबै किसानहरुको समस्या एउटै छ। किसानहरु सँग कुरा गर्दा कृषकहरुले आवश्यक भएको समयमा मल नपाए उत्पादन वृद्धि हुन नसक्ने र यहि छाक टार्न पनि निकै ग्रसित हुनुपर्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । किसानहरुले भने ‘हरेक वर्ष यस्तै सास्ती र समस्या झेल्दै आएका छौँ’ , ‘मलको समस्या सधैँ हुन्छ, विगतका वर्ष महङ्गोमा व्यापारीबाट त किन्न पाइन्थ्यो, तर यस वर्ष त्यो पनि निकै न्युन छ।’

अबका दिनहरुमा रासायनिक मलको थप अभाव भएपछि खेती कसरी गर्ने भन्ने कृषकहरुको टाउको दुखाईको विषय भएको र कृषकहरु अन्योलमा परेको चौकुनेवासी कृषक लक्ष्मीप्रसाद उपाध्यायले बताए। ‘खेतीपाती सुरु गर्नुभन्दा पहिले मलखादको जोहो गर्नुपर्छ’ तर यतिबेला कृषकहरुले प्राङ्गारिक मल बनाउन समेत गाईगोरु, बाख्रा, भैंसी जस्ता वस्तुहरु पालन गर्न छोडिसकेको समय भएकाले कृषकहरु रसायन मलकै भरमा छन्। ‘अहिले आवश्यकताबमोजिम मल पाउन नसकेकाले रोपेको धानको बीउ पहेँलिएको अवस्थामा विछिप्त छ।

चौकुनेका किसान थानेश्वर उपाध्यायले विगतमा सहकारीमै मल र बीउ खरिद गर्दथे । ‘सहकारीमै बीउ र मल किन्न पाइन्थ्यो, यस वर्ष सहकारीले जनताको दुखेसो नसुनेको होकि, डिलर बाट सहकारीले नै मल नपाएको हो, हिजोका दिनमा पाईरहने मल यस वर्ष नपाएपछि हामी निकै चिन्ताग्रस्त अवस्थामा छौँ। कृषक उपाध्यायले भने, ‘हाम्रो त पानी समेत नपुग्ने जमिन, त्यहि पनि आकाशे पानी र अलि अलि कुलोको पानी लगाएर यस्तो गर्मीमा रोपेको धानको बीउ अब मल नपाएपछि रहला कि नरहला निकै दुख लागेको छ।

Inside Article Ads

कृषि सामग्री तथा मल उत्पादन कम्पनीले आवश्यकताअनुसार रासायनिक मल मौज्दात गरिदिएपनि सहकारी विमुख भएको र अहिलै चाहेपनि मल आयात गर्न सक्ने तर सहकारी स्वयमले समस्या सिर्जना गराएको कृषकहरुको आरोप छ। लकडाउनको समयमा पनि पाएको मल अहिले आएर कत्ती नपाउनु लज्जास्पद विषय नै हो।
कम्पनीसँग भएको मल पनि लकडाउनका कारण बजारमा पठाउन नसकेकाले जम्मा नै देखिन्छ। कम्पनिको डाटा हेर्दा अहिले २ हजार ५ सय टन युरिया, एक हजार ३ सय टन डिएपी मल मौज्दात रहेको कम्पनीले दाबी गरिरहेको छ।
हुन त मल जति ल्याएपनी खेर जाने भन्ने छैन, तर सहकारिको किसान प्रती यो उपेक्षा देख्दा किसानका आँखा रसाएका देखिन्छन्। खपत हुने मल पनि हुँदाहुँदै ल्याउन नसक्ने सहकारी भन्दै सहकारिका वचतकर्ताहरु समेत सहकारीलाई आरोप बाहेक केही लगाउँदैनन्।

हप्तौं देखि समस्या देखिरहेता पनि स्थानिय सरकार नाजवाफ छ। अब जनताको दुख कसले हेर्दिने भन्दै जनता आक्रोशित र चिन्तित छन्। स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३ महिना पनि पूरा भएको छैन। तर गाउँ गाउँमा सिंहदरबार भन्दै नारा लगाउने माओवादी केन्द्र कै सरकार चौकुने गाउँपलिकामा छ। यतिमात्रै होईन कि निर्वाचनका बेला चुनावी गठबन्धन गरेर जितेको काँग्रेस पनि कृषकहरुका लागि बोलेको अवस्था छैन। सत्ता स्वार्थका लागि सत्तासीन काँग्रेस माओवादि र एमाले अहिले चौकुने गाउँपालिका का वडा र गाउँपालिकाको कुर्सीमा विराजमान छन्। तर जनताका लागि बोलिदिने चाहिँ को होला? चौकुनेमा अहिले दोश्रो सरकार सञ्चालनमा छ। न सरकारले आधिकारिक विक्रेतालाई सहजताको वातावरण मिलाएको छ, न जनतालाई ढुक्क नै बनाउन सकेको छ। त्यसो त नवलक्ष्मी साना किसान सहकारी संस्थाको वचतको क्षेत्र हेर्ने हो भने यहाँ अवस्थित बैंकको सुचक भन्दा माथि छ। तर सुचकमा थप वृद्धि हुन टेवा पुग्ने कृषकहरूलाई मल विक्री गर्न सहकारी भने तयार छैन। सहकारीलाई मल बेच्दा घाटा वा नोक्सान हुने भन्ने हुँदैन फाईदा नै हुन्छ। तर गाउँपालिकाले यस विषयमा कुनै बहस नउठाईदिँदा अझ सास्ती खेप्नु परिरहेको छ। किसानलाई मल दिने जिम्मेवारी कसको हो, त्यो निकाय कहिले मुखरित हुने? पक्कै पनि गाउँपालिका सरकार बाहिर रहेको एमालेले पनि सरकारलाई ध्यानाकर्षण गराउन सक्छ। तर नजिकका आफन्तलाई पक्षपोषण गरि फाईदा लुट्ने प्रवृतिको अन्त्य भै कहिले सामञ्जस्यता र विश्ववन्धुत्व कायम हुने? सत्ता शक्तिहिन भए जस्तो नहोस्, जनता एकछिनको स्वादमा नरुमल्लिउन्, जनता परिवर्तन होऔँ, परिवर्तन सम्भव छ, आफ्नो दुखेसो सुन्ने र बुझ्ने नेतृत्वको विकास कहिले गर्ने? व्यक्तित्व विकास गरौँ,नेतृत्व स्वत: विकास हुन्छ । स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार प्रती न्यानो सुझाव अनि खबरदारी सहितको ध्यानाकर्षण।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.