काठमाडौँ — २१ असोज २०७८
काठमाडौँ , देव्रेहाते स्पिनरद्वय सागर ढकाल र साहब आलमको सानदार बलिङमा चितवन टाइगर्स बुधबार बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल पुगेको छ । चितवनले पोखरा राइनोजलाई क्वालिफायरमा ९ विकेटले सजिलै पराजित गरी पहिलोपल्ट ईपीएलको फाइनल पुगेको हो । सागर र साहबले ४–४ विकेट लिएपछि टस हारेर ब्याटिङ निम्तो पाएको पोखरा १५ ओभर खेल्दै ६६ रनमै अलआउट भयो । अफगानिस्तानका ओपनर मोहम्मद साहजादले २६ बलमै ४८ रन बनाएपछि चितवनले ७.५ ओभरमै लक्ष्य पार गर्यो । पोखरालाई ईपीएल इतिहासमै सबैभन्दा कम स्कोरमा समेट्दै चितवनले फाइनल तय गरेको हो । सन् २०१७ को पहिलो सिजनमा राउन्ड रोबिनबाटै बाहिरिएको चितवन २०१८ को पछिल्लो सिजन प्लेअफसम्म पुगेको थियो । चितवनको फाइनल प्रवेशलाई कप्तान सोमपाल कामीले अविश्वसनीय रूपमा लिए ।
‘जब हामीले यसपालि यात्रा सुरु गरेका थियौं, कसैले सोचेका थिएनन् चितवन टाइगर्स फाइनल पुग्छ भनेर । हाम्रो टिममा राष्ट्रिय टोलीबाट नियमित खेलिरहेका खेलाडी छैनन्, सबै जुनियर खेलाडी छन् । तर, मलाई आफ्नो खेलाडीमाथि एकदमै विश्वास थियो,’ सोमपालले भने, ‘मैले टिम मालिकलाई पनि भनेको थिएँ, यसपालि हामी फाइनल खेल्छौं भनेर । मैले वाचा गरेको छु, जस्तो योजना बनाएको छु, त्यो कार्यान्वयन भयो भने शतप्रतिशत रूपमा हामीले उपाधि पनि जित्छौं ।’ पोखरामाथि चितवनको यो गातार तेस्रो जित हो । राउन्ड रोबिन लिगमा पनि पोखरालाई १२३–७ को स्कोरमा रोक्दै चितवनले ९ विकेटकै जित हात पारेको थियो । सन् २०१८ को सिजनमा पोखरा र विराटनगर वारियर्सबीचको खेलमा दुवै टोलीले समान ८४ रन बनाएपछि खेल ‘टाइ’ भएको थियो । ईपीएलको न्युन स्कोर यसअघि यही थियो । चितवनले सबैभन्दा कम बल खेल्दै विजय लक्ष्य पूरा गरेको कीर्तिमान पनि बनाएको हो ।
सागरले असेला गुणरत्नेलाई १ रनमा बोल्ड गरे भने विवेक यादवलाई २ रनमा एलबीडब्लू आउट गरे । उनले विक्रम सोबलाई पनि ३ रनमा पेभेलियन फर्काए । करिम जन्नतले लोकेश बम (५) लाई आउट गरे भने साहबले अन्तिम २ विकेट लिई पोखराको इनिङ्स टुंग्याए । नन्दन यादव आफूले सामना गरेको पहिलो बलमै साहबबाट कट एन्ड बोल्ड भए । सुसन भारीले १४ बल खेल्दा २ चौका प्रहार गरी १२ रन बनाए । उनी आउट हुने अन्तिम खेलाडी थिए । सागरले ४ ओभरमा १४ रन खर्चे । प्लेयर अफ द म्याच साहबले ४ ओभरमा १० रनमात्र खर्चे । साहजादले ७ चौका र २ छक्का प्रहार गरे । बाउन्ड्रीमा विजयी रन प्रहार गर्ने प्रयासमा उनी आउट हुन पुगे । प्रतियोगितामा पहिलो खेल खेलिरहेका हासिम अन्सारीले उनलाई राम्रो साथ दिए । उनले २० बल खेल्दा १ चौका र १ छक्कासहित अविजित १४ रन बनाए । जन्नतले आफ्नो पहिलो बलमै विजयी चौका प्रहार गरे ।
पोखरा र भैरहवाको प्रतिस्पर्धा
पोखरा र भैरहवा ग्लाडियटर्सबीच बिहीबार हुने खेलेको विजेताले चितवनसँग उपाधिका लागि खेल्नेछ । भैरहवाले बुधबारै भएको इलिमिनेटरमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले हरायो । १ सय ८९ रनको लक्ष्य पाएको काठमाडौं किंग्सले ८ विकेट गुमाई १ सय ७२ रनमात्र बनाउन सक्यो । असान प्रियञ्जनले ४८ बलमा ६८ रन बनाए पनि काठमाडौं किंग्सलाई जित दिलाउन सकेनन् । उनले ५ चौका र ४ छक्का प्रहार गरे । राजु रिजाल १०, रायन बर्ल शून्य, अमित श्रेष्ठ १९, जनक प्रकाश १४ बलमा २८, अमरसिंह राउटेला ५, कप्तान सन्दीप लामिछाने ६ र दिनेश अधिकारी ८ बलमा १५ रनमा आउट भए । भैरहवाका धम्मिका प्रसाद, आरिफ शेख र कुशल मल्लले २–२ र दुर्गेश गुप्ताले १ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान शरद भेषावकरले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४९ रन बनाएर भैरहवालाई बलियो स्थितिमा उभ्याए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । तमिम इकवाल ९ रनै आउट भएपछि अर्का ओपनर प्रदीप ऐरीले २७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३९ र उपुल थाराङ्गाले ५ चौका प्रहार गर्दै ३३ बलमा ३५ रन जोडे । कुशल मल्लले २० बलमा चार छक्कासहित ३२ रन बनाएर मध्यक्रममा शरदलाई राम्रो साथ दिए । आरिफ ८ बलमा १ चौका र १ छक्कासहित १५, रोहित पौडेल १ रन र दुर्गेश शून्यमा आउट भए । काठमाडौंका प्रियञ्जन र सन्दीपले २–२ विकेट लिए । प्रियन्जनले ३ ओभरमा १७ र सन्दीपले ४ ओभरमा ३६ रन खर्चे । शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १–१ विकेट लिए ।
( कान्तिपुर दैनिक )