
वैशाख, पोखरा । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको हाे ।
प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको गण्डकी प्रदेश सरकार मतियार बनेको र यो गण्डकी प्रदेशका जनताको भावनाबिपरीत रहेको उनको भनाइ थियो ।
संविधानको धारा १ सय ८८ मा प्रधानमन्त्री वा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा विश्वासको मत लिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि मुख्यमन्त्रीले त्यसो नगरेकाले यो असंवैधानिक सरकार भएको नेपालीले दाबी गरे । सत्ता साझेदार दलले समर्थन फिर्ता लिइरहँदा पनि मुख्यमन्त्री कुर्चीमै रहनु गलत भएको उनको भनाइ थियो ।
