
सुमित्रा भुजेल
गण्डकी प्रदेशअन्तर्गत राष्टिय युवा परिषद लमजुङ जिल्ला युवा समिति लमजुङका अध्यक्ष जुन तामाङले पदभार ग्रहण गर्नुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा तामाङले जिल्ला समन्वय समितिमा आज पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण कार्यक्रममा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले सबै युवाहरुको मन जित्नेगरि काम गर्न अध्यक्ष जुन तामाङलाई सुझाव दिनुभयो । उहाँले सबै युवाहरुको मन जितेर काम गर्न सकेमा मात्र पदभार ग्रहणको सार्थकता हुने बताउनुभयो । मुख्यमन्त्री गुरुङले युवाहरुलाई सिप दक्षता प्रदानगरी युवाहरुलाई स्वरोगजार बनाउन सकेमा मात्र देशले समृद्धि हासिल गर्न सक्ने भएकाले प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । त्यस्तै,युवाहरु सत्य बन्न, उद्यमी, व्यवसायी बन्दै समाजसेवी भनेर देश विकासको काममा ध्यान दिनुपर्ने मुख्यमन्त्री गुरुङले धारण ब्यक्त गर्नुभयो । युवाहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रदेश सरकारले पनि रोजगारको सिर्जना गर्न लागेको उहाँले बताउनुभयो । युवाहरुलाई प्रदेशले विभिन्न खाले तालिम प्रदान गर्दै दक्ष युवाशक्ति उत्पादनमा प्रदेश सरकार लागेको बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले कोभिड–१९ ले मर्कामा परेका व्यवसायलाई थौरै भएपनि राहत दिन गण्डकी प्रदेश सरकारले एक अर्व छुट्टाएकोले व्यवसायीलाई राहत पुग्ने बताउनु भयो । उहाँले व्यवसायीबाट आवेदन माग गरिएकोले आवेदन दिने व्यवसायीबाट मापदण्ड बनाएर छनोटगरी बैंकहरुले लगानी गरेको ऋणको व्याज त्यही एक अर्वबाट तिरिदिने भएकोले बैंकले ९ अर्वसम्म लगानी गर्नसक्ने बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले शुभकामना मन्तब्य व्यक्त गर्दै युवाहरु परिवर्तन र समृद्धीका वाहक भएकोले उनीहरुलाई सक्षम बनाउन सरकार लागि रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला युवा समितिका निवर्तमान अध्यक्ष विवश बुढाथोकीले अध्यक्ष तामाङलाई पदस्थापना गराउनुको साथै निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमका संविधानसभा सदस्य जमीन्द्रमान घले, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, प्रहरी नायब उपरिक्षक गंगाबहादुर थापा लगायत युवाहरुको ठूलो संख्यामा उपस्थिती रहको थियो । नवनियुक्त अध्यक्ष तामाङलाई युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदले गत फागुन ३ गते अध्यक्षमा नियुक्ति गरेको थियो भने, तामाङले गत १७ गते काठमाण्डौंमा सपथ ग्रहण गर्नुभएको थियो।
