
सुमित्रा भुजेल
यहाँका नागरिकलाई स्वास्थ्य पहुँचबाट वञ्चित हुन नदिन जनतासँग स्वास्थ्य कार्यक्रम बिहीबारदेखि शुरु गरिएको छ ।
जिल्लाको मस्र्याङ्दी गाउँपालिकाको सहयोगमा वडा नं ४ ले वडाभित्रका नागरिकलाई लक्षित गर्दै जनतासँग स्वास्थ्य कार्यक्रम शुरु गरिएको हो । सो वडाको च्याम्चेमा एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले शुभारम्भ गर्दै गाउँपालिका नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै अघि बढिरहेको बताए ।
नागरिकको स्वास्थ्यलाई लक्षित गरी सञ्चालन भएको यस कार्यक्रमले नागरिकको स्वास्थ्यमा पहुँच पुग्ने बताउँदै उनले पालिकाका अन्य वडामा पनि विस्तारै कार्यक्रम लागू गर्ने जानकारी गराए । वडाध्यक्ष सुमन गुरुङका अनुसार ४० वर्षमाथि उमेरका नागरिकलाई सेवा दिने उद्देश्यका साथ उक्त कार्यक्रम शुरुवात गरिएको र वडाका २० टोलमा कार्यक्रम सञ्चालन हुने भएको छ । पहिलो दिनमा सो क्षेत्रका ७० नागरिकको स्वास्थ्य जाँच गरिएको थियो ।
