Fast Nepal News

फ्रेन्चाइज लिग भलिबल हुने

banner single news

काठमाडौँ — २३ भाद्र २०७८

काठमाडौँ , फुटबल र क्रिकेटपछि भलिबलमा पनि व्यावसायिक फ्रेन्चाइज प्रतियोगिताको सुरुआत हुने भएको छ । पुरुष र महिलाको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज भलिबल प्रतियोगिता आयोजना गर्न नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र नेपाल भलिबल संघबीच १० वर्षे सम्झौता भएको छ ।  मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै दुवै पक्षले यो कदमलाई नेपाली भलिबल विकासको कोसेढुंगा मानेका छन् । फ्रेन्चाइज भलिबलले अन्तर्राष्ट्रियस्तरमा नेपालको स्तर वृद्धि हुने, राष्ट्रिय खेलको प्रचारमा सहयोग पुग्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य उनीहरूको छ । यसअघि फुटबलको फ्रेन्चाइज प्रतियोगिता आयोजना गरिसकेको नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानजमेन्ट (एनएसईएम) ले मंसिर महिनामा यो प्रतियोगिता गर्ने लक्ष्य राखेको छ । नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्मको मिति तय गरेको छ । सम्झौताअनुसार प्रतियोगिताको प्राविधिक जनशक्ति, कभर्डहल, विदेशी र स्वदेशी खेलाडीको व्यवस्थापन जिम्मा नेपाल भलिबल संघको छ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक आर्थिक र व्यवस्थापकीय काम एनएसईएमले गर्नेछ ।

Inside Article Ads
महिलातर्फ ७ र पुरुषतर्फ ७ टिमको सहभागिता रहने बताइएको छ । सम्झौतामा प्रतियोगिताको नाफाबाट ३० प्रतिशत रकम एनएसईएमले नेपाल भलिबल संघलाई दिनुपर्नेछ । त्यसबाहेक भलिबल संघको वार्षिक कार्यक्रमका रुपमा रहेको एनभीए क्लब च्याम्पियनसिपको आयोजनाका लागि नेपाल स्पोर्ट्स एन्ड इभेन्टले ३० लाख रुपैयाँ बराबरको प्रायोजन गर्नेछ । यसअघि क्रिकेट र फुटबलमा मात्र व्यावसायिक फ्रेन्चाइज प्रतियोगिता आयोजना हुँदै आएकोमा भलिबलमा पहिलो प्रयोग गर्न लागिएको हो । फ्रेन्चाइज टिम मालिकले महिला र पुरुष दुवै टिमको स्वामित्व लिन चाहेको अवस्थामा पनि पाउने व्यवस्था गरिएको एनएसईएमका निर्देशक सुदीप शर्माले जानकारी दिए ।
पहिलो संस्करणको प्रतियोगिता काठमाडौंमा गर्ने तयारी भए पनि आगामी वर्षदेखि फ्रेन्चाइज नाम भएका सहरमा होम एन्ड अवेका आधारमा गर्ने तयारी एनएसईएमको छ । प्रतियोगिता आयोजक कम्पनीकी प्रबन्ध निर्देशक आश्रेयता कार्की चौधरीले नेपाली राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रियस्तरमा अझै प्रतिस्पर्धात्मक र क्षमतावान बनाउन यो प्रतियोगिताले सहयोग गर्ने अपेक्षा गरिन् । ‘एनएसएल फुटबलको सफलताले हामीलाई खेलकुदमा अझै धेरै प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने आवश्यक महसुस गरायो,’ उनले भनिन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवालले फ्रेन्चाइज प्रतियोगिताले घरेलु भलिबललाई व्यावसायिक बनाउनुका अलावा खेलाडी र प्रशिक्षकले नियमित अभ्यासमार्फत क्षमता देखाउने अवसर पाउने र त्यसले घरेलु भलिबल प्रतिस्पर्धात्मक हुने बताए ।  

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.