
काठमाडौँ —२४ भाद्र २०७८
काठमाडौँ , एभरेस्ट प्रिमियर लिग (ईपीएल) को साबिक विजेता ललितपुर प्याट्रियट्सले विदेशी खेलाडीको पूर्णताबिना आसन्न प्रतियोगिताका लागि टिम सार्वजनिक गरेको छ । बुधबार ललितपुरले स्वदेशी तथा विदेशी खेलाडी, मुख्य प्रायोजक र प्रायोजक सार्वजनिक गरेको हो । ईपीएल असोज ९ देखि २४ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना भएको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ ।यसपल्ट ललितपुरले अघिल्लो संस्करणकै खेलाडीलाई निरन्तरता दिएको छ । टिमको नेतृत्व राष्ट्रिय टोलीका कप्तान रहेका ज्ञानेन्द्र मल्लले गर्नेछन् । राजु बस्न्यात सुरुदेखि नै टिमका प्रशिक्षक छन् । उमेर समूहका खेलाडीहरू विभत्सु थापा र अरियो पौडेललाई ललितपुरले ट्यालेन्ट हन्टमार्फत अनुबन्ध गरेको छ । ललितपुरको मुख्य प्रायोजकमा नेपाल इन्भेस्टमेन्ट बैंकले नै निरन्तरता दिएको छ । वाटर एड नेपाल प्रायोजकका रूपमा प्रवेश गरेको छ ।
शिखर इन्स्योरेन्स, फिट–राइट सुज, केन्ट आरओ, भायोनेट, एसटीसी स्पोर्टसलगायतका प्रायोजक रहेका छन् । ललितपुरले ईपीएलको उद्घाटन खेलमा काठमाडौं किंग्स ११ सँग प्रतिस्पर्धा गर्नेछ । ईपीएसको खेलतालिका बुधबार सार्वजनिक गरिएको थियो । नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता दाबी गरिएको ईपीएल विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । टिमको तयारी र लक्ष्यबारे ललितपुर प्रशिक्षक बस्न्यातसँग कान्तिपुरका कुशल तिमल्सिनाले गरेको संक्षिप्त कुराकानी :
स्वदेशी खेलाडीले पूर्णता पाइसकेको छ । विदेशी खेलाडीमध्ये तीनजना अनुबन्धित भइसकेका छन् । अर्को एक खेलाडी सम्भवतः सार्क राष्ट्रबाटै आउनेछन् । तीनमध्ये एलेक्स ब्लेक आउने सम्भावना कम छ । बेलायतले कोरोना संक्रमण दरका आधारमा नेपाललाई रेड जोनमा राखेका कारण उसको बोर्डले नेपालमा खेल्ने अनुमति दिएको छैन । त्यसकारण हामीले दुई विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने हुनसक्छ । विदेशी खेलाडी दर्ताको समय अझै केही दिन छ । समयसीमाभित्रै पूर्ण टिम बनाएर सार्वजनिक गर्नेछौं ।
टिमको अभ्यास सुरु भइसकेको हो ?
अहिले सुरु गरिसकेका छैनौं । तर व्यक्तिगत रूपमा सबै खेलाडीले तयारी गरिरहेका छन् । सबैले आ–आफ्नो ट्रेनिङ प्लान पाइसकेका छन् ।
भुटानी खेलाडीलाई टिममा राख्नुको विशेष कारण के हो ?
क्रिकेट टिम गेम हो । तर, व्यक्ति विशेष खेलाडीको क्षमता पनि हेर्नुपर्छ । दोर्जी एक सक्षम खेलाडी हो । हिजोका दिनमा हाम्रो सन्दीप लामिछानेले आईपीएलमा प्रदर्शन गर्नुअघि एसोसिएट राष्ट्रबाट यति उत्कृष्ट खेलाडी आउँछन् भनेर टेस्ट मान्यताप्राप्त देशका धेरैले सोचेका थिएनन् । तर उनले आफूलाई प्रमाणित गरे । त्यस्तै खालको अवसर हामीले भुटानजस्तो देशलाई दिन खोजेको हो । दोर्जी वास्तवमै क्षमतावान खेलाडी हुन् । उनी हाम्रो टिममा मुख्य खेलाडीकै रूपमा रहनेछन् ।
ललितपुर टिममा युवाको बाहुल्य छ । विदेशी खेलाडीमा पनि युवालाई नै प्राथमिकता दिइएको छ, किन ?
सामान्यतः म नाममा भन्दा खेलमा विश्वास गर्छु । हामीले यसअघि ईपीएल जित्दा पनि यही युवा टोलीको सशक्त प्रदर्शन थियो । त्योभन्दा अघिल्लो संस्करणमा खेलाडी लिँदा पनि यू–१६, यू–१९ का खेलाडीहरू धेरै राखेका थियौं । त्यतिबेला लिएका खेलाडीहरू अहिले उच्च लयमा छन् । यसपालि उपाधि रक्षा अभियानमा पनि हामीले उनीहरूलाई नै भरोसा गरेका छौं ।
यसपालि ललितपुरको उपाधि रक्षाको सम्भावना कत्तिको छ त ?
फ्रेन्चाइज प्रतियोगितामा सबै टोली उपाधिको उत्तिकै दाबेदार रहन्छ । प्रतियोगिताका दौरान तथा हरेक खेलमा लिइने रणनीतिले नतिजामा असर पार्ने गर्छ । र, निश्चित रूपमा हाम्रो यसवर्ष पनि उपाधि जित्ने लक्ष्य नै रहन्छ । हाम्रो टिममा अघिल्लो संस्करणका खेलाडीहरूमा धेरै परिवर्तन भएको छैन । सन्तुलित टिम छ । हामीसँग बलर र ब्याट्सम्यानको पर्याप्त विकल्प छ । हाम्रो बेन्च स्ट्रेन्थ बलियो छ । त्यसैले हामी बलिङ, ब्याटिङ र फिल्डिङमा सन्तुलित प्रदर्शन गर्न सक्छौं ।
ललितपुर टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप जोरा, रशिद खान, पवन सर्राफ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, शंकर राना, नारायण जोशी, सूर्य तामाङ, विभत्सु थापा र अरियो पौडेल । विदेशी खेलाडीमा मिक्यो दोर्जी (भुटान), आजमतुल्लाह ओमरजाई (अफगानिस्तान), एलेक्स ब्लेक (इंग्ल्यान्ड, आउने अनिश्चित) र अर्का एक जना अनुबन्ध गर्न बाँकी ।
( कान्तिपुर दैनिक )
